संस्कृतिको नयाँ यात्रा
📖 शब्दभण्डार
१. उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस् ।
| शब्द | उस्तै अर्थ आउने शब्द |
|---|---|
| प्रतिष्ठा | इज्जत |
| एकाकार | एकै किसिमको |
| उत्पीडन | पीडा दिइएको |
| विद्रोह | ठूलो विरोध |
| कार्यान्वयन | विधिपूर्वक व्यवहारमा ल्याउने काम |
| प्रवाहशील | निरन्तर बगिरहने |
२. दिइएका अर्थ मिल्ने पदावलीहरू पाठबाट खोजेर लेख्नुहोस् ।
| क्र.सं. | अर्थ | उत्तर |
|---|---|---|
| क) | जीवनलाई पवित्र पार्ने काम | जीवनबोध |
| ख) | समुद्रको जहाजमा बसेर यात्रा गर्ने | नाविक यात्रा |
| ग) | एउटै मात्र संस्कृति | एकल संस्कृति |
| घ) | यात्रालाई प्रत्यक्ष हेर्ने दर्शक | यात्राको साक्षी |
| ङ) | सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय | साँस्कृतिक न्याय |
| च) | विचलित नहुने यात्रा | अविचलित यात्रा |
| छ) | सबैको हक लाग्ने सन्तति | साझा सन्तति |
३. शब्दकोश हेरी दिइएका शब्दहरूको अर्थ लेख्नुहोस् ।
| शब्द | अर्थ |
|---|---|
| स्मृति | स्मरण , सम्झना |
| जिज्ञासा | कुनै कुरा जान्ने इच्छा |
| जीववैज्ञानिक | जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति |
| प्रगति | उन्नति , विकास |
| सामेल | भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम |
| दमन | चिचोमिचो, दबदबाउ |
| मनुष्यत्व | मनुष्य हुनुको भाव, मानवता |
| दमित | दमन गरिएको, दविएको |
| बाहिष्कार | खारेजी, निष्कासन |
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
| शब्द | वाक्य |
|---|---|
| उदात्त | सबैका आ-आफ्ना आमाबाबु उदात्त हुन्छन् । |
| अनुभूति | विज्ञान विषय रोजेपछि मलाई त्यसको महत्त्वको अनुभूति भयो । |
| सुनिश्चितता | सरकारले अझै पनि कक्षा ११ को पाठ्यक्रमको सुनिश्चितता गरेको छैन । |
| दमक | हाम्रो समाजमा अझै पनि गरिबमाथि दमक गरिन्छ । |
| पङ्खफुका | अहिलेको यस्तो समयमा हामीले पङ्खफुका गर्नु हुँदैन । |
| निर्मित | राम मन्दिरमा रामको मूर्ति निर्मित गरिएको छ । |
| न्यायपूर्ण | हामीले सधैँ न्यायपूर्ण काम गर्नुपर्छ । |
| अविचलित | हामी अविचलित भएर काम गर्यौँ भने एक दिन अवश्य सफल हुनेछौँ । |
५. दिइएका विषयक्षेत्रका शब्दहरू खोजेर लेख्नुहोस् ।
क) नेपाली चाडपर्वहरू
तिज, दसैँ, तिहार, पूर्णिमा, ल्होसार, माघी आदि ।
ख) नेपाली नृत्यहरू
साकेला, लाखे, देउडा, सोरठी आदि ।
ग) नेपालका भाषाहरू
नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि ।
घ) नेपालीका पोसाक
दौरा, सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि ।
ङ) नेपाली खानाका स्थानीय परिकार
दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि ।
📝 बोध र अभिव्यक्ति
२. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् ।
क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ?
=> उत्तर: प्रस्तुत पाठलाई जम्मा आठवटा अनुच्छेदमा विभाजन गरी संरचना गरिएको छ ।
ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?
=> उत्तर: दोस्रो अनुच्छेदले नेपाली समाजमा समयसँगै विकसित भएको कला र सांस्कृतिक विविधतालाई केन्द्रमा राखेको छ। जीवनयात्राका विभिन्न चरणमा अनेक जातीय तथा सामाजिक समुदायसँग जोडिँदै नेपाली संस्कृतिले विविध रूप ग्रहण गरेको भाव यहाँ प्रस्तुत गरिएको छ ।
ग) पाठको छैटौँ अनुच्छेदमा कस्ता विषयवस्तु प्रस्तुत गरिएको छ ?
