🌌 स्टिफन विलियम हकिङ
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| विभीषिका | भय |
| मानसपटल | मानसिक तह |
| आनुवंशिक | पुर्ख्यौली |
| जिज्ञासा | जान्ने इच्छा |
| अवधारणात्मक | कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको |
| खगोल | आकाशमण्डल |
| घनत्व | खँदिलोपन |
| कृत्रिम | बनावटी |
| साधना | सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया |
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
| क्र.सं. | अर्थ | शब्द |
|---|---|---|
| (क) | रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव | संस्कार |
| (ख) | स्नायुसम्बन्धी एक रोग | अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस |
| (ग) | कलपुर्जा, दम आदिले आफैँ सञ्चालन हुने | स्वचालित |
| (घ) | पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा | परिकल्पना |
| (ङ) | ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया | वार्महोल |
| (च) | विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान | विद्वतवृत्ति |
| (छ) | पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र | खगोल शास्त्र (विज्ञान) |
| (ज) | इतिहास, विज्ञान, जीवनी आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र | वृत्तचित्र |
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
इच्छाशक्ति
=> उत्तर: अनावश्यक विचार, भावना तथा आवेगलाई नियन्त्रण गरेर आफ्नो लक्ष्यतर्फ अघि बढ्ने मानसिक शक्तिलाई इच्छाशक्ति भनिन्छ ।
योगदान
=> उत्तर: विश्वमा शान्ति र सुरक्षाको क्षेत्रमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान दिएको छ ।
सिर्जनशील
=> उत्तर: विद्यालयले विद्यार्थीको सिर्जनशील क्षमता अभिवृद्धि गर्न विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्छ ।
आदर्श
=> उत्तर: प्रत्येक व्यक्तिले जीवनमा असल र आदर्श व्यवहारलाई आफ्नो लक्ष्य बनाएर अघि बढ्नुपर्छ ।
दाम्पत्य
=> उत्तर: सुखी दाम्पत्य जीवनका लागि पति र पत्नी दुवैले एकअर्काप्रति सहयोग र सम्मानको भावना राख्नुपर्छ ।
शक्तिहीन
=> उत्तर: कठिन परिस्थितिमा परे पनि हामीले आफूलाई शक्तिहीन ठान्नु हुँदैन ।
अशक्त
=> उत्तर: अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले आवश्यक सामाजिक सुरक्षा र सहयोग उपलब्ध गराउनुपर्छ ।
विभूषित
=> उत्तर: राष्ट्रपतिले उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई विभिन्न मानपदवीबाट विभूषित गर्नुभयो ।
४. तलका कुनै दशओटा अनुकरणात्मक शब्दको प्रयोग गरी आफ्नो विद्यार्थी जीवनको वर्णन गर्नुहोस् ।
उत्तर : विद्यार्थी जीवन
विद्यार्थी जीवनमा म बिहान पाँच बजेतिर जुरुक्क उठ्थेँ । त्यसपछि झटपट तयार भएर खाना खान्थेँ र सरासर विद्यालयतर्फ लाग्थेँ । विद्यालय पुग्दा साथीहरू पनि गद्गद हुँदै एकअर्कासँग कुराकानी गरिरहेका हुन्थे । शिक्षकले प्रश्न सोध्दा कतिपय साथीहरू टुलुटुलु हेरिरहन्थे भने म जुरुक्क उठेर उत्तर दिने प्रयास गर्थेँ । सही उत्तर दिँदा शिक्षक मुसुमुसु हाँस्नुहुन्थ्यो र म गम्म पर्थेँ । विद्यालयनजिकैको बगैँचामा ढकमक्क फुलेका फूल तथा लटरम्म फलेका फलफूल देख्दा हामी निकै रमाउँथ्यौँ । यसरी हाँस्दै, खेल्दै र सिक्दै बितेको विद्यार्थी जीवन मेरा लागि निकै रमाइलो थियो ।
बोध र अभिव्यक्ति
