📚 घनघस्याको उकालो काट्ता
शब्दभण्डार
१. शब्द र अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| सुदूर | धेरै टाढाको |
| स्नेह | माया, प्रेम |
| सँगाल्नु | कुनै कुरा जोगाएर राख्नु |
| अद्वितीय | अतुलनीय |
| सहारा मरुभूमि | संसारको एउटा ठूलो मरुभूमि |
| दृष्टिपात | हेर्ने काम, आँखाले ठम्याउने काम |
| काँचुली | शरीरबाट अलग हुने, सर्पको पातलो छाला |
| अनन्त | कहिल्यै अन्त नहुने |
| गाड | खोलो |
| ढुङ्ग्यानी | ढुङ्गैढुङ्गा भएको |
| विकट | अप्ठेरो, कठिन |
| यथेष्ट | पर्याप्त, चाहिँदो, पुग्दो |
| भयावह | डरलाग्दो |
२. शब्दकोशका आधारमा अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| अररो | जाडाले कक्रिएको, अरट्ठ परेको |
| अग्घोर | ज्यादै, निकै |
| उग्राउनु | गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु |
| चरन | गाईवस्तु चराउने बाँझो जमिन |
| विरहलाग्दो | दुःख लाग्दो |
| कुर्लनु | रिसले कराउनु |
| आकृति | कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार |
| सहृदय | कोमल हृदय भएको, दयालु |
| मरुद्यान | मरुभूमिको रसिलो जमिन |
| यत्रतत्र | जताततै, सबैतिर |
३. टुक्काको प्रयोग गरी साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् ।
उत्तर :
कक्षा ११ मा पढ्ने क्रममा एकपटक परियोजना कार्य सम्पन्न गर्न म डडेल्धुराको विकट गाउँमा रहेको साथीको घर पुगेको थिएँ । गाउँसम्मको बाटो सहज थिएन, त्यसैले लामो समयसम्म पैदल यात्रा गर्दा म निकै लखतरान भएँ । बाटोमा अचानक मेघ गर्जियो र पानी पर्न थालेपछि म निथ्रुक्क भिजेँ । मलाई आफ्नो गाउँसम्म आइपुगेको देखेर साथीले खुसी र गर्वका साथ नाक ठाडो पार्यो । केही समय आराम गरी खाजा खाएपछि हामी दुवैले मिलेर परियोजना कार्य फत्ते गर्यौँ ।
४. स्थानीय भाषिका तथा कथ्य रूपको सही रूप लेख्नुहोस् :
| स्थानीय/कथ्य रूप | सही रूप |
|---|---|
| बाटामी | बाटामा |
| गाड | खोला |
| पर्तिर | परतिर |
| पडन्छ | पर्छ |
| अलेलि | अलिअलि |
| जेमराज | यमराज |
बोध र अभिव्यक्ति
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख गरिएका स्थानहरू लेख्नुहोस् ।
उत्तर :
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. प्रश्नहरूको उत्तर दिनुहोस् ।
(क) सेती नदी र घनघस्याबीच के समानता र भिन्नता रहेको छ ?
उत्तर :
सेती नदी र घनघस्याको रिस मिल्दोजुल्दो रूपमा प्रस्तुत गरिएको छ । तर तिनीहरूको अवस्थाबिच भिन्नता छ । सेती नदी भासिँदै गएको अवस्थामा छ भने घनघस्या भने ठाडोको ठाडै रहेको छ ।
(ख) लेखकले घनघस्याको मानवीकरण कसरी गरेका छन् ?
उत्तर :
लेखकले घनघस्यालाई मानिसको स्वभाव र शरीरसँग तुलना गर्दै जीवन्त पात्रका रूपमा प्रस्तुत गरेका छन् । टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता शब्दावलीले घनघस्यामा मानवीय गुण आरोपित गरिएको छ ।
५. प्रश्नहरूको उत्तर दिनुहोस् ।
(क) घनघस्याको उकालो काट्दा लेखकले अन्य ठाउँका सडकलाई किन सरापेका हुन् ?
उत्तर :
तारानाथ शर्मा सुदूरपूर्वको इलाममा जन्मिएका नियात्राकार हुन् । वि. सं. २०२४ मा उनी सुदूरपश्चिमको भ्रमणमा निस्कँदा बैतडी हुँदै डडेल्धुरातर्फ पुगेका थिए । त्यही यात्रामा घनघस्याको अत्यन्त कठिन उकालो काट्नुपरेपछि उनले पहिले यात्रा गरेका सहज सडकहरू सम्झिए ।
उनले जोगबनीदेखि धरानसम्मको सडक, भादगाउँदेखि बाह्रबिसेसम्मको सडक, सिंहदरबार अगाडिको सडक तथा बुटवल–भैरहवा सडकको स्मरण गरेका छन् । ती सडकहरू कालोपत्रे भएका र यातायातको सुविधा भएका थिए । यसको विपरीत घनघस्याको बाटो कठिन, ढुङ्गाले भरिएको र पैदल हिँड्नुपर्ने किसिमको थियो । त्यसैले सुविधासम्पन्न सडकहरूको सम्झना आउँदा उनले घनघस्याको कठिनाइका कारण ती सडकहरूलाई सरापेका हुन् ।
(ख) निल आर्मस्ट्रङहरूलाई चन्द्रमामा पुग्न लेखकलाई जस्तो फिटफिटी किन परेन ?
उत्तर :
लेखकले घनघस्याको यात्राका क्रममा भोगेको दुःखलाई निल आर्मस्ट्रङहरूको चन्द्रयात्रासँग तुलना गरेका छन् । लेखकले बाटोमा तिर्खा सहनुपरेको, पानी नपाएको, अत्यधिक पसिना बगेको र खोकीसमेत लागेको थियो । कठिन उकालोमा पैदल हिँड्दा उनको शारीरिक कष्ट अझ बढेको थियो ।
निल आर्मस्ट्रङहरू भने चन्द्रमासम्म पुग्न वैज्ञानिक उपकरण तथा आवश्यक सामग्रीसहित गएका थिए । उनीहरूको यात्रामा प्रविधि र आवश्यक साधनको व्यवस्था भएकाले लेखकले जस्तो पानी, बाटो र शारीरिक कठिनाइको अभाव सामना गर्नुपरेन । त्यसैले उनीहरूलाई चन्द्रमामा पुग्दा लेखकलाई जस्तो फिटफिटी परेन ।
७. यात्राका क्रममा लेखकले सामना गरेका समस्याहरू वर्णन गर्नुहोस् ।
उत्तर :
घनघस्याको यात्रा लेखकका लागि निकै चुनौतीपूर्ण थियो । उनको शरीर केही मोटो भएकाले टोपी खस्ने उकालो चढ्न उनलाई विशेष कठिनाइ भएको थियो । बाटो ढुङ्ग्यानी र अत्यन्त अप्ठ्यारो थियो । जङ्गलको बाटो भएकाले चितुवा, बाघ र भालुजस्ता जङ्गली जनावरको डर पनि थियो ।
यात्राका क्रममा आवश्यक सुविधा उपलब्ध थिएनन् । कतिपय अवस्थामा खाना र पानीको अभाव सहनुपरेको थियो । कठिन गोरेटोमा निरन्तर हिँड्दा शरीर थाक्थ्यो र उकालोले थप समस्या उत्पन्न गर्थ्यो । यात्रामा सहभागी साथीहरूबीच कहिलेकाहीँ सम्पर्क छुट्ने अवस्था पनि आउँथ्यो । अनेकौँ डर, अभाव र शारीरिक कष्ट सहँदै उनीहरूले निरन्तर यात्रा गरे र अन्ततः गन्तव्यमा पुग्न सफल भए ।
८. भाव विस्तार गर्नुहोस् ।
(क) “यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।”
उत्तर :
तारानाथ शर्मा (वि.सं. १९९१) प्रसिद्ध निबन्धकार तथा नियात्राकार हुन् । उनले लेखेको ‘घनघस्याको उकालो काट्ता’ नेपाली नियात्रा साहित्यको चर्चित र उत्कृष्ट कृति हो । उनी नियात्रा विधाका अग्रणी व्यक्तिका रूपमा परिचित छन् । सुदूरपश्चिमको यात्राका क्रममा घनघस्याको टोपी खस्ने उकालो, वरिपरिको प्राकृतिक वातावरण र यात्राका कठिनाइहरूले लेखकको मनमा गहिरो प्रभाव पारेका छन् । उनले घनघस्यालाई मानवीकरण गर्दै आफ्नो निजी अनुभूति र संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।
नेपाल हिमाल र हिउँका कारण परिचित देश हो । नेपालको हिमाली सौन्दर्य हेर्न विदेशीहरू समेत आउने गर्छन् । तर आफ्नै देशका सबै नेपालीले हिउँमा खेल्ने अवसर पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको अनुभव गरिसकेका भए पनि आफ्नै देशमा सतबा लेकको हिउँमा रमाउने अवसर पाउनु उनका लागि विशेष अनुभव थियो ।
आफ्नो मातृभूमिको हिउँ भएकाले लेखकले त्यसमा गहिरो आत्मीयता महसुस गरेका छन् । त्यसलाई उनले आफ्नो मुटुसँग जोडेर हेरेका छन् । हिउँसँगको सम्बन्धमा उनलाई आफ्नै देश र हिमाली पहिचानको अनुभूति भएको छ । उनी र उनका साथीहरूले लामो समयसम्म हिउँमा खेल्दै, एकअर्कालाई हिउँका डल्ला हान्दै र हिउँका थुप्राबाट विभिन्न आकृति बनाउँदै रमाइलो गरेका थिए । उनीहरूले सतबाँझमा समयलाई जिस्क्याउँदै आनन्द लिएका थिए ।
त्यसैले यहाँको हिउँ लेखकका लागि केवल प्राकृतिक वस्तु नभई आफ्नै देशको गौरव, अपनत्व र आत्मीयताको प्रतीक बनेको छ । हिउँजस्तै स्वच्छ र चम्किलो उनको देशप्रेम पनि यस अभिव्यक्तिमा प्रकट भएको छ ।
(ख) “प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।”
उत्तर :
तारानाथ शर्मा (वि.सं. १९९१) नेपाली साहित्यका प्रसिद्ध निबन्धकार तथा नियात्राकार हुन् । ‘घनघस्याको उकालो काट्ता’ उनको चर्चित नियात्रा हो । नियात्रा विधाको विकासमा उनले अग्रणी भूमिका निर्वाह गरेका छन् । सुदूरपश्चिम यात्रामा उनले घनघस्याको कठिन उकालो तथा त्यहाँको प्राकृतिक परिवेशलाई आफ्ना व्यक्तिगत अनुभूतिसहित प्रस्तुत गरेका छन् ।
‘ह्याकुला’ भन्नाले छाती बुझिन्छ । प्रकृतिका चुनौतीहरूसँग सामना गर्नु र त्यही क्रममा जीवनको आनन्द प्राप्त गर्नु नै वास्तविक रमाइलो हो भन्ने विश्वास लेखकको थियो । यही विचारलाई मनमा दृढ बनाएर उनी सुदूरपश्चिमको यात्रामा निस्किएका थिए ।
प्रकृतिसँग नजिक भएर त्यसको सौन्दर्य अनुभव गर्ने उनको चाहना विभिन्न ठाउँप्रतिको आकर्षणबाट देखिन्छ । खप्तडमा वसन्त बिताउने, तुम्लिङमा हिउँ खेल्ने र राजापुरको काँसेघारीमा झ्याउरे गाउने उनको इच्छा थियो । तिल्केनीको उकालो, घनघस्याको उकालो, चन्दनीको उकालो, अघोरी गाड, पुवा खोला, टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो र चन्द्रागिरि जस्ता स्थानहरूसँग पनि उनको विशेष लगाव थियो ।
लेखकका लागि प्रकृतिको कठिनाइ बाधा मात्र होइन, नयाँ अनुभव र आनन्द प्राप्त गर्ने अवसर हो । त्यसैले उकालो, ओरालो, जङ्गल, हिउँ र दुर्गम बाटोसँग जुध्दै प्रकृतिको काखमा रमाउनु नै जीवनको महत्त्वपूर्ण आनन्द हो भन्ने विचार यस भनाइमा व्यक्त भएको छ ।
गद्यांशमा आधारित प्रश्नोत्तर
९. गद्यांशका आधारमा उत्तर दिनुहोस् ।
(क) दूतावासले के गर्छ ?
उत्तर :
दूतावासले विदेशमा रहेका नेपाली नागरिकका समस्या तथा गुनासा सुन्छ र तिनको समाधानका लागि आवश्यक सल्लाह तथा सहयोग प्रदान गर्छ ।
(ख) दूतावासलाई आमासँग किन तुलना गरिएको हो ?
उत्तर :
आमाले आफ्ना सन्तानको दुःख हटाउन निरन्तर प्रयास गरेजस्तै दूतावासले पनि विदेशमा रहेका नेपाली नागरिकका समस्या समाधान गर्न सहयोग गर्छ । नागरिकको दुःखमा अभिभावकको जस्तै भूमिका निर्वाह गर्ने भएकाले दूतावासलाई आमासँग तुलना गरिएको हो ।
(ग) दूतावास नभएका देशमा रहेका नेपालीले कस्ता समस्या भोग्छन् ?
उत्तर :
दूतावास नभएको देशमा रहेका नेपालीहरूले आफ्ना समस्या, गुनासा तथा मनका पीरमर्का सुनाउने र आवश्यक सहयोग तथा परामर्श लिने उचित ठाउँ पाउन कठिन हुन्छ ।
(घ) लेखकले कतारमा कसरी काम गरे ?
उत्तर :
लेखकले कतारमा रहेका नेपाली तथा अन्य व्यक्तिका समस्याहरू धैर्यपूर्वक सुने । उनीहरूका कठिनाइ बुझेर सकेसम्म सान्त्वना दिए र सम्झाइ–बुझाइ गरी उनीहरूको समस्या समाधान गर्न सहयोग गरे ।
१०. आर्थिक विकाससम्बन्धी गद्यांशका प्रश्नहरूको उत्तर दिनुहोस् ।
(क) औद्योगिक क्षेत्रको योगदान बढाउन के गर्नुपर्छ ?
उत्तर :
औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान बढाउन स्वदेशी तथा विदेशी पुँजीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ ।
(ख) गरिबी न्यूनीकरणका लागि के गर्नुपर्छ ?
उत्तर :
कुटिर, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्धन गर्नुपर्छ । यस्ता उद्योगको विकासमार्फत रोजगारी सिर्जना गर्दै नेपाली वस्तुको उत्पादनमा जोड दिनुपर्छ ।
(ग) अर्थतन्त्रलाई सुदृढ बनाउने उपायहरू के हुन् ?
उत्तर :
अर्थतन्त्रलाई बलियो बनाउन गरिबी न्यूनीकरण गर्नुपर्छ । नेपाली वस्तु तथा सेवामा लगानी गर्न अनुकूल वातावरण तयार गर्नुपर्छ । साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।
(घ) उपभोक्ताको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ ?
उत्तर :
बजारमा हुने मिसावट, ठगी तथा कालोबजारी नियन्त्रण गर्न नियमित र प्रभावकारी बजार अनुगमन गर्नुपर्छ । खाद्यान्न तथा अन्य वस्तुमा हुने अनियमितता रोक्दै प्रचलित ऐन तथा नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
व्याकरण
१. लिङ्ग सङ्गति मिलाउनुहोस् ।
उत्तर :
हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरा छोरा सानै छन् । तिम्रा छोरा पनि सानै छन् । मेरी छोरी विद्यालयमा पढ्छिन् । तिम्री छोरी पनि विद्यालयमा पढ्छिन् । मेरा एउटा भाइ छन् । तिम्री एउटी बहिनी छिन् । मेरी एउटी दिदी हुनुहुन्छ । तिम्रा एउटा दाजु हुनुहुन्छ ।
२. वचन सङ्गति मिलाउनुहोस् ।
उत्तर :
डोल्मा, रामलाल, महेश र म पुस्तकालय गयौँ । पुस्तकालयमा धेरै पुस्तक थिए । मैले पत्रिका पढ़ें । डोल्माले कविता पढिन् । रामलाल र महेशले उपन्यास पढे । पुस्तकालयमा अरु धेरै जना विद्यार्थी थिए । सबै जना पढ्दै थिए । दराजभरि पुस्तकहरू थिए । केही पुस्तक भुइँमा थिए । एउटा पुस्तक भुइँमा झरेको थियो । त्यसको अगाडिको गाता च्यातिएको थियो । मैले त्यो पुस्तक उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दिएँ । व्यवस्थापन शाखाका कर्मचारीहरुले मलाई धन्यवाद दिए ।
३. पुरुष सङ्गति मिलाउनुहोस् ।
उत्तर :
म तिमी र विश्वराज छिमेकी हाँ । म बिहान सबेरै उठ्छु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठ्छ । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।
४. आदर सङ्गति मिलाउनुहोस् ।
उत्तर :
हाम्रो घरमा मेरा मामा आउनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुन्छिन् । तिमी पनि मेरा मामालाई भेट्न आऊ है ।
५. लिङ्ग परिवर्तन गर्नुहोस् ।
उत्तर :
मेरा बुबा ७८ वर्ष हुनुभयो । मेरी आमा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दाइ, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । मेरी श्रीमती असल र दयालु हुनुहुन्छ । मेरा घरमा दुईओटा गाई, एउटा भैँसी र केही बाख्रा पनि छन् । मसँग एक दर्जन कुखुराका पोथी छन् ।
६. वचन परिवर्तन गर्नुहोस् ।
उत्तर :
ऊ घर गयो । घरमा उसकी दिदी थिइन् । उसका दाजुहरू काममा गएका थिए । त्यही वेला उसको साथी पनि टुप्लुक्क आइपुग्यो । उसको आवाज सुनेर गोठको भैँसी पनि करायो । बाख्रो पनि म्याँम्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उसको नजिकै आएर सुँघ्न थाल्यो ।
७. तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
उनको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उनको सातोपुत्लो उड्छ । तेर्सो र ओरालो बाटामा उनी निकै छिटो हिँड्न सक्छन् तर उकालो भने उनका लागि जेमराज जत्तिकै भयावह हुन्छ । उनी विवश थिएँ, उनले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँका उखु पहिले टेक्ते र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।
८. मध्यम आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
तिमी मिहिनेती छौ । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।
९. सामान्य आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरू किताब पढ, लेखहरू लेख ।
१०. उच्च आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाँहरू फेवाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाँहरूका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उहाँहरू घर फर्किनुहुन्छ ।
११. 'ब' र 'व' भएका शब्द छुट्याउनुहोस् ।
| 'ब' भएका शब्दहरू | 'व' भएका शब्दहरू |
|---|---|
| बस्तीका | अवसर |
| बाहिरतिर | वन |
| बारी | वरपर |
| बिल्छ | वर्षा |
| बतास | हावा |
| बिहान | पर्व |
| बेलुका | उत्सव |
| सबै | |
| बजार | |
| यसबाहेक | |
| बिहेबटुलो |