🤝 सहकारी
📚 शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| सोद्देश्य | निश्चित उद्देश्यका साथ |
| समन्वय | एकभन्दा बढी कुराको मेल |
| उदात्त | महान् |
| उपादेयता | उपयोगिता |
| स्वावलम्बी | आत्मनिर्भर |
| स्वायत्तता | स्वाधीनता |
| बोनस | लाभांश |
| आधिपत्य | स्वामित्व |
| उर्वरा | धेरै उब्जनी हुने, उब्जाउ |
| अनुपम | अतुलनीय |
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
| क्र.सं. | अर्थ | शब्द |
|---|---|---|
| (क) | कुनै जाति वा समुदायको प्रगतिको सम्पूर्ण प्रतिबिम्ब | सभ्यता |
| (ख) | उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन | सावाँ |
| (ग) | साझा ब्यापारमा लगाइएका सम्पत्तिको हिस्सा | सेयर |
| (घ) | भइपरी आउने कामकाजका लागि राखिएको सञ्चित धनमाल | जगेडा |
| (ङ) | कुनै विषयलाई ब्यवस्थित रुपमा गर्न, गराउन बनेको सरकारी नियम | ऐन |
| (च) | ऐन, विधान आदिको एक अंश | दफा |
३. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
| शब्द | विपरीतार्थक शब्द |
|---|---|
| उदय | अस्त |
| उन्नति | अवनति |
| सुखी | दुःखी |
| खुला | बन्द |
| संयोग | वियोग |
| स्वायत्तता | पराधीनता |
| लाभ | हानी |
| विगत | आगत |
| विकास | विनाश |
| नाफा | नोक्सान |
४. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
| टुक्का | अर्थ | वाक्य |
|---|---|---|
| हात छाड्नु | पिट्नु | विद्यार्थीले गृहकार्य नगरेपछि गुरुले हात छाड्नु भयो । |
| सातो जानु | होसहवास हराउनु | आज विद्यालय जाँदा बाटोमा डरलाग्दो सर्प देखेपछि मेरो त सातो गयो । |
| घुँडा टेक्नु | हार खानु | एमसिसीमा विदेशीसामू घुँडा टेक्नु हाम्रो देशलाई उचित छैन । |
| टाउकामा टेक्नु | मात्तिएर हेप्नु | मेरी बुढीलाई मैले धेरै माया गरेर उनले मेरो टाउकामा टेकेकी हुन् । |
| कुलेलम ठोक्नु | भाग्नु | बाघ देख्नेबित्तिकै स्यालको बच्चोले कुलेलम ठोक्यो। |
| खुट्टा तान्नु | अगाडि बढ्न नदिनु | अरूको प्रगति देख्न नसक्नेहरूले खुट्टा तान्ने गर्दछन् । |
| हात थाप्नु | माग्नु | देशमा रहेको स्रोत र साधनहरूको उचित प्रयोग गरेमा नेपालीले बाँच्नका लागि हात थाप्नु पर्दैन । |
| ज्यान दिनु | सकेसम्म सहायता गर्नु | हामी नेपालीहरूले मातृभूमिको रक्षाको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुपर्छ । |
| तालुमा आलु फल्नु | भाग्य सप्रनु | अमेरिका जाने डिभी चिट्ठा परेर हर्केको त तालुमा आलु फलेछ । |
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
| क्र.सं. | पारिभाषिक शब्द | अर्थ |
|---|---|---|
| १ | अग्रिम | अगिल्लो |
| २ | अधिकृत | कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति |
| ३ | अन्तःशुल्क | उत्पादन शुल्क |
| ४ | अब्बल | उत्तम श्रेष्ठ, प्रथम दर्जाको |
| ५ | आपूर्ति | दैनिक तथा सामाजिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम |
| ६ | आयब्यय | आम्दानी र खर्च, नाफा नोक्सान |
| ७ | आरक्ष | वन्यजन्तुको सुरक्षा र रूख बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम आरक्षण |
| ८ | ऐलानी | सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा |
| ९ | कार्यवाहक | कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थाई रूपमा काम गर्ने कर्मचारी वा पधाधिकारी |
| १० | कित्ता | श्रेणी, तह कक्षा दर्जा, ओहोदा |
| ११ | कुत | कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न, मोहीबाट तल्सिङले पाउने अन्नबाली |
| १२ | गण | कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय |
| १३ | चाहार | बर्सादका भरले रोपिने सुक्खा माटो भएको |
| १४ | दोयम | मझौला खालको, अव्बलभन्दा मुनिको र सिमभन्दा माथिको जग्गा |
| १५ | पर्ती | आबाद वा खनजोत नभएको, बाँझो जमिन |
| १६ | मोठ | सम्पत्तिको मूल हिसाब लेखिएको कागज, खुकुरी, तरबार, खुंडा आदिको मुठीले समाउने ठाउँ मुठ, बिँड |
| १७ | सिम | पानी कहिल्यै नसुक्ने जमिन |
| १८ | सुकुम्बासी | सुकुमबास भएको, घरजग्गा नभएको रैती |
📖 बोध र अभिव्यक्ति
२. सहकारी प्रबन्ध पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) सहकारी भनेको के हो ?
=> उत्तर: सहकार्यमा विश्वास राख्ने व्यक्तिहरूले आर्थिक उन्नति र विकासका लागि आपसमा सहयोग गर्दै संयुक्त रूपमा स्थापना गर्ने साझा संस्थालाई सहकारी भनिन्छ ।
(ख) आधुनिक सहकारीको अवधारणा कुन देशबाट आएको मानिन्छ ?
=> उत्तर: आधुनिक सहकारीको अवधारणा बेलायतबाट आएको मानिन्छ ।
(ग) नेपाली संस्कृतिको मुख्य आधार के हो ?
=> उत्तर: नेपाली संस्कृतिको मूल जग हाम्रा पुर्खाहरूको गुठी, भारोप्रम, ऐचोपैचो, सरसापट, मेलपातजस्ता पारस्परिक सहयोगमा आधारित सामूहिक जीवनपद्धति हो ।
(घ) सहकारीका निर्देशक सिद्धान्त के के हुन् ?
=> उत्तर: सहकारीका निर्देशक सिद्धान्तहरू स्वैच्छिक तथा खुला सदस्यता, सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार, शिक्षा, तालिम र सूचना हुन् ।
(ङ) सहकारीको मुख्य नाराको आशय के हो ?
=> उत्तर: सहकारीको मुख्य नाराले स्वतन्त्रता प्राप्त गर्न स्वावलम्बन, समुन्नति हासिल गर्न पारस्पारिकता तथा यी दुवै उद्देश्य पूरा गर्न सहकारिताको आवश्यकता रहेको भाव व्यक्त गर्छ ।
(च) 'सहकारी' प्रबन्धको पहिलो र दोस्रो अनुच्छेदको सार भन्नुहोस् ।
=> उत्तर: पहिलो अनुच्छेदले आर्थिक समृद्धि र विकासका निम्ति आपसी सहयोग तथा सहकार्य गर्दै मानिसहरूले सामूहिक रूपमा स्थापना गर्ने संस्थाको परिचय सहकारीका रूपमा दिएको छ । दोस्रो अनुच्छेदले व्यक्तिगतभन्दा सामूहिक आर्थिक गतिविधिलाई प्राथमिकता दिने आधुनिक सहकारीको विचार बेलायतबाट विकसित भएको भए पनि समूहमा बसेर सुख, समृद्धि र सहकार्य गर्ने पूर्वीय चिन्तनमा यसको आधारभूत स्वरूप पहिलेदेखि नै रहेको स्पष्ट पार्छ ।
(छ) सहकारी किन आवश्यक छ ?
=> उत्तर: मानिसको सुख र समृद्धि हासिल गर्न तथा सामूहिक आर्थिक गतिविधिलाई प्रभावकारी बनाउन सहकारी आवश्यक हुन्छ । यसले आर्थिक विकासलाई गति दिनुका साथै युवाहरू विदेशिनुपर्ने अवस्थालाई घटाएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सहयोग गर्छ । त्यस्तै, परनिर्भरता कम गरी आत्मनिर्भर संस्कृतिको विकास, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण तथा उद्यमशील र सिर्जनशील कार्यको विस्तारमा पनि सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ । अन्ततः नेपाललाई समुन्नत र सुखी राष्ट्र बनाउने दिशामा समेत यसको आवश्यकता देखिन्छ ।
उत्तर :
३. नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्य बताउनुहोस् ।
नेपालमा सहकारी स्थापना गर्नुको मूल उद्देश्य सहकार्यको माध्यमबाट व्यक्तिलाई आत्मनिर्भर बनाउँदै समुदायको दिगो विकासतर्फ अघि बढ्नु हो । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर स्थापना गरिएका सहकारीले सामूहिक आर्थिक गतिविधिलाई प्रोत्साहन गर्छन् र मानिसको जीवनलाई सुखी तथा समृद्ध बनाउन सहयोग पुर्याउँछन् ।
यसका साथै नेपाल र नेपालीको आर्थिक विकास अघि बढाउनु, विदेशमा रोजगारी खोज्न बाध्य हुने युवाको अवस्था अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु, परनिर्भरता घटाएर आत्मनिर्भर संस्कृतिको विकास गर्नु तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु सहकारीका प्रमुख उद्देश्य हुन् । आम जनसमुदायमा छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिलाई एकीकृत रूपमा परिचालन गरी आर्थिक उन्नति गर्नु, व्यक्तिलाई आत्मनिर्भर बनाउँदै समाजको प्रगति गर्नु र उद्यमशील तथा सिर्जनशील कार्यलाई विस्तार गर्नु पनि यसको उद्देश्यभित्र पर्छ । यसरी नेपालजस्तो विकासोन्मुख देशलाई संसारकै समुन्नत र सुखी मुलुक बनाउने लक्ष्यमा सहकारीले योगदान पुर्याउँछ ।
उत्तर :
४. संयुक्त राष्ट्रसङ्घले संसारका सबै देशलाई सहकारीको स्थापना र सञ्चालन गर्न दिएको सुझावबारे आफ्ना धारणा व्यक्त गर्नुहोस् ।
संयुक्त राष्ट्रसङ्घले सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भका रूपमा स्वीकार गर्दै यसको माध्यमबाट राष्ट्रको समग्र विकास गर्न सकिने भएकाले संसारका सबै देशलाई सहकारी स्थापना तथा सञ्चालन गर्न प्रोत्साहित गरेको छ । यस्तो सुझावप्रति म पूर्ण रूपमा सहमत छु ।
सहकारी आर्थिक समृद्धि र विकासका निम्ति पारस्परिक सहयोग तथा सहकार्यमा आधारित संस्था हो । आधुनिक सहकारीको अवधारणा उन्नाइसौं शताब्दीको पूर्वार्द्ध (सन् १८४४) मा बेलायतबाट विकसित भएको मानिन्छ । बेलायतमा सहकारीका माध्यमबाट आर्थिक उन्नति र विकासले गति लिएपछि यसको उपयोगिता देखेर संसारका अन्य देशहरूले पनि यसको अभ्यास गर्न थाले ।
समाजका विभिन्न क्षेत्रमा सहकारी उपयोगी भए पनि आर्थिक विकासका क्षेत्रमा यसको भूमिका अझ विशेष देखिन्छ । आर्थिक समृद्धि नै विकासको प्रमुख आधार भएकाले सहकारीले त्यसलाई मजबुत बनाउन सहयोग गर्छ । सन् १८८५ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ स्थापना भएपछि सहकारीका आधारभूत तथा नैतिक मूल्यलाई समेट्दै स्वैच्छिक तथा खुला सदस्यता, सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार, शिक्षा, तालिम र सूचना जस्ता निर्देशक सिद्धान्तहरू विकसित गरिए । यिनै सिद्धान्तलाई आधार बनाएर विश्वका धेरै देशमा सहकारीको विस्तार भएको पाइन्छ ।