२. दिइएका बुँदालाई जीवनीमा उल्लेख भएअनुसारको क्रममा मिलाउनुहोस् र तिनमा उल्लेख भएका विषयवस्तुबाट मुख्य मुख्य बुँदा टिप्नुहोस् :
=> उत्तर: जीवनीका घटनाहरूलाई क्रमबद्ध रूपमा यसरी मिलाउन सकिन्छ :
(क) पृष्ठभूमि
- •शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ति, प्रतिभा र निरन्तर साधना भएका व्यक्ति कहिल्यै शक्तिहीन हुँदैनन् ।
- •मानवहितमा समर्पित भएर उल्लेखनीय योगदान दिने व्यक्ति संसारभरि उदाहरणीय बन्न सक्छ ।
- •शारीरिक अवस्था कमजोर हुँदाहुँदै पनि स्टिफन विलियम हकिङले भौतिकशास्त्रमा नयाँ तथ्यहरू उजागर गरेर संसारलाई आश्चर्यचकित बनाए ।
(ख) जन्म र आमाबुबा
- •हकिङको जन्म सन् १९४२ जनवरी ८ मा भयो ।
- •उनी आमा इसाबेल र बुबा प्रयाङ्कका पहिलो सन्तान थिए ।
(ग) हकिङको विद्यालयीय शिक्षा
- •उनको प्रारम्भिक विद्यालय शिक्षा लन्डनको हाइगेटस्थित बायरन हाउस विद्यालयबाट सुरु भयो ।
- •त्यसपछि उनी सेन्ट अल्बान्स विद्यालयमा भर्ना भए ।
- •विद्यार्थी जीवनमा उनी आफ्नो कक्षाका कमजोर विद्यार्थीमध्ये पर्थे ।
- •उनले सेन्ट अल्बान्स विद्यालयबाट विद्यालयीय शिक्षा पूरा गरे ।
(घ) विद्यावारिधिको उपाधि
- •अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस रोगका कारण हिँड्न कठिन भए पनि उनले सन् १९६६ मा क्याम्ब्रिजबाट विद्यावारिधि हासिल गरे ।
- •विद्यावारिधिपछि क्याम्ब्रिजमा विद्वतवृत्ति पाएर अनुसन्धाताका रूपमा काम गरे ।
- •सन् १८६८ मा क्याम्ब्रिजको खगोल अध्ययन संस्थानको सदस्य नियुक्त भए ।
- •सन् १८७८ मा गणित विषयका ल्युकेसियन प्रोफेसर पदमा नियुक्त भए ।
(ङ) क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यमा नियुक्ति
- •शारीरिक रूपमा कमजोर हुँदै गए पनि ह्विलचेयरको सहायताले विभागमा पुगेर उनले अनुसन्धानलाई निरन्तरता दिए ।
- •प्रतिकूल अवस्थाबीच पनि उनले क्रमशः सफलता प्राप्त गर्दै गए ।
(च) क्याम्ब्रिजकै प्रसिद्ध पद 'ल्युकेसियन प्रोफेसर' मा नियुक्ति
- •सन् १९७९ मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध 'ल्युकेसियन प्रोफेसर' पदमा नियुक्त भए ।
- •सन् १९८५ मा गम्भीर बिरामी परेपछि उनको श्वासनलीको शल्यक्रिया गरियो ।
- •शल्यक्रियापछि उनको आवाज पूर्ण रूपमा हरायो र कामलाई निरन्तरता दिन थप कठिन भयो ।
(छ) प्रेमसम्बन्ध, विवाह र दाम्पत्य जीवन
- •क्याम्ब्रिजमा विद्यावारिधि गरिरहेको समयमा जेन वाइल्डसँग प्रेमसम्बन्ध कायम गरी सन् १९६५ मा विवाह गरे ।
- •उनीहरूबाट लुसी नामकी छोरी तथा रोबर्ट र तिमोथी नामका दुई छोरा जन्मिए ।
- •दाम्पत्य सम्बन्धमा समस्या आएपछि सन् १९९० मा सम्बन्धविच्छेद भयो ।
- •सन् १९९५ मा हेरचाह गर्ने नर्स एलेन मेसनसँग उनले विवाह गरे ।
- •दोस्रो दाम्पत्य सम्बन्ध पनि लामो समय टिक्न नसकी सन् २००६ मा सम्बन्धविच्छेद भयो ।
(ज) विभिन्न पुस्तक र शोधपत्रको प्रकाशन
- •हकिङले जीवनकालमा दर्जनभन्दा बढी पुस्तक तथा कैयौँ शोधपत्र तयार गरी प्रकाशित गरे ।
- •सन् १९८८ मा प्रकाशित 'अ ब्रिफ हिस्ट्री अफ टाइम' उनको सर्वाधिक चर्चित पुस्तक बन्यो ।
- •सन् १९९८ मा उक्त पुस्तकलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सदावहार सर्वाधिक बिक्री हुने पुस्तकका रूपमा घोषणा गरेको उल्लेख छ ।
(झ) ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी मौलिक मान्यता
- •हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनाबारे गहिरो अध्ययन गरी आफ्ना मौलिक धारणा प्रस्तुत गरे ।
- •ब्रह्माण्डको उत्पत्ति अत्यधिक घनत्व भएको बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने विचार उनले प्रस्तुत गरे ।
- •अत्यधिक गुरुत्वका कारण ब्ल्याकहोलभित्र पदार्थ खुम्चिने तथा त्यसबाट विकिरण उत्सर्जन हुने सम्बन्धमा उनले महत्त्वपूर्ण विचार अघि सारे ।
(ञ) पृथ्वीमा आइपर्न सक्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई गरेको आग्रह
- •हकिङले पृथ्वीमा आउन सक्ने सम्भावित संकटप्रति मानव समुदायलाई पटकपटक सचेत गराए ।
- •परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि तथा प्रकृतिविरुद्धका मानवीय गतिविधिले मानव जीवन जोखिममा पार्न सक्ने बताए ।
- •कृत्रिम बुद्धिमत्तायुक्त रोबोट निर्माण गर्दा पनि मानिसहरू सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।
(ट) हकिङले समय–समयमा दिएका प्रेरणादायी वक्तव्य
- •बालबालिकालाई आफ्ना खुट्टातिर मात्र नभई तारातर्फ हेर्न र निरन्तर कर्मशील रहन प्रेरित गरे ।
- •जीवनमा गल्ती हुनु स्वाभाविक भएकाले त्यसलाई प्रगतिको मार्गदर्शकका रूपमा लिनुपर्ने बताए ।
- •शारीरिक अशक्ततालाई दुर्भाग्यका रूपमा नहेर्न आग्रह गरे ।
- •इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको बलमा उनले आफ्नो शारीरिक अशक्ततामाथि विजय हासिल गरे ।
(ठ) हकिङले पाएका पुरस्कार र उपाधि
- •वैज्ञानिक क्षेत्रमा पुर्याएको योगदानका कारण उनले अनेकौँ पुरस्कार र सम्मान प्राप्त गरे ।
- •अल्बर्ट आइन्स्टाइन मेडल, ह्युज मेडल अफ रोयल सोसाइटी, मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी लगायतका विभिन्न सम्मान पाए ।
- •सन् १९८२ मा ब्रिटिस महारानी एलिजाबेथले उनलाई 'कमान्डर अफ द ब्रिटिस एम्पायर' सम्मान प्रदान गरिन् ।
- •सन् २००९ मा अमेरिकी सरकारले उनलाई सर्वोच्च नागरिक सम्मान 'राष्ट्रपति' पदकबाट सम्मान गर्यो ।
(ड) समग्र योगदान र देहावसान
- •शारीरिक अशक्तताबीच पनि निरन्तर अनुसन्धान गरी भौतिकशास्त्रमा नयाँ तथ्य उजागर गरे ।
- •मानव चेतनालाई नयाँ उचाइमा पुर्याउन उनको योगदान उल्लेखनीय रह्यो ।
- •सन् २०१८ मार्च १४ मा ७६ वर्षको उमेरमा उनको देहावसान भयो ।
३. पाठ पढी दिइएका प्रश्नको उत्तर भन्नुहोस् ।
(क) कस्तो परिस्थितिमा हकिङ जन्मेका हुन् ?
=> उत्तर: हकिङको जन्म सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्ड सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । उनको जन्मका समयमा बेलायत दोस्रो विश्वयुद्धको विभीषिकाबाट प्रभावित थियो र उनको परिवार आर्थिक अभावबाट गुज्रिरहेको थियो ।
(ख) हकिङलाई लागेको रोगको नाम के हो ?
=> उत्तर: हकिङलाई लागेको रोगको नाम 'अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस' हो ।
(ग) हकिङको सर्वाधिक चर्चित पुस्तक कुन हो ?
=> उत्तर: हकिङको सर्वाधिक चर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम' हो ।
(घ) हकिङका आमाबुबा कुन–कुन विषयका विद्वान् थिए ?
=> उत्तर: हकिङकी आमा इसाबेल अर्थशास्त्रकी र बुबा प्रयाङ्क जीवविज्ञानका विद्वान् थिए ।
(ङ) हकिङसँग रहेका तीन शक्ति के–के हुन् ?
=> उत्तर: हकिङसँग रहेका तीन शक्ति इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति हुन् ।
(च) हकिङले कसरी सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ?
=> उत्तर: शारीरिक रूपमा अत्यन्त अशक्त भए पनि उनले आशावादी दृष्टिकोणका साथ अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिए । भौतिकशास्त्रमा नयाँ तथ्यहरू उजागर गरेकाले उनले सिङ्गो संसारलाई आश्चर्यचकित बनाए ।
(छ) हकिङले ब्ल्याकहोलका सम्बन्धमा प्रस्तुत गरेको मौलिक विचार के हो ?
=> उत्तर: अधिक गुरुत्वशक्तिका कारण ब्ल्याकहोलभित्र वस्तुहरू खुम्चिएर रहने र अझ बढी खुम्चिँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुने विचार हकिङले ब्ल्याकहोलका सम्बन्धमा प्रस्तुत गरेका हुन् ।
४. रोग लागेपछि हकिङको जीवनमा शारीरिक रूपमा आइपरेका समस्यालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तर :
हकिङलाई २१ वर्षको उमेरमा स्नायुसम्बन्धी रोग लागेपछि उनको शारीरिक अवस्था क्रमशः कमजोर हुँदै गयो । रोगको उपचार चलिरहेकै अवस्थामा पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । सामान्य हिँडडुलमा समेत नियन्त्रण गुम्दै जान थाल्यो । सन् १९६३ तिर उनको आँखा तिरमिराउने र आवाज लटपटिनेजस्ता समस्या देखिन थाले । अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस रोग बढ्दै गएपछि शरीरका विभिन्न अङ्गले क्रमशः काम गर्न छोड्न थाले । चिकित्सकहरूले उनको आयु छोटो रहेको बताएपछि उनी मानसिक रूपमा निकै पीडित भए । सन् १९६५ तिर उनी लट्ठीको सहाराबिना हिँड्न नसक्ने अवस्थामा पुगे । त्यसपछि हातखुट्टा चलाउनसमेत कठिन हुँदै गएपछि उनी ह्विलचेयरको सहारा लिन बाध्य भए । श्वासनलीको शल्यक्रिया गरिएपछि उनको आवाज पूर्ण रूपमा हरायो । बोल्न नसके पनि उनको मस्तिष्कका तरङ्ग तथा अनुहारका भावका आधारमा सञ्चालन गर्न सकिने कम्प्युटरको व्यवस्था भएपछि उनले पुनः अनुसन्धान, लेखन, प्रवचन र अन्तर्वार्तालाई निरन्तरता दिए । यसरी गम्भीर शारीरिक समस्याका बाबजुद उनले वैज्ञानिक अनुसन्धानलाई रोक्न दिएनन् ।
५. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(अ) हकिङ कस्तो स्वभावका थिए ?
उत्तर : हकिङ बाल्यकालदेखि नै अत्यन्त जिज्ञासु, लगनशील, मिहिनेती र सिर्जनशील स्वभावका थिए । उनी कुनै यान्त्रिक वस्तु देख्दा त्यसको बाहिरी रूपमै सीमित नभई भित्री संरचना र कार्यप्रणाली बुझ्न उत्सुक हुन्थे । पुराना घडी तथा रेडियोका पार्टपुर्जालाई प्रयोग गरेर उनले विभिन्न वस्तुका नमुना बनाउने गर्थे । साथीहरूको सहयोगमा कम्प्युटर, खेलका सामग्री, हवाईजहाज तथा डुङ्गाका नमुना बनाउनु उनको सिर्जनशीलताको प्रमाण थियो । उनी घरमा हुँदा पनि नयाँ कुरा खोज्ने र प्रयोग गर्ने कार्यमा व्यस्त रहन्थे । त्यसैले हकिङ बाल्यकालदेखि नै खोजीपूर्ण र सिर्जनात्मक सोच भएका बालक थिए ।
(आ) हकिङलाई उनका साथीहरूले आइन्स्टाइन भन्नुको कारण के हो ?
उत्तर : हकिङको जिज्ञासु, लगनशील, मिहिनेती तथा सिर्जनशील व्यक्तित्वबाट उनका साथीहरू निकै प्रभावित थिए । उनी आफ्नै कल्पनाअनुसार नयाँ वस्तु निर्माण गर्न र तिनको कार्यप्रणालीबारे सोच्न रुचाउँथे । पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट विभिन्न नमुना बनाउने उनको क्षमताले साथीहरूलाई प्रभावित बनाएको थियो । महान् वैज्ञानिक आइन्स्टाइनसँग उनको वैज्ञानिक जिज्ञासा र सिर्जनशीलताको तुलना गर्दै साथीहरूले उनलाई 'आइन्स्टाइन' भनेर सम्बोधन गर्थे ।
६. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण के–के हुन् ?
उत्तर : मानव जातिले वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासमार्फत अनेकौँ उपयोगी आविष्कार गरेको छ । यस्ता आविष्कारले मानव जीवनलाई सहज बनाएका छन्, तर तिनको गलत तथा अनियन्त्रित प्रयोगले जोखिम पनि बढाएको छ । परमाणुयुद्धको सम्भावना, विश्वव्यापी तापक्रम वृद्धि तथा प्रकृतिविरुद्ध भइरहेका मानवीय गतिविधि पृथ्वीमा मानव जीवन खतरामा पर्नुका प्रमुख कारण हुन् ।
(ख) हकिङले मानिसलाई किन कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?
उत्तर : कृत्रिम बुद्धिमत्तायुक्त रोबोट मानवकै वैज्ञानिक विकासको परिणाम हुन् । यस्ता यन्त्रहरूमा मानिसको भन्दा तीव्र स्मरण, विश्लेषण तथा कार्यसम्पादन क्षमता विकास हुँदै गएको छ । भविष्यमा कृत्रिम बुद्धिमत्ता अत्यधिक शक्तिशाली हुँदै गएमा त्यसले मानव नियन्त्रणबाहिर जाने वा मानव अस्तित्वमै चुनौती उत्पन्न गर्ने सम्भावना रहन सक्छ । त्यसैले मानिसले यस्ता प्रविधिको विकास गर्दा सम्भावित जोखिमलाई ध्यानमा राख्नुपर्छ भन्ने उद्देश्यले हकिङले कृत्रिम बुद्धिमत्तापूर्ण रोबोट निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् ।
(क) "दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ ।" यस भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : स्टिफन विलियम हकिङ शारीरिक रूपमा अत्यन्त अशक्त भए पनि आफ्नो ज्ञान, इच्छाशक्ति र निरन्तर कर्मका माध्यमबाट विश्वप्रसिद्ध वैज्ञानिक बनेका व्यक्ति हुन् । सन् १९४२ जनवरी ८ मा जन्मेका हकिङले बाल्यकालदेखि नै जिज्ञासा र सिर्जनशीलतालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाए । पछि उनलाई अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक स्नायुसम्बन्धी रोग लाग्यो । रोग बढ्दै गएपछि उनको हिँडडुल, हातखुट्टाको सञ्चालन तथा बोल्ने क्षमतामा समेत गम्भीर असर पर्यो ।
चिकित्सकहरूले उनको आयु छोटो हुने बताएपछि उनी मानसिक रूपमा निराश भए । तर उनले त्यस अवस्थालाई आफ्नो जीवनको अन्तिम बिन्दु बन्न दिएनन् । क्रमशः लट्ठीको सहारा, ह्विलचेयर तथा अन्य प्रविधिको आवश्यकता परे पनि उनले अध्ययन र अनुसन्धानलाई निरन्तरता दिइरहे । शल्यक्रियापछि आवाज गुमेपछि पनि कम्प्युटर प्रविधिको सहयोग लिएर उनले आफ्ना विचार व्यक्त गर्न, अनुसन्धान गर्न, लेख प्रकाशित गर्न तथा प्रवचन दिन थाले ।
हकिङले आफ्नो शारीरिक अशक्ततालाई कमजोरीका रूपमा मात्र लिएनन् । बरु त्यसलाई आफ्नो बौद्धिक क्षमतालाई अझ गहिरो रूपमा प्रयोग गर्ने अवसरका रूपमा लिए । उनले ब्रह्माण्ड, ब्ल्याकहोल तथा अन्य भौतिकशास्त्रीय विषयमा महत्त्वपूर्ण अनुसन्धान गरे । दर्जनौँ पुस्तक तथा शोधपत्र प्रकाशन गरे र 'अ ब्रिफ हिस्ट्री अफ टाइम' जस्तो चर्चित पुस्तक लेखे ।
उनको जीवनले शारीरिक क्षमता मात्र मानिसको सफलताको आधार होइन भन्ने प्रमाणित गर्छ । इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति बलियो भएमा कठिन रोग तथा प्रतिकूल परिस्थितिलाई समेत चुनौती दिन सकिन्छ । हकिङले आफ्नो जीवनबाट यही कुरा व्यवहारमा प्रमाणित गरे । त्यसैले उनी शारीरिक अशक्ततामाथि विजय प्राप्त गर्ने प्रेरणादायी वैज्ञानिक तथा संसारका लागि आदर्श व्यक्तित्व बने ।
(ख) हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन गरेका योगदानको समीक्षा गर्नुहोस् ।
उत्तर : स्टिफन विलियम हकिङले अत्यन्त कठिन शारीरिक अवस्थाबीच पनि आफ्नो वैज्ञानिक जिज्ञासा र अनुसन्धानलाई निरन्तरता दिई मानव चेतनाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस रोगका कारण उनको शरीर क्रमशः अशक्त हुँदै गए पनि उनको बौद्धिक क्षमता र अनुसन्धानप्रतिको समर्पण कमजोर भएन ।
उनले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौँ शोधपत्र प्रकाशन गरे । सन् १९८८ मा प्रकाशित 'अ ब्रिफ हिस्ट्री अफ टाइम' उनको सर्वाधिक चर्चित कृतिमध्ये एक हो । यस पुस्तकमार्फत उनले जटिल वैज्ञानिक विषयलाई सामान्य पाठकसम्म पुर्याउने प्रयास गरे । उनले ब्रह्माण्डको उत्पत्ति र संरचनाका विषयमा गहिरो अध्ययन गर्दै आफ्ना मौलिक धारणा प्रस्तुत गरे । ब्ल्याकहोलसम्बन्धी उनका विचारले आधुनिक भौतिकशास्त्र र ब्रह्माण्डसम्बन्धी मानव बुझाइलाई थप विस्तार गरे ।
हकिङ वैज्ञानिक मात्र नभई मानव समाजप्रति जिम्मेवार चिन्तक पनि थिए । उनले परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि तथा प्रकृतिविरुद्धका गतिविधिले मानव अस्तित्वमा पार्न सक्ने असरबारे चेतावनी दिए । कृत्रिम बुद्धिमत्तायुक्त रोबोटको विकासमा पनि सम्भावित जोखिमबारे मानिसलाई सावधान रहन आग्रह गरे ।
उनले आफ्ना प्रेरणादायी वक्तव्यबाट मानिसलाई कठिनाइसँग नडराई निरन्तर कर्म गर्न प्रेरित गरे । शारीरिक अशक्ततालाई जीवनको अन्त्य नभई नयाँ सम्भावनाको सुरुवातका रूपमा लिन सकिने उदाहरण उनले आफ्नै जीवनबाट प्रस्तुत गरे । यसरी वैज्ञानिक अनुसन्धान, ज्ञानको प्रसार, मानवहितसम्बन्धी चिन्तन र प्रेरणादायी जीवनदृष्टिका माध्यमबाट हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन उल्लेखनीय योगदान गरे ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको सृष्टि केबाट भएको बताएका छन् ?
=> उत्तर: आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दु (ब्ल्याकहोल) बाट भएको बताएका छन् ।
(ख) वेदमा सृष्टिको कारक केलाई मानिएको छ ?
=> उत्तर: वेदमा सृष्टिको कारक ब्रह्मलाई मानिएको छ ।
(ग) ब्रह्म र क्वान्टम पुञ्जबिच के समानता रहेको छ ?
=> उत्तर: वेदान्त दर्शनमा ब्रह्मलाई सृष्टि, स्थिति र प्रलयको कारक मानिएको छ । त्यसैगरी भौतिकवादी मान्यताअनुसार क्वान्टम पुञ्जको विस्फोटनबाट ब्रह्माण्ड निर्माण हुन्छ र पुनः सङ्कुचन भएपछि त्यो क्वान्टम पुञ्जमै परिणत हुन्छ । यसरी दुवैलाई सृष्टिको उत्पत्ति, स्थिति र अन्त्यसँग सम्बन्धित मानिएको छ ।
(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई के नाम दिइएको छ ?
=> उत्तर: वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई वैदिक ग्रन्थ भनिएको छ ।
व्याकरण
१. पाठको पहिलो अनुच्छेदबाट सामान्यार्थक वाक्य टिप्नुहोस् ।
उत्तर :
शारीरिक रुपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधैँ साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन हुँदैन ।
शक्तित्रयको साथ पाएपछि शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै विषम परिस्थितिमा पनि सिर्जनशील हुँदै ऊ सफलताको शिखर चुम्न सफल हुन्छ ।
त्यस्तो व्यक्ति मानवहितमा समर्पित हुन्छ भने ऊ आफूले गरेका योगदानका कारण समाज विशेषमा मात्र नभई सिङ्गो संसारभरि नै उदाहरणीय बन्न पुग्छ ।
यस्तै शारीरिक स्थिति अत्यन्त नाजुक भए पनि मानवहितका लागि केही गर्ने तीव्र चाहना, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउने व्यक्ति हुन्, स्टिफन विलियम हकिङ ।
नाम सुन्नेबित्तिकै उनको भौतिक रूप देखेका सबैको मानसपटलमा एउटा स्वचालित ह्विलचेयरमा बसेको, टाउको निहुराएको, हातखुट्टा नचल्ने, बोल्न नसक्ने र शारीरिक रुपमा अत्यन्तै अशक्त व्यक्तिको चित्र प्रतिबिम्बित हुन्छ ।
उनले गरेका योगदानका बारेमा थाहा पाएपछि चाहिँ जो कोही छक्क पर्छ ।
२. तलको अनुच्छेदबाट आज्ञार्थक एवम् सम्भावनार्थक वाक्य टिप्नुहोस् र तिनलाई इच्छार्थकमा बदल्नुहोस् ।
आज्ञार्थक वाक्यहरू :
साह्रै बदमासी गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ, तिमी यसरी अल्छी नगर, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाऊ, मूर्ख साथीहरूको पछि नलाग, तिमी सुखी होऊ र सधैँ प्रसन्न बन भन्ने मेरा चाहना छ ।”
इच्छार्थकमा बदल्दा :
साह्रै बदमासी गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ, तिमी यसरी अल्छी नगरे, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाए, मूर्ख साथीहरूको पछि नलागे, तिमी सुखी भए र सधैँ प्रसन्न बने भन्ने मेरा चाहना छ ।”
सम्भावनार्थक वाक्यहरू :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँला, तरकारी बेचुला, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाउँला । आफू बसिरहेको घर भाइलाई दिउँला, त्यसपछि बिहे गरुँला अनि श्रीमतीले पनि मलाई साथ देलिन् । छोराछोरी जन्मलान्, आफूले पढ्न नपाए पनि उनीहरूलाई राम्ररी पढाउँला, पढेपछि जागिर खालान्, काममा पनि सघाउलान् । छोरीले आफ्नी आमालाई सघाउली अनि छोराले चाहिँ मलाई सघाउला । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाउँला अनि जीवन कति मज्जाको हुन्छ होला ।”
इच्छार्थकमा बदल्दा :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँ, तरकारी बेचूँ, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाऊँ । आफू बसिरहेको घर भाइलाई दिऊँ, त्यसपछि बिहे गरुँ, अनि श्रीमतीले पनि मलाई साथ दिऊन् । छोराछोरी जन्मुन्, आफूले पढ्न नपाए पनि उनीहरूलाई राम्ररी पढाऊँ, पढेपछि जागिर खाउन्, काममा पनि सघाउन् । छोरीले आफ्नी आमालाई सघाओस् अनि छोराले चाहिँ मलाई सघाओस् । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाऔँ अनि जीवन कति मज्जाको होओस् ।”
३. दिइएको अनुच्छेदबाट इच्छार्थक वाक्य टिप्नुहोस् र तिनलाई सम्भावनार्थकमा बदल्नुहोस् ।
इच्छार्थक वाक्य :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढुन् र असल व्यक्ति बनुन् र समाजका लागि केही गरून् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा व्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझोस् । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्झोस् । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नछोओस् । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिकोस् । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपरोस् । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होस् । उसभित्र साहस, केही गरूँ र सबै एकआपसमा मिलौँ भन्ने भावना भइरहोस् ।”
सम्भावनार्थकमा बदल्दा :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढ्लान्, असल व्यक्ति बन्लान् र समाजका लागि केही गर्लान् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा व्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझ्ला । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्झला । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नछोला । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिक्ला । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गर्ला । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपर्ला । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होला । उसभित्र साहस, केही गरुँला र सबै एकआपसमा मिलौँला भन्ने भावना भइरहला ।”
४. दिइएको अनुच्छेदबाट सङ्केतार्थक वाक्य टिप्नुहोस् र तिनलाई आज्ञार्थकमा बदल्नुहोस् ।
सङ्केतार्थक वाक्य :
मिहिनेत गरे सफल भइन्छ । काममा लागे असफल पनि हुन सकिन्छ । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमाने विद्वान् बनिन्छ । लडाइँमा हार नमाने विजेता बनिन्छ ।
आज्ञार्थक वाक्यमा बदल्दा :
मिहिनेत गर, सफल होऊ । काममा लाग, असफल पनि हुन सक । लडाइँमा लड, विजय प्राप्त गर । पढाइमा हार नमान, विद्वान् बन । लडाइँमा हार नमान, विजेता बन ।
५. दिइएको अनुच्छेदमा प्रयुक्त करण र अकरण क्रियापद पहिचान गरी टिप्नुहोस् ।
करण क्रियापद :
निस्केका थिए, भने, पुग्छ, सुने, थाले, गरिरहे, भए, चिनिए ।
अकरण क्रियापद :
चाहिँदैन, सकेनन्, भनेनन्, मानेनन्, गरेनन्, सक्दैन ।
६. दिइएका वाक्यलाई सामान्यार्थकमा बदल्नुहोस् ।
उत्तर :
तिमी परिश्रम गर्छौ, आफ्नो क्षमतालाई सिर्जनशील कार्यमा प्रयोग गर्छौ, पढ्ने समयमा पढ्छौ, नबुझेको विषय सोध्छौ र खेल्ने समयमा खेल्छौ । तिमीले मैले भनेका यी कुराहरू जहिलेदेखि मान्छौ र व्यवहारमा उतार्छौ, त्यसपछि नै तिमी सुखी पनि हुन्छौ ।
७. दिइएका वाक्यलाई सङ्केतार्थकमा बदल्नुहोस् ।
आज बादल लागे पानी पर्छ । हामी विद्यालय गयौँ भने पानीमा भिज्छौँ । बाटामा हिलो भए हामी चिप्लिएर लड्न सक्छौँ । यसैले हामी सावधान भएर हिँडे हिलामा पछारिनबाट बच्छौँ ।
८. दिइएको अनुच्छेदमा प्रयुक्त वाक्यका क्रियापदलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् ।
पहिले पहिले म धेरै पढ्थेँ । आरिफ चाहिँ गीत गाउँथ्यो । आजकल म गीत गाउँछु । ऊ चाहिँ खेल्छ । मलाई के लाग्छ भने मानिसको मन सधैँ एकै किसिमको हुन्छ । समाज र समयअनुसार मानिसको मनमा परिवर्तन भइरहन्छ ।
९. इच्छार्थक क्रियापदको प्रयोग गरी 'मैले चाहेको नेपाल' शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तर : मैले चाहेको नेपाल
मैले कल्पना गरेको नयाँ नेपाल स्वर्गभन्दा कम सुन्दर नहोस् । यहाँका सम्पूर्ण जनताले सुख, शान्ति र समृद्धिको अनुभूति गरून् । सम्पूर्ण देश बहुमूल्य वस्तु तथा प्राकृतिक सम्पदाले सुशोभित होओस् । विकासको गति तीव्र होओस् र देशको विकासका लागि जनता वसन्त ऋतुका माहुरीजस्तै सक्रिय भएर लागून् । यहाँका शासक राजा दशरथ र रामचन्द्रजस्ता आदर्शवान् होऊन् । आजका विद्यालय भोलिका मन्दिर बनून् । आजका शिक्षक भोलिका देवता र आजका विद्यार्थी भोलिका भक्तजन बनून् । आजका तिर र चौबाटाका ढुङ्गा भोलि शालिग्राम शिला बनून् । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा हुने अनावश्यक प्रचारबाजी नचलोस् । सम्पूर्ण देशवासी एकलव्यझैँ देश सुरक्षामा लागून् । देश सीताको आदर्शले ओतप्रोत होओस्, सिर्जनामा नयाँ रङ भरियोस् र कमल फुल्ने हिलोमा शान्तिको बीउ छरियोस् ।
१०. दिइएको अनुच्छेदमा पदयोग र पदवियोगमा रहेका गल्ती पहिचान गरी शुद्ध बनाउनुहोस् ।
उत्तर :
म र राजाराम विश्वविद्यालयमा पढ्छौँ । मेरो घर भक्तपुरमा छ । राजारामको घर ललितपुरमा छ । आइतबारदेखि शुक्रबारसम्म हामी पढाइमा व्यस्त हुन्छौँ । शनिबार हामी घुम्न जान्छौँ । हामी कहिले उपत्यकाभित्र र कहिले उपत्यकाबाहिर घुम्न जान्छौँ । राजारामको बानी अनौठो छ । केही गरौँ भन्नु मात्र पर्छ, उसले गरिहाल्नुपर्छ । कुनै कुरा खाऊँ भन्नु मात्रै पर्छ, उसले जसरी नै खानुपर्छ । आउने शनिबार हामी विराटनगर जाने छौँ । त्यहाँ हामी मुख्य–मुख्य सबै ठाउँ पुग्ने छौँ । त्यहाँ मेरा कान्छा बुबाको घर पनि छ । भातसात र वाससासका लागि केही समस्या छैन । यस पटकको यात्रामा मेरो माहिलो भाइ र माथिल्लो घर जेठो पनि सहभागी हुने कुरा छ ।