=> उत्तर: छैटौँ अनुच्छेदले संस्कृतिको नाममा समाजमा कायम रहेका विभेद, असमानता र विकृतितर्फ ध्यानाकर्षण गराएको छ। यस्ता नकारात्मक सामाजिक व्यवहारलाई अन्त्य गरी संस्कृतिलाई न्याय र समानतामुखी बनाउनुपर्ने आवश्यकतालाई यस अनुच्छेदले स्पष्ट पार्छ ।
घ) निबन्धको पाँचौँ अनुच्छेदमा कतिवटा वाक्यहरू छन् ?
=> उत्तर: निबन्धको पाँचौँ अनुच्छेदभित्र जम्मा २२ ओटा वाक्यहरू रहेका छन् ।
३. पाठको अन्तिम अनुच्छेद पढी पाँचओटा प्रश्न बनाउनुहोस् ।
क) वीरगञ्जमा कस्तो खालको संस्कृति पाइन्छ ?
=> उत्तर: वीरगञ्जमा कस्तो खालको संस्कृति पाइन्छ ?
ख) ‘वसुधैव कुटुम्बकम्’ को अर्थ के हो ?
=> उत्तर: ‘वसुधैव कुटुम्बकम्’ को अर्थ के हो ?
ग) निबन्धकारको स्मृतिमा के कुरा ताजै छ ?
=> उत्तर: निबन्धकारको स्मृतिमा के कुरा ताजै छ ?
घ) हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ ?
=> उत्तर: हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ ?
ङ) नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेका छन् ?
=> उत्तर: नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेका छन् ?
४. पाठका आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस् ।
क)
=> उत्तर: जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।
ख)
=> उत्तर: नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए?
ग)
=> उत्तर: मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।
घ)
=> उत्तर: मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।
ङ)
=> उत्तर: मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।
५. ‘जीवन एउटा प्रवाहशील .........तरखरमा थिएँ’ निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् ।
क) जीवनलाई किन यात्रा भनिएको हो ?
=> उत्तर: ‘संस्कृतिको नयाँ यात्रा’ सुधा त्रिपाठीद्वारा रचना गरिएको आत्मपरक निबन्ध हो। यसमा जीवनलाई कुनै एक ठाउँमा स्थिर रहने अवस्था नभई निरन्तर अगाडि बढिरहने प्रक्रियाका रूपमा बुझाइएको छ। नदी आफ्नो बाटोमा लगातार बगिरहेझैँ मानिसको जीवन पनि समय, परिस्थिति र अनुभवसँगै परिवर्तन हुँदै अघि बढ्छ। यस यात्रामा सुख-दुःख, उपलब्धि-अनुभव तथा विभिन्न उतारचढावहरू आइरहन्छन्। जीवन सधैँ गतिशील र परिवर्तनशील रहने भएकाले त्यसलाई यात्रासँग तुलना गरिएको हो ।
ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
=> उत्तर: ‘म’ पात्र पहाडको दुर्गम गाउँमा जन्मिएकी महिला हुन्। शिक्षाको खोजीमा उनी पछि काठमाडौँ पुगेकी छन्। आफ्नो जीवनमा आएका विभिन्न परिवर्तनलाई उनले यात्राका अलग-अलग चरणका रूपमा अनुभव गरेकी छन्। विकास हुँदै गएको आफ्नो व्यक्तित्वलाई उनले फुल्न तयार हुँदै गरेको बिरुवासँग तुलना गरेकी छन्। यसरी उनको जीवनअनुभूति, अध्ययन र आत्मविकास नै ‘म’ पात्रको परिचयको मुख्य आधार बनेको छ ।
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो ?
=> उत्तर: नेपालको सामाजिक संरचनामा विभिन्न जाति, भाषा, धर्म, परम्परा र सांस्कृतिक पहिचान भएका समुदायहरू एकसाथ रहेका छन्। यी फरक समुदायबीचको सम्बन्धले नेपाली समाजलाई अनेक रङले भरिएको बनाएको छ। भिन्नता हुँदाहुँदै पनि एकअर्कासँग जोडिएर सहअस्तित्वमा रहनु नेपाली जीवनको विशेषता हो। यही विविध समुदाय र संस्कृतिलाई एउटै राष्ट्रिय सम्बन्धले जोडेकाले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो ।
घ) अनुच्छेदमा नेपालमा रहेका कुन-कुन संस्कृति उल्लेखित छन् ?
=> उत्तर: उक्त अनुच्छेदमा नेपालको विभिन्न क्षेत्र र समुदायमा प्रचलित सांस्कृतिक पहिचानहरूको चर्चा गरिएको छ। काठमाडौंको नेवार, मुस्ताङको थकाली, पूर्वको किराँत, उत्तरको शेर्पा, तराईको मधेसी, पश्चिमको मगर र थारु संस्कृति उल्लेख गरिएका छन्। यसका साथै दार्चुला, कर्णाली, काठमाडौँ उपत्यका र कञ्चनजङ्घाको काखसम्म फैलिएका विविध सांस्कृतिक पक्षलाई पनि समेटिएको छ ।
६. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ ?
=> उत्तर: व्यक्तिमा आलोचनात्मक चेतना विकास गर्न उसले कुनै कुरा जस्ताको तस्तै स्वीकार गर्नुको सट्टा त्यसबारे प्रश्न गर्ने र खोजी गर्ने प्रवृत्ति अपनाउनुपर्छ। प्रश्नले तथ्यसम्म पुग्ने बाटो खोल्छ र तथ्यको अध्ययनबाट वास्तविकता तथा सत्य छुट्याउन सहज हुन्छ। निरन्तर जिज्ञासु भएर सोच्ने व्यक्तिमा विवेक र तर्क गर्ने क्षमता विकसित हुन्छ। त्यसैले आलोचनात्मक दृष्टिकोण निर्माणका लागि प्रश्न गर्न सक्ने बानी अत्यन्त आवश्यक हुन्छ ।
आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?
=> उत्तर: निबन्धांशले यस्तो संस्कृतिको कल्पना गरेको छ जहाँ जात, वर्ण, रङ, धर्म, वर्ग र लिङ्गजस्ता आधारमा कुनै व्यक्तिमाथि भेदभाव नहोस्। प्रत्येक व्यक्ति र समुदायको अस्तित्व, मूल्य र मान्यतालाई बराबर सम्मान गरिने व्यवस्था नै यहाँको आदर्श संस्कृति हो। यस्तो संस्कृति न्यायपूर्ण, समतामूलक, शान्त, सुन्दर र सबैको साझा हुनुपर्छ भन्ने विचार प्रस्तुत गरिएको छ ।
७. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् ।
अ) संस्कृति भनेको के हो ?
=> उत्तर: संस्कृति कुनै समुदाय वा राष्ट्रको परिचय र पहिचान प्रकट गर्ने आधार हो। मानिसको जीवनशैली, अनुभूति र सामूहिक अस्तित्वसँग जोडिएको सांस्कृतिक पक्षले उसलाई आफ्नो मौलिक पहिचान दिन्छ। त्यसैले नेपाली हुनुको विशिष्ट परिचय अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यमका रूपमा संस्कृतिलाई लिन सकिन्छ ।
आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू के-के हुन् ?
=> उत्तर: संविधानले वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायका आधारमा संस्कृतिको नाममा हुने विभेद अन्त्य गर्ने विषयलाई सुनिश्चित गरेको छ। साथै प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता तथा सम्पदा संरक्षण गर्ने अधिकार हुनुपर्ने कुरा पनि संवैधानिक रूपमा सुनिश्चित गरिएको छ ।
८. उत्तर लेख्नुहोस् ।
क) नेपालमा के-कस्ता सांस्कृतिक विविधता छन् ?
=> उत्तर: नेपाल विभिन्न जाति, भाषा, धर्म, भूगोल, परम्परा र जीवनशैलीले बनेको बहुसांस्कृतिक देश हो। यहाँ काठमाडौंका नेवार, मुस्ताङका थकाली, पूर्वका किरात, उत्तरका शेर्पा, तराई-मधेसका मधेसी तथा पश्चिमका मगर र थारु समुदायका आ-आफ्नै सांस्कृतिक विशेषता पाइन्छन्। फरक समुदायका भाषा, चाडपर्व, वेशभूषा, परम्परा र जीवनपद्धतिले नेपालको सांस्कृतिक संसारलाई फराकिलो बनाएका छन्। यी सबै संस्कृतिहरू एकअर्काको अस्तित्व स्वीकार गर्दै सहअस्तित्वमा रहनुले नेपालको विविधता अझ समृद्ध बनेको छ ।
ख) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन् ?
=> उत्तर: मानिसको जीवनमा श्रम केवल जीविकोपार्जनको साधन मात्र होइन, उसको सामाजिक तथा सांस्कृतिक जीवनसँग पनि जोडिएको हुन्छ। विभिन्न श्रमिक समुदायले आफ्नो काम र जीवनपरिस्थितिअनुसार विशेष जीवनशैली, संस्कार, लोककथा, लोकपरम्परा र लोकसंस्कृति विकास गरेका हुन्छन्। पुस्तौँदेखि श्रमसँग जोडिएका यिनै अभ्यासहरूले समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउँछन्। त्यसैले श्रमबाट अलग संस्कृति र संस्कृतिबाट अलग श्रमको कल्पना गर्न कठिन हुन्छ ।
ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस् ।
=> उत्तर: न्यायपूर्ण संस्कृति निर्माणका लागि समाजमा रहेका जातीय, वर्गीय, धार्मिक, लैङ्गिक तथा अन्य प्रकारका विभेद हटाउन आवश्यक हुन्छ। राज्यले समानताको संवैधानिक व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नुपर्छ। महिला र पुरुष दुवैलाई समान अधिकार, सम्मान र अवसर उपलब्ध गराइनुपर्छ। कुनै पनि व्यक्ति वा समुदायलाई उसको पहिचानका कारण पछाडि नपार्ने वातावरण निर्माण गरी सबैलाई बराबरी व्यवहार गरिएमा न्यायमा आधारित संस्कृतिको विकास गर्न सकिन्छ ।
🔎 ९. व्याख्या गर्नुहोस् ।
क) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरो देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फुलबारीका साझा फुलहरू थिए ।
=> उत्तर: प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषयअन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धकी लेखिका सुधा त्रिपाठी हुन्। लेखिकाले ‘म’ पात्रका माध्यमबाट आफ्ना जीवनअनुभूति प्रस्तुत गर्दै जीवनलाई निरन्तर अघि बढ्ने यात्राका रूपमा चित्रण गरेकी छन्। साथै उनले नेपालको सांस्कृतिक विविधता र त्यसमा रहेको एकताको महत्त्वलाई उजागर गरेकी छन् ।
उक्त भनाइले नेपालको इतिहास र सभ्यताको लामो प्रक्रियाबाट विकसित भएका विभिन्न संस्कृति कुनै एउटा जाति वा समुदायका निजी सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा धरोहर हुन् भन्ने धारणा व्यक्त गर्छ। देशका विभिन्न भौगोलिक क्षेत्रमा विकसित संस्कृतिहरूले समग्र नेपालको पहिचानलाई बलियो बनाएका छन्। दार्चुलादेखि कर्णाली, काठमाडौँ उपत्यका हुँदै कञ्चनजङ्घासम्म पाइने सांस्कृतिक भिन्नताले नेपालको समग्र सांस्कृतिक स्वरूपलाई सम्पन्न बनाएको छ।
‘फुलबारी’ र ‘फूल’को प्रतीकमार्फत लेखिकाले विविधताभित्रको एकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन्। विभिन्न समुदाय र तिनका संस्कृति अलग-अलग फूलजस्ता भए पनि ती सबै एउटै राष्ट्रिय फुलबारीका अङ्ग हुन्। ‘म’ पात्रले पनि आफूलाई त्यही साझा फुलबारीको एउटा फूलका रूपमा अनुभूति गरेकी छन्।
यसरी निबन्धकारले नेपालका सबै संस्कृति र समुदायप्रति साझा अपनत्व, सम्मान तथा राष्ट्रिय एकताको भावना व्यक्त गर्दै सांस्कृतिक विविधता नै नेपालको सुन्दर पक्ष भएको विचार प्रस्तुत गरेकी छन् ।
ख) संस्कृतिका नाममा.........................................भेद विकृति हुन् ।
=> उत्तर: प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकअन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धकी लेखिका सुधा त्रिपाठी हुन्। उनले ‘म’ पात्रका माध्यमबाट जीवन र संस्कृतिको सम्बन्धलाई प्रस्तुत गर्दै नेपाली संस्कृतिमा रहेका सकारात्मक तथा विकृत पक्षहरूको चर्चा गरेकी छन् ।
यस भनाइको मुख्य आशय संस्कृतिको आवरण प्रयोग गरेर समाजमा हुने विभेद तथा असमान व्यवहारलाई संस्कृति मान्न सकिँदैन भन्ने हो। समाज परिवर्तन हुँदै गए पनि केही पुराना सोच, रूढ मान्यता र भेदभावपूर्ण व्यवहार अझै बाँकी रहेका छन्। जात, धर्म, वर्ग, लिङ्ग, रङ वा अन्य पहिचानका आधारमा मानिसलाई फरक व्यवहार गर्नु सांस्कृतिक सौन्दर्य नभई सामाजिक विकृति हो।
यस्ता विभेदकारी अभ्यासले मानिसबीचको समानता, सम्मान र सामाजिक एकतालाई कमजोर पार्छन्। संस्कृतिले मानिसलाई जोड्ने र साझा पहिचान निर्माण गर्ने काम गर्नुपर्नेमा त्यसकै नाममा कसैलाई बहिष्कार वा उत्पीडन गर्नु उचित हुँदैन।
त्यसैले सांस्कृतिक यात्रालाई सकारात्मक बनाउन विभेदकारी परम्परा र विकृतिको विरोध गर्दै समानता, सम्मान, न्याय र सहअस्तित्वमा आधारित संस्कृति निर्माण गर्न आवश्यक छ। यही प्रक्रियाबाट नेपाली संस्कृति अझ मानवीय र न्यायपूर्ण बन्न सक्छ ।
🧐 १०. समीक्षात्मक उत्तर लेख्नुहोस् ।
क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस् ।
=> उत्तर: सुधा त्रिपाठीको ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धले नेपालको सांस्कृतिक अवस्थालाई विविध कोणबाट प्रस्तुत गरेको छ। नेपाल जातजाति, भाषा, धर्म, भूगोल र परम्पराको दृष्टिले निकै विविध मुलुक हो। फरक समुदायका आफ्ना-आफ्नै संस्कृति भए पनि नेपाली समाजमा ती संस्कृतिहरूबीच सहअस्तित्व र आपसी सम्बन्ध कायम रहेको पाइन्छ। यही विविधताबीच साझा राष्ट्रिय पहिचान कायम हुनु नेपाली संस्कृतिको प्रमुख सबल पक्ष हो।
नेपालका विभिन्न समुदायले आफ्ना मौलिक भाषा, परम्परा, चाडपर्व, संस्कार र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिएका छन्। यसले देशको सांस्कृतिक सम्पदालाई बहुआयामिक र समृद्ध बनाएको छ। फरकपनलाई स्वीकार गर्दै सामूहिक रूपमा अघि बढ्ने प्रवृत्ति पनि यसको सकारात्मक पक्ष हो।
तर नेपाली संस्कृतिमा केही दुर्बल पक्ष पनि विद्यमान छन्। संस्कृतिका नाममा जातीय विभेद, बहिष्कार, असमानता र अन्य सामाजिक विकृति अझै कतिपय अवस्थामा देखिन्छन्। पुराना रूढ मान्यता र भेदभावपूर्ण व्यवहारले समानतामूलक समाज निर्माणमा अवरोध पुर्याउँछन्।
त्यसैले नेपाली संस्कृतिका मौलिक तथा सकारात्मक पक्षलाई संरक्षण गर्दै त्यसमा रहेका विभेदकारी र अमानवीय अभ्यासलाई हटाउनु आवश्यक छ। यसो गर्न सकेमा नेपालको सांस्कृतिक विविधता अझ न्यायपूर्ण र समृद्ध स्वरूपमा अघि बढ्न सक्छ ।
ख) ‘सांस्कृतिक रूपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ’ विवेचना गर्नुहोस् ।
=> उत्तर: सुधा त्रिपाठीको ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धले नेपालको सांस्कृतिक विविधतासँगै समाजमा देखिने विभेद र त्यसको समाधानको आवश्यकतालाई उठाएको छ। नेपालमा जात, धर्म, भाषा, वर्ग, लिङ्ग तथा भूगोलका आधारमा मानिसहरूको पहिचान फरक भए पनि यी भिन्नताका कारण कसैलाई अधिकार र सम्मानबाट वञ्चित गर्नु उचित हुँदैन।
संस्कृति समाजको पहिचान र सामूहिक जीवनसँग गहिरो रूपमा सम्बन्धित हुन्छ। यदि संस्कृतिकै नाममा कुनै महिला, गरिब, ग्रामीण समुदाय वा कुनै निश्चित जातीय समूहलाई अवसर र सम्मानबाट टाढा राखिन्छ भने त्यस्तो सामाजिक व्यवस्था न्यायपूर्ण हुन सक्दैन। सांस्कृतिक विविधताको सम्मान नगरी वास्तविक समानता कायम गर्न पनि सम्भव हुँदैन।
सबै मानिसलाई समान अधिकार र अवसर उपलब्ध गराउनु तथा प्रत्येक समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्नु न्यायपूर्ण समाजको आधार हो। जात, धर्म, वर्ग, लिङ्ग, रङ वा भूगोलका आधारमा हुने विभेद अन्त्य गरी संविधानले प्रदान गरेका अधिकारलाई व्यवहारमा लागू गर्न आवश्यक हुन्छ।
यसरी सामाजिक जीवनमा सांस्कृतिक न्याय स्थापित भएपछि मात्र प्रत्येक व्यक्तिले समान सम्मान, अवसर र अधिकार प्राप्त गर्न सक्छ। त्यसैले सांस्कृतिक न्याय समतामूलक समाज निर्माणको आधारभूत पूर्वसर्त हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
📚 ११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् ।
क) संस्कृतिभित्र के-के लुकेका हुन्छन् ?
=> उत्तर: संस्कृतिले कुनै पनि जातजातिको लवाइखवाइ, वेशभूषा, भाषा, दर्शन, मान्यता र विश्वासलाई समेटेर राखेको हुन्छ ।
ख) बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
=> उत्तर: बहुजातीय राष्ट्रमा विभिन्न समुदायका संस्कृति र परम्पराको सहअस्तित्व पाइन्छ। यस्ता देशमा सांस्कृतिक विविधता, सांस्कृतिक सम्पन्नता, जातीय पृथक्ता, जातीय सद्भाव, राष्ट्रिय एकता तथा धार्मिक एवं सांस्कृतिक मेलजस्ता विशेषता देखिन्छन् ।
ग) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो’ भन्नुको तात्पर्य के हो ?
=> उत्तर: ‘संस्कृति मधुरस हो, सभ्यता धार हो’ भन्नाले संस्कृति र सभ्यता एकअर्काबाट अलग नभई परस्पर सम्बन्धित हुन्छन् भन्ने बुझिन्छ। संस्कृतिले समाजको जीवन, मूल्य र पहिचानलाई समेट्छ भने सभ्यताले त्यसलाई टिकाइराख्ने तथा विकास गर्ने आधार प्रदान गर्छ। नेपाली समाजमा विभिन्न समुदायका सांस्कृतिक पक्षहरू साझा सभ्यतासँग जोडिँदा देशको समग्र पहिचान समृद्ध बनेको छ। त्यसैले संस्कृति र सभ्यतालाई एकअर्काका पूरक पक्षका रूपमा बुझ्नुपर्छ ।
घ) ‘पृथक्ता’ र ‘अभ्यागत’को अर्थ लेख्नुहोस् ।
| शब्द | अर्थ |
|---|---|
| पृथक्ता | भिन्नता |
| अभ्यागत | पाहुना, अतिती |
✍️ १२. दिइएको अनुच्छेद पढी चारवटा मुख्य बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् ।
📌 मुख्य बुँदाहरू
१. पुर्खाको विगत र वर्तमानको व्यवहार नै भावी सन्ततिको सांस्कृतिक धरोहर बन्ने कुरा ।
२. आमाबुबा, गुरु, पाहुना तथा वनस्पतिलाई देवत्वकरण गरी सम्मान गर्ने परम्परा अमूल्य सांस्कृतिक निधि हुनु ।
३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा प्रदान गरेमा संस्कार र संस्कृतिको संरक्षण हुने कुरा ।
४. परोपकारी बनाउने संस्कार र संस्कृति समाजको प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता ।
📝 सारांश — नेपाली संस्कृति
उत्तर :
पुर्खाको विगत र वर्तमान नै भावी सन्ततिको सांस्कृतिक धरोहर भएकाले छोराछोरीलाई धनसम्पत्तिभन्दा संस्कारयुक्त शिक्षादीक्षा दिनुपर्छ। आमाबुबा, गुरु, पाहुना तथा वनस्पतिलाई सम्मान गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। मानिसलाई परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो जीवनको आधार भएकाले यसको संरक्षण गर्नु आवश्यक छ ।
दिइएको अनुच्छेदको शब्द सङ्ख्या : १६२
एक तृतीयांश शब्द सङ्ख्या : ५४
सारांश शब्द सङ्ख्या : ५४
🔤 व्याकरण अभ्यास
📌 पदवर्ग : नाम
१. दिइएको अनुच्छेद पढी नाम वर्गका शब्दको पहिचान गर्नुहोस् ।
=> उत्तर: हुल, भिक्षु, स्तूप, परिक्रमा, सहर, भीमसेन, स्तम्भ, मन्जु, स्वयम्भू, प्राङ्गण, वुवा, खुशी, व्यक्त, नारायणहिटी, दरबार, सिंहदरबार, हनुमानढोका, एयरपोर्ट, कीर्तिपुर, महिमा, काठमाडौं, दृश्य, हात, प्रसाद, झोला, बाँदर ।
२. दिइएका शब्दहरूबाट एउटै उपवर्गमा पर्ने नामहरूको सूची बनाउनुहोस् ।
क) व्यक्तिवाचक नाम
गोपाल, काठमाडौं, कर्नाली, रामायण, मुनामदन, तिहार, होली, तिज, धरमपुर, दसैँ
ख) जातिवाचक नाम
फूल, गाई, माछो, किताब, घर, विद्यालय, जुत्ता, औंठी, टोपी, साइकल, कार
ग) समूहवाचक नाम
वथान, लहर, चाङ, खात, फौज, झुप्पो
घ) द्रव्यवाचक नाम
रगत, कुहिरो, ढुङ्गा, माटो, सुन, चाँदी, चामल, पानी, शोभिता, तेल
ङ) भाववाचक नाम
रिस, बसाइ, चोरी, युद्ध, मुर्ख्याइँ, प्रेम, घृणा, मानवता, शिक्षा, पढाई, जवानी, गरिबी, बाल्यावस्था
३. दिइएको अनुच्छेदबाट बिसओटा नाम शब्द टिप्नुहोस् ।
=> उत्तर: नेपाल, पर्व, नारी, रुप, गौरा, महिला, व्रत, भगवान्, शिव, पार्वती, पुजा, सुख, समृद्धि, कामना, नदी, घर, पोखरी, चना, गहुँ, मकै ।
४. पाठको पहिलो अनुच्छेदमा रहेका नाम शब्दहरू टिप्नुहोस् ।
=> उत्तर: वाल्यकाल, दसैँ, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, संस्कृत, महिना, बुबा, आमा, झरना, कोसी, नदी, लेखनाथ, बाढी, झरी, पहिरो, हिलो, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, केरा, कुराउनी, मासु, चिउरा, परिकार, दक्षिणा, बालिका, तिहार, खुशी, जीवन आदि ।
👤 पदवर्ग : सर्वनाम
१. दिइएको अनुच्छेदमा नामको सट्टामा उपयुक्त सर्वनाम पद प्रयोग गरी पुनर्लेखन गर्नुहोस् ।
क)
=> उत्तर: आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनगढी पठाए । उनीहरू त्यहाँ बसेर धेरै पढे । छोरी पढिसकेपछि गाउँ फर्की । उसले गाउँमा एउटा विद्यालय खोली । केही वर्षपछि छोरो पनि गाउँमै फर्क्यो । उसले पनि त्यस विद्यालयमा पढाउन थाल्यो । आमाबुबा खुसी हुनुभयो ।
ख)
=> उत्तर: मेरी छोरी ज्ञानुले व्यवस्थापनमा स्नातक गरिन् । उनी आफ्नो गाउँमा गइन् । उनले गाउँमा उद्योग खोलिन् । उद्योगमा धेरै मानिसले जागिर पाए । उनीहरूको आर्थिक स्थिति सुध्रियो ।
२. दिइएका सर्वनामलाई मिल्दाजुल्दा उपवर्गमा सूचीकृत गर्नुहोस् ।
| सर्वनामको उपवर्ग | प्रकार | सर्वनाम |
|---|---|---|
| पुरुषवाचक सर्वनाम | प्रथम पुरुषवाचक | म, हामी |
| पुरुषवाचक सर्वनाम | द्वितीय पुरुषवाचक | तँ, तिमी, तपाई, तपाईंहरू |
| पुरुषवाचक सर्वनाम | तृतीय पुरुषवाचक | ऊ, त्यो, उनी, उनीहरू, उहाँ, उहाँहरू |
३. दिइएको गद्यांश पढी दशवटा सर्वनाम टिप्नुहोस् ।
=> उत्तर: म, हामी, तिमी, उनीहरू, तपाईं, को को, ऊ, जोसुकै, तँ, यस, आफै ।
४. दिइएका सर्वनामलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
| सर्वनाम | वाक्य |
|---|---|
| त्यो | राम घर गएकाले त्यो आज स्कुल आएन । |
| तिनीहरू | सीता र गीता त घरमै थिए, फेरि तिनीहरू पढ्न किन आएनन् ? |
| यी | यी भ्रष्टाचारी नेताहरूले गर्दा आज देशमा अशान्ति फैलिएको छ । |
| स्वयम् | आफ्नो अधिकारका लागि आफू स्वयम् लड्नुपर्छ । |
| जे | तिमीलाई जे इच्छा लाग्छ, तिमी त्यही गर । |
| को | तिमी को हौ ? मैले त चिनिनँ नि । |
| के | तिमी खानामा के खान्छौ ? |
| आफू | परिवर्तन गर्दा पहिला आफूबाट सुरुवात गर्नुपर्छ । |
| उहाँ | बुबालाई खाना खान बोलाएको, उहाँ अझै आउनुभएको छैन । |
| कोही | साथीहरूलाई खेल्न बोलाएको, कोही पनि आएनन् । |
| प्रत्येक | हामी प्रत्येक नेपालीको मनमा आफ्नो देशका लागि सम्मान हुनुपर्छ । |
| अरु | हामीले अरूको देखासिकी गर्नु हुँदैन । |
| सबै | हाम्रो देश नेपाल, नेपालीहरूको साझा फुलबारी भएकाले सबैले यसको संरक्षण गर्नुपर्छ । |
| केही | तिमी बिरामी छौ, त्यसैले तिमी बासी खानेकुरा केही नखाऊ । |
| हजुर | बुबा यहाँ पो हुनुहुँदो रहेछ, मैले त हजुरलाई घरमा खोजिरहेको थिएँ । |
🎨 पदवर्ग : विशेषण
१. दिइएको गद्यांशबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: एक, दुइटा, त्यस, एउटा, ठुलो, चलाख, कमजोर, धुर्त, मेरा, यो, धमिलो, प्रिय, सफा, सानो ।
२. दिइएका पदावलीबाट विशेषण शब्द छानी तिनलाई उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
क) गुणबोधक विशेषण
सेतो, बलियो, गतिलो, बुझक्कड, चड्दो, शीतल, सांस्कृतिक, नैतिक, मलिलो
ख) सङ्ख्याबोधक विशेषण
लाखौँ, पाँच, सयौँ, सप्त
ग) परिमाणबोधक विशेषण
प्रशस्त, अलिकति, थोरै, सबै
घ) सार्वनामिक विशेषण
यो, त्यो, यी, ती
ङ) भेदक विशेषण
उसको, मेरो, तिम्रो
३. दिइएको अनुच्छेदबाट दशओटा विशेषण शब्द पहिचान गरी टिपोट गर्नुहोस् ।
=> उत्तर: मेरो, सेता, हरियो, उर्वरशील, विविध, अनेक, सयौँ, मेहनती, यस, वीर, स्वच्छ, प्राकृतिक, नेपालको ।
४. ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धबाट पाँचवटा विशेषण शब्दहरू टिप्नुहोस् ।
=> उत्तर: मेरो, एक, निलो, मीठो, यी, दुर्गम, गतिशील, साझा, सबै, वास्तविक, हाम्रो, नयाँ ।
⚙️ पदवर्ग : क्रिया
१. दिइएको गद्यांशबाट क्रियापद पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: झुके, बने, सकेनन्, सजिए, बनेनन्, सकेनौँ, पोलिए, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो ।
२. दिइएका क्रियापद प्रयोग गरी आफूलाई मनपर्ने विषयमा छोटो अनुच्छेद लेख्नुहोस् ।
उत्तर :
मेरो भाइले सरकारी जागिर खान्छ । उसले सरकारी स्कुलमा नै पढ्यो । अहिले भाइ विद्यालयमा पढाउन गएको छ । ऊ असल शिक्षक बनी नाम कमाओस् भन्ने मेरो चाहना छ । भाइ विद्यालयबाट कतिखेर आउला भनी म उसैको पर्खाइमा बसेको थिएँ । भाइ विद्यार्थीसँगै बाटोमा हिँड्दै थियो भनेर श्यामले भन्न नपाउँदै आँगनीमा टुप्लुक्क आइपुगेको भाइले श्याम झुट बोल्छन् भनी रिसाएझैँ गर्दा श्याम त डराएर जुरुक्कै उठेछ ।
३. दिइएका क्रियापदलाई मिल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
१. अर्थप्रधानताका आधारमा
क) मुख्य क्रिया
सुन्छ, पढ्छ, हाँस्छ, भयो, रुँदै, हुन्छ, ल्याउँछ, बनाउँछ, आइ, गएको, हुनु, उम्रँदै, वाङ्गिन्छ, भुतभुताउनु, छापेको, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, पढ्ने, भएको, भिजाउँदै, गर्दछौँ, सुनिन्छ ।
ख) सहायक क्रिया
छ, हाल्छ, सक्यो, पगे, हो, थियो, छन्, सकेछ ।
२. बनोटका आधारमा
क) सरल क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, सक्यो, बनाउँछ, भयो, खोज्यौँ, वाङ्गिन्छ, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, गर्दछौ, सुनिन्छ ।
ख) जटिल क्रिया
भनिहाल्छ, रुँदै छ, आइसक्यो, आइपुगे, गएको हुने छ, उम्रँदै छ, भुतभुताएको छ, छापेको थियो, पढ्ने छ, भएको छ, भिजाउँदै छ, लेखिसकेछ ।
३. कर्मका आधारमा
क) सकर्मक क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, बनाउँछ, खोज्यौ, लेख्छ, दियो, पढ्ने छ, भिजाउँदै छ, गर्दछौ ।
ख) अकर्मक क्रिया
हाँस्छे, दगुर्छन्, रुँदै छ, आइसक्यो, छ, हो, उम्रँदै छ, फरफरायो, कलकलाउँछ, भएको छ, सुनिन्छ ।
४. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रिया टिप्नुहोस् ।
=> उत्तर: पर्दै छ, भएको छ, ल्यायो, हरायो, बगायो, पुर्यो, आएछ, सुन्छु, हेर्छु, छुन्छ, रुवाउँछ, पर्छन्, बन्दछ ।
५. ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धको दोस्रो अनुच्छेदबाट पन्ध्रओटा क्रियापद टिप्नुहोस् ।
=> उत्तर: हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, मनाउँथे, गाउँथे, गर्थे, बताउँथे, भएँ, बुझेँ, गरेँ, थिए ।