न्यून पुँजी भएका व्यक्तिले पनि सामूहिक रूपमा थोरैथोरै रकम जम्मा गरेर ठूलो आर्थिक आधार निर्माण गर्न सक्ने भएकाले सहकारी सबै वर्गका मानिसका लागि उपयोगी छ । 'एक थुकी सुकी सय थुकी नदी' भनेझैँ सानो योगदानहरू एकत्रित हुँदा ठूलो परिणाम प्राप्त गर्न सकिन्छ । यही कारण अविकसित, विकासोन्मुख तथा विकसित सबै प्रकारका देशमा सहकारीको विस्तार भएको छ । त्यसैले संयुक्त राष्ट्रसङ्घले दिएको यो सुझाव व्यावहारिक, सान्दर्भिक र उपयुक्त छ ।
५. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
उत्तर :
(क) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकको विकासमा सहकारीले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा पछिल्ला वर्षहरूमा भएका यसका विभिन्न गतिविधिबाट स्पष्ट हुन्छ । नेपालमा २९,८८६ सहकारी सञ्चालनमा रहे पनि देशका सबै क्षेत्र अझै सहकारीको प्रभावकारी पहुँचमा आउन सकेका छैनन् ।
यदि कृषि, उद्योग, व्यापार, सेवा तथा अन्य आवश्यक क्षेत्रहरूमा सहकारीलाई व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न सकियो भने उपलब्ध स्रोत, पुँजी, प्रतिभा र प्रविधिको सामूहिक परिचालन सम्भव हुन्छ । यसबाट उत्पादन र रोजगारी बढ्नुका साथै विदेशी निर्भरता घट्दै नेपाल धेरै क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ ।
उत्तर :
(ख) नेपालका घरेलु उत्पादनलाई ब्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
घरेलु उद्योग सानो तथा विकेन्द्रित स्तरमा सञ्चालन हुने उत्पादनमूलक व्यवसाय हो । विकासोन्मुख देशका लागि यस्ता उद्योगको आर्थिक र सामाजिक महत्त्व उल्लेखनीय हुन्छ । तर विश्वव्यापीकरणसँगै विदेशी वस्तुको प्रयोग बढेकाले स्वदेशी घरेलु उत्पादनलाई व्यवस्थित गरी बजारसम्म पुर्याउनु चुनौतीपूर्ण बनेको छ ।
यस्तो अवस्थामा सहकारीलाई घरेलु उत्पादनको व्यवस्थापन तथा बजारीकरणको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि समुदायका मानिसलाई सहकारीको प्रकृति र त्यसबाट प्राप्त हुने लाभबारे जानकारी दिनुपर्छ । सहकारीका सदस्यलाई स्वदेशी वस्तुको प्रयोग र प्रवर्द्धनसम्बन्धी शिक्षा तथा तालिम उपलब्ध गराउनुपर्छ । साथै, बजारका सान्दर्भिक आधुनिक प्रवृत्तिलाई एकीकृत गर्दै डिजिटल मार्केट र हबस्पटको व्यवस्था गर्नुपर्छ । यी उपाय अपनाउन सके घरेलु उत्पादनलाई व्यवस्थित रूपमा बजारमा पुर्याउन सकिन्छ ।
६. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
उत्तर :
(क) स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नु उपयुक्त हुन्छ ?
प्रकृति र संस्कृतिले समृद्ध नेपालमा समुदायका अधिकांश क्षेत्रमा सहकारी स्थापना गरेर जनसमुदायमा छरिएको प्रतिभा तथा प्रविधिलाई एउटै उद्देश्यमा परिचालन गर्न सकिन्छ । सहकारी आफैँमा उद्यमशीलतामुखी संस्था भएकाले यसमार्फत विभिन्न सिर्जनात्मक तथा उत्पादनशील काम अघि बढाउन सकिन्छ ।
नेपालको अपार जलस्रोत र उर्वरा भूमि उपयोग गर्दै कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि, वित्तीय सेवा, यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा, जडीबुटी लगायतका क्षेत्रको सम्भाव्यता पहिचान गर्नुपर्छ । यी क्षेत्रलाई सहकारीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सके देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।
उत्तर :
(ख) नेपाललाई कसरी संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ?
नेपाललाई समुन्नत र सुखी राष्ट्रका रूपमा विकास गर्न सहकारीलाई आर्थिक विकासको आधारस्तम्भका रूपमा लिएर समुदायका विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्छ । जनसमुदायमा छरिएको पुँजी, प्रतिभा र प्रविधिलाई एकीकृत रूपमा परिचालन गर्दै जलस्रोत, कृषि र पर्यटनजस्ता सम्भावनायुक्त क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक छ ।
उद्योग तथा उत्पादनमूलक क्षेत्रलाई सहकारीमार्फत व्यवस्थित गरेमा स्वदेशमै रोजगारी सिर्जना हुन्छ । सिर्जनशील युवाको सक्रिय सहभागिताले विकास प्रक्रियालाई तीव्र बनाउँछ । रोजगारी र उत्पादन बढेपछि परनिर्भरता घट्दै आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ । नयाँ सम्भावनाका क्षेत्रसमेत समेटेर सहकारीमार्फत उद्योग तथा आर्थिक गतिविधि व्यवस्थित रूपमा अघि बढाउन सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।
उत्तर :
७. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) सहकारीले नेपालको विकासमा कसरी सहयोग पुऱ्याएको छ ?
प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रूपमा प्रस्तुत गरिएको छ । समाजका सदस्यहरू मिलेर आर्थिक समृद्धि र विकासका निम्ति स्थापना गर्ने साझा संस्थाका रूपमा सहकारीको परिचय दिइएको छ । सहकार्य गर्ने साथी, बन्धुबान्धव वा अन्य व्यक्तिले सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा उद्देश्यपूर्ण रूपमा गर्ने सामूहिक क्रियाकलापलाई सहकार्य भनिन्छ ।
नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यले संगठित हुने अभ्यास वि.सं. २०१३ मा चितवनमा स्थापना गरिएको बखान ऋण सहकारी संस्थाबाट सुरु भएको हो । सहकारी विभागको वि.सं. २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालनमा थिए । यसले नेपालका आर्थिक, सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न किसिमका योगदान पुर्याएको छ ।
सहकारीमार्फत सहकार्य गर्दा आम जनसमुदायमा छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिलाई सामूहिक रूपमा परिचालन गर्न सकिन्छ । यसबाट व्यक्ति आत्मनिर्भर बन्नुका साथै समाज र राष्ट्रको विकासमा पनि सहयोग पुग्छ । न्यून पुँजी भएका व्यक्तिहरूलाई समेत सहकारीमा आबद्ध भएर सानो योगदानमार्फत ठूलो आर्थिक आधार निर्माण गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले 'एक थुकी सुकी सय थुकी नदी' भन्ने भावनाअनुसार सहकारीले स-साना पुँजीलाई एकत्रित गर्ने काम गर्छ ।
सहकारीको प्रभाव सामाजिक विकासमा पनि देखिन्छ । पारस्परिक सहयोग र सहकार्यका माध्यमबाट मानवहितका कार्य सञ्चालन हुँदा समाजको प्रगतिमा योगदान पुग्छ । विकासको मुख्य आधार आर्थिक समृद्धि भएकाले सहकारी क्षेत्रले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका समूह तथा सर्वसाधारण उपभोक्तामाझ छरिएको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरेको छ ।
सहकारीमा पुँजीमाथि सबै सदस्यहरूको समान स्वामित्व हुने भएकाले नाफा प्राप्त हुँदा सेयर पुँजीका आधारमा सीमित बचत फिर्ता पाउने व्यवस्था हुन्छ । संस्थागत विकाससँगै सदस्यहरूको सेवा र सुविधा सुनिश्चित हुन्छ । सहकारीले श्रम तथा सिपलाई समेत महत्त्व दिन्छ ।
जलस्रोत, कृषि र पर्यटनजस्ता क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा परिचालन गरी उद्योग व्यवस्थापन तथा रोजगारी सिर्जना गर्न सकिन्छ । यसले सिर्जनशील युवालाई स्वदेशमै सक्रिय हुने अवसर प्रदान गर्छ । परिणामस्वरूप परनिर्भरता घट्छ, आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र सुदृढ बन्छ । यसरी सहकारीका माध्यमबाट विद्यमान उद्योगलाई व्यवस्थित गर्दै नयाँ क्षेत्रसमेत समेटेर अघि बढ्न सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।
उत्तर :
(ख) 'सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ' विवेचना गर्नुहोस् ।
प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धले सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रूपमा चित्रण गरेको छ । आर्थिक उन्नति र विकासका लागि समाजका सदस्यहरू मिलेर स्थापना गर्ने साझा संस्था नै सहकारी हो । यस संस्थामा व्यक्तिगतभन्दा सामूहिक आर्थिक गतिविधिलाई बढी महत्त्व दिइन्छ, जसले देशको सुख, समृद्धि र विकासमा योगदान पुर्याउन सक्छ ।
सहकारीको विशेषता नै सानो पुँजी भएका व्यक्तिलाई पनि सामूहिक आर्थिक गतिविधिमा सहभागी गराउनु हो । प्रत्येक सदस्यले आफ्नो क्षमताअनुसार थोरैथोरै रकम जम्मा गर्दा त्यही रकम ठूलो सामूहिक पुँजीमा परिणत हुन्छ । यसरी जनसमुदायमा छरिएको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत परिचालनबाट आर्थिक उन्नतिको आधार तयार हुन्छ ।
मानिसहरू एक्लैले गर्न कठिन हुने काम समूहमा रहेर सहज रूपमा पूरा गर्न सक्छन् । यही आवश्यकतालाई सम्बोधन गर्न स्थानीय स्तरमा 'एकका लागि सबै र सबैका लागि एक' भन्ने भावनाका साथ सहकारी स्थापना भएका हुन् । कम आय भएका मानिसहरूले पनि सहकारीमा सहभागी भएर आफ्नो सानो बचतलाई सामूहिक पुँजीमा रूपान्तरण गर्न सक्छन् ।
'एक थुकी सुकी सय थुकी नदी' भनेझैँ प्रत्येक व्यक्तिको सानो योगदान एकत्रित हुँदा ठूलो आर्थिक शक्ति निर्माण हुन्छ । नेपालमा कम आय भएका धेरै मानिसहरू उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहन्छन्, तर पर्याप्त आर्थिक स्रोत नहुँदा उनीहरू आफ्ना योजना कार्यान्वयन गर्न सक्दैनन् । सहकारीले यस्ता व्यक्तिहरूबाट केही रकम संकलन गरी सामूहिक रूपमा आवश्यक सहयोग उपलब्ध गराउँछ । त्यसैले सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ भनिएको हो ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) समालोचनाको मुख्य कार्य के हो ?
=> उत्तर: समालोचनाको मूल उद्देश्य साहित्यिक कृतिका गुण र कमजोरी पहिचान गरी त्यसको व्याख्या, विश्लेषण तथा मूल्याङ्कन गर्नु हो ।
(ख) 'सृष्टि' र 'दृष्टि' शब्दले के के बुझाएका छन् ?
=> उत्तर: 'सृष्टि' शब्दले सिर्जनालाई र 'दृष्टि' शब्दले सिर्जनालाई हेर्ने कामलाई बुझाएका छन् ।
(ग) पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक र समालोचनात्मक कृति कुन कुन हुन् ?
=> उत्तर: पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक कृति 'इलियड' र 'ओडिसी' अनि समालोचनात्मक कृति 'काव्यशास्त्र' हुन् ।
(घ) 'कवि भानुभक्ताचार्यको जीवन चरित्र' जीवनीपरक कृतिलाई किन नेपाली साहित्यको प्रथम कृति मानिन्छ ?
=> उत्तर: 'कवि भानुभक्ताचार्यको जीवन चरित्र' जीवनीपरक भए पनि त्यसमा कवि भानुभक्त र उनको काव्य 'रामायण' सम्बन्धी केही विवेचनात्मक दृष्टि प्रस्तुत गरिएको छ । यही कारणले यस कृतिलाई नेपाली साहित्यको प्रथम कृति मानिन्छ ।
९. दिइएको अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् :
बुँदाहरू :
- •जिज्ञासा वृत्तिको विकास गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता भएको,
- •सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनुपर्ने,
- •कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्ने,
- •संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना भई मानव असल र सफल हुने ।
सारांश :
शिक्षाको उपयोगिता
जिज्ञासा वृत्तिको विकास र उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता रहेको हुन्छ । सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म, संस्कृतिको अनुकूल हुनुपर्छ । विद्यार्थीले अतिरिक्त समाजबाट सिक्ने भएकाले प्रदूषणमुक्त समाज निर्माण गर्नुपर्छ । कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्दछ । संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना हुनुका साथै असल र सफल मानव हुन सकिन्छ ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : १५१
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ५०
सारांशमा भएको शब्दसङ्ख्या : ५२
✍️ व्याकरण
२. उदाहरणमा दिइए झैँ तलका सामान्य पदक्रमका वाक्यलाई विशिष्ट पदक्रममा परिवर्तन गर्नुहोस् :
=> उत्तर: उठ्छ बिहान सबेरै कविर ।
- •गर्छ नित्यकर्म ऊ ।
- •उठाउँछ ऊ आफ्ना भाइबहिनीलाई ।
- •उनीहरू सबैलाई उसकी आमाले चियाखाजा दिनुहुन्छ ।
- •किताबकापी बोकेर जान्छ ऊ विद्यालय ।
- •पढ्छ विद्यालयमा मिलेर साथीहरूसित ।
- •गृहकार्य गर्छ ऊ ।
- •पढाउँछ ऊ भाइबहिनीलाई ।
- •जान्छ ऊ फुर्सदको समयमा पुस्तकालय ।
४. तलको अनुच्छेदमा प्रयुक्त लेख्य चिह्न टिप्नुहोस् र तिनको नाम पनि भन्नुहोस् :
| क्र.सं. | लेख्य चिह्नको नाम | चिह्न |
|---|---|---|
| १ | अल्पविराम | , |
| २ | पूर्णविराम | । |
| ३ | प्रश्नवाचक चिह्न | ? |
| ४ | दोहोरो उद्धरण चिह्न | " " |
| ५ | एकोहोरो उद्धरण चिह्न | ' ' |
| ६ | विस्मयादिबोधक चिह्न | ! |
५. उपयुक्त लेख्य चिह्न प्रयोग गरी तलको अनुच्छेदको पुनर्लेखन गर्नुहोस् :
=> उत्तर: छिरिङ हरेक दिन नियमित रूपमा कुनै न कुनै नयाँ पुस्तक पढ्ने गर्थे । उनले कथा, कविता, उपन्यास र यात्रा सस्मरण विधाका धेरै किताब पढिसकेका थिए । 'मुनामदन' पढ्दा उनी निकै भावुक बनेका थिए । पढ्दाखेरि केही कुरा नबुझ्दा उनी हजुरआमासँग जान्थे र किताब देखाउँदै भन्थे, "हजुरआमा यसको अर्थ के हो ?" किताब देख्नेबित्तिकै हजुरआमा भन्नुहुन्थ्यो, “ओहो ! तिमीले यो के ल्यायौ ?" हजुरआमालाई भने काला अक्षर भैंसी बराबर थिए । यसैले हजुरआमाले सम्झाएको भावमा उनलाई भन्नुहुन्थ्यो, "मैले तिमीहरूको जस्तो बेलामा विद्यालय जान पाइनँ । यसैले मलाई केही आउँदैन । तिमीहरू त धेरै भाग्यमानी छौ । सानैदेखि विद्यालय जान पाएका छौ आमाबुबासित सोध्न पाएका छौ त्यसैले भरे आमा आएपछि सोध न ।" यसो भने पनि उनी हजुरआमाका कुरा बारम्बार सुनिरहन्थे । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने झैँ छिरिङ हजुरआमाको अनुभवपूर्ण कुराबाट प्रत्येक दिन केही न केही नयाँ कुरा सिकिरहेका हुन्थे ।
७. शुद्ध बनाई लेख्नुहोस् :
=> उत्तर: सहकारी लोकतान्त्रिक संस्था हुन् । सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रूपमा सहभागी हुन्छन् ।