घनघस्याको उकालो काट्ता
शब्दभण्डार
१. शब्द र अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| सुदूर | धेरै टाढाको |
| स्नेह | माया, प्रेम |
| सँगाल्नु | कुनै कुरा जोगाएर राख्नु |
| अद्वितीय | अतुलनीय |
| सहारा मरुभूमि | संसारको एउटा ठूलो मरुभूमि |
| दृष्टिपात | हेर्ने काम, आँखाले ठम्याउने काम |
| काँचुली | शरीरबाट अलग हुने, सर्पको पातलो छाला |
| अनन्त | कहिल्यै अन्त नहुने |
| गाड | खोलो |
| ढुङ्ग्यानी | ढुङ्गैढुङ्गा भएको |
| विकट | अप्ठेरो, कठिन |
| यथेष्ट | पर्याप्त, चाहिँदो, पुग्दो |
| भयावह | डरलाग्दो |
२. शब्दकोशका आधारमा अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| अररो | जाडाले कक्रिएको, अरट्ठ परेको |
| अग्घोर | ज्यादै, निकै |
| उग्राउनु | गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु |
| चरन | गाईवस्तु चराउने बाँझो जमिन |
| विरहलाग्दो | दुःख लाग्दो |
| कुर्लनु | रिसले कराउनु |
| आकृति | कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार |
| सहृदय | कोमल हृदय भएको, दयालु |
| मरुद्यान | मरुभूमिको रसिलो जमिन |
| यत्रतत्र | जताततै, सबैतिर |
३. टुक्काको प्रयोग गर्दै साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :
उत्तर :
कक्षा ११ मा अध्ययन गरिरहेका बेला परियोजना कार्यका सिलसिलामा म डडेल्धुराको एउटा विकट गाउँमा रहेको साथीको घर गएको थिएँ । घरसम्म पुग्ने बाटो लामो र अप्ठ्यारो भएकाले धेरैबेर पैदल हिँड्दा म लखतरान भएँ । यात्रा गर्दागर्दै अचानक मेघ गर्जियो र मुसलधारे पानी पर्न थाल्यो । वर्षामा भिजेर म निथ्रुक्क भएँ । साथीको घर पुगेपछि उसले आफ्नो ठाउँमा आएको साथीलाई देखेर गर्वका साथ नाक ठाडो पार्यो । केहीबेरपछि खाजा खाएर हामीले आवश्यक परियोजना कार्य पूरा गर्यौँ र काम फत्ते भयो ।
४. स्थानीय भाषिका तथा कथ्य रूपको शुद्ध रूप लेख्नुहोस् :
| स्थानीय/कथ्य रूप | शुद्ध रूप |
|---|---|
| बाटामी | बाटामा |
| गाड | खोला |
| पर्तिर | परतिर |
| पडन्छ | पर्छ |
| अलेलि | अलिअलि |
| जेमराज | यमराज |
बोध र अभिव्यक्ति
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानहरूको नाम लेख्नुहोस् ।
उत्तर :
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. निम्न प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) सेती नदी र घनघस्याबीचको समानता तथा भिन्नता के हो ?
उत्तर :
सेती नदी र घनघस्यालाई दुवैमा रहेको रिसका कारण समान देखाइएको छ । तर तिनीहरूको अवस्थिति फरक छ । सेती नदी भासिँदै गएको देखिन्छ भने घनघस्या भने ठाडोको ठाडै रहेको छ ।
(ख) घनघस्यालाई मानवीकरण गर्न लेखकले कुन-कुन अभिव्यक्ति प्रयोग गरेका छन् ?
उत्तर :
लेखकले घनघस्यालाई मानिसको शरीर, स्वभाव र भावनासँग जोडेर प्रस्तुत गरेका छन् । टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता अभिव्यक्तिले घनघस्यालाई मानवीय रूप प्रदान गरेका छन् ।
५. निम्न प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) घनघस्याको उकालो चढ्दा अन्य ठाउँका सडकलाई लेखकले किन सरापेका हुन् ?
उत्तर :
सुदूरपूर्वको इलाममा जन्मिएका तारानाथ शर्मा वि. सं. २०२४ मा सुदूरपश्चिमको भ्रमणमा निस्किएका थिए । बैतडी हुँदै डडेल्धुरातर्फ जाने क्रममा उनले घनघस्याको निकै कठिन उकालो पार गर्नुपरेको थियो । उक्त उकालोमा पैदल हिँड्दा उनलाई आफूले पहिले यात्रा गरेका सुविधासम्पन्न सडकहरू सम्झना भए ।
उनले जोगबनीदेखि धरानसम्मको सडक, भादगाउँदेखि बाह्रबिसेसम्मको सडक, सिंहदरबार अगाडिको सडक तथा बुटवल–भैरहवा सडकको सम्झना गरेका थिए । ती सडकहरू कालोपत्रे भएका र यातायातको सुविधा भएका थिए । घनघस्यामा भने त्यस्तो सुविधा थिएन । ढुङ्गाले भरिएको कठिन गोरेटोमा पैदल उकालो चढ्नुपर्दा उनलाई निकै कष्ट भयो । त्यसैले सहज सडकको सम्झना गर्दै उनले त्यस्ता सडकलाई सरापेका हुन् ।
(ख) निल आर्मस्ट्रङहरूलाई चन्द्रमामा पुग्दा लेखकलाई जस्तो फिटफिटी किन परेन ?
उत्तर :
लेखकले आफ्नो पैदल यात्राको कठिनाइलाई निल आर्मस्ट्रङहरूको चन्द्रयात्रासँग तुलना गरेका छन् । जोगबनीदेखि धरानसम्मको बाटोमै उनलाई तिर्खा लागेको थियो, पानी पिउन पाएका थिएनन्, पसिनाले शरीर भिजेको थियो र खोकीले समेत सताएको थियो । त्यसपछि घनघस्याको कठिन उकालो पार गर्दा उनको शारीरिक कष्ट अझ बढ्यो ।
निल आर्मस्ट्रङहरू भने चन्द्रमाको यात्राका लागि आवश्यक वैज्ञानिक उपकरण र सामग्रीसहित गएका थिए । आधुनिक वैज्ञानिक साधन तथा आवश्यक सामग्रीको व्यवस्था भएकाले उनीहरूले लेखकले जस्तो अभाव र कठिन पैदल यात्रा सहनुपरेन । त्यसैले उनीहरूलाई चन्द्रमामा पुग्दा लेखकलाई जस्तो फिटफिटी परेन ।
७. यात्राका क्रममा आएका समस्याहरू उल्लेख गर्नुहोस् ।
उत्तर :
घनघस्याको यात्रा अत्यन्त कठिन र चुनौतीपूर्ण थियो । लेखकको शरीर अलिक मोटो भएकाले टोपी खस्ने उकालो चढ्दा उनलाई निकै गाह्रो भएको थियो । उकालो भिरालो तथा ढुङ्गाले भरिएको थियो । वरिपरि जङ्गल भएकाले चितुवा, बाघ र भालुजस्ता जङ्गली जनावरको डर पनि थियो ।
यात्राका क्रममा आवश्यक सुविधा पर्याप्त थिएनन् । कतिपय ठाउँमा खाना र पानीको अभाव सहनुपरेको थियो । खराब गोरेटो र लगातारको उकालोका कारण यात्रुहरू निकै थकित हुन्थे । कहिलेकाहीँ यात्रामा रहेका साथीहरूबीच सम्पर्कसमेत छुट्थ्यो । यति धेरै कठिनाइ, डर र अभावका बाबजुद उनीहरूले हिम्मत नहारी यात्रा निरन्तर अघि बढाए र अन्ततः गन्तव्यमा पुग्न सफल भए ।
८. निम्न भावहरूको विस्तार गर्नुहोस् :
(क) “यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।”
उत्तर :
तारानाथ शर्मा (वि.सं. १९९१) नेपाली साहित्यका प्रसिद्ध निबन्धकार तथा नियात्राकार हुन् । ‘घनघस्याको उकालो काट्ता’ उनको प्रसिद्ध तथा उत्कृष्ट नियात्रा हो । उनी नेपाली नियात्रा विधाका अग्रणी व्यक्तिका रूपमा चिनिन्छन् । सुदूरपश्चिमको यात्राका क्रममा घनघस्याको टोपी खस्ने उकालो तथा त्यहाँको प्राकृतिक वातावरणले उनको मनमा गहिरो प्रभाव पारेको थियो । उनले प्रकृतिलाई मानवीय गुण प्रदान गर्दै आफ्ना अनुभूति र संवेदनालाई निजात्मक शैलीमा व्यक्त गरेका छन् ।
नेपाल हिमाली देश भएकाले हिउँ यहाँको प्राकृतिक तथा राष्ट्रिय पहिचानसँग जोडिएको छ । विदेशीहरू पनि नेपालको हिमाली क्षेत्रमा पुगेर हिउँ हेर्न र त्यसमा रमाउन चाहन्छन् । तर आफ्नै देशका धेरै नेपालीले भने आफ्नै देशको हिउँमा खेल्ने अवसर पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको अनुभव गरिसकेका भए पनि नेपालमा पहिलोपटक सतबा लेकको हिउँमा रमाउने सुनौलो अवसर पाए ।
आफ्नो देशमा देखेको हिउँ लेखकका लागि विशेष आत्मीय थियो । त्यो हिउँमा उनले आफ्नै जन्मभूमिको माया, अपनत्व र हिमाली गौरव अनुभव गरे । त्यसैले उनले त्यसलाई आफ्नो मुटुसँग गाँसेका छन् । लेखक र उनका साथीहरूले लामो समयसम्म हिउँमा खेल्दै रमाइलो गरे । उनीहरूले एकअर्कालाई हिउँका डल्ला हाने, हिउँका थुप्राबाट विभिन्न आकृति बनाए र सतबाँझमा समयलाई जिस्क्याउँदै आनन्द लिए ।
यस अभिव्यक्तिमा हिउँप्रतिको आकर्षण मात्र छैन । यसले मातृभूमिप्रतिको गहिरो प्रेम र अपनत्वसमेत व्यक्त गर्छ । आफ्नै देशको प्रकृतिमा प्राप्त भएको आनन्दले लेखकको मनमा स्वच्छ, उज्यालो र आत्मीय देशप्रेम जागृत भएको देखिन्छ ।
(ख) “प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।”
उत्तर :
तारानाथ शर्मा (वि.सं. १९९१) प्रसिद्ध निबन्धकार तथा नियात्राकार हुन् । ‘घनघस्याको उकालो काट्ता’ उनको चर्चित नियात्रा हो । नेपाली नियात्रा साहित्यको विकासमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । यस कृतिमा उनले सुदूरपश्चिमको यात्रा गर्दा अनुभव गरेका कठिनाइ, प्राकृतिक सौन्दर्य र व्यक्तिगत अनुभूतिलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।
‘ह्याकुला’ भन्नाले छाती बुझिन्छ । लेखक प्रकृतिका कठिनाइसँग जुध्नुलाई जीवनको रमाइलो अनुभव मान्छन् । प्रकृतिले प्रस्तुत गर्ने चुनौतीबाट भाग्नुको सट्टा त्यसलाई सामना गर्दा जीवनमा नयाँ अनुभूति र आनन्द प्राप्त हुन्छ भन्ने विश्वास उनले हृदयमा बोकेका थिए । यही विचारका साथ उनी सुदूरपश्चिमको भ्रमणमा निस्किएका थिए ।
उनी विभिन्न प्राकृतिक स्थानमा पुगेर त्यहाँको सौन्दर्य अनुभव गर्न चाहन्थे । खप्तडमा वसन्त बिताउने, तुम्लिङमा हिउँ खेल्ने तथा राजापुरको काँसेघारीमा झ्याउरे गाउने उनको इच्छा थियो । तिल्केनीको उकालो, घनघस्याको उकालो, चन्दनीको उकालो, अघोरी गाड, पुवा खोला, टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो र चन्द्रागिरिप्रति उनको विशेष आकर्षण थियो ।
यसरी लेखकका लागि प्राकृतिक कठिनाइ जीवनको बोझ होइन, अनुभव र आनन्दको माध्यम हो । उकालो–ओरालो, हिउँ, जङ्गल र दुर्गम बाटासँग जुध्दै प्रकृतिको काखमा रमाउनु नै जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने भाव यस भनाइमा व्यक्त गरिएको छ ।
गद्यांशमा आधारित प्रश्नोत्तर
९. गद्यांशका आधारमा उत्तर दिनुहोस् ।
(क) दूतावासको मुख्य काम के हो ?
उत्तर :
दूतावासले विदेशमा रहेका नेपाली नागरिकका समस्या र गुनासा सुन्छ तथा तिनको समाधानका लागि आवश्यक सल्लाह र सहयोग प्रदान गर्छ ।
(ख) दूतावासलाई आमासँग तुलना गर्नुको कारण के हो ?
उत्तर :
आमाले आफ्ना सन्तानलाई दुःख पर्दा उनीहरूको समस्या हटाउन दिनरात प्रयास गर्छिन् । त्यसैगरी दूतावासले पनि विदेशमा रहेका नेपाली नागरिकलाई समस्या पर्दा उनीहरूको कुरा सुनेर आवश्यक सल्लाह तथा सहयोग गर्छ । यही समान अभिभावकीय भूमिकाका कारण दूतावासलाई आमासँग तुलना गरिएको हो ।
(ग) दूतावास नभएका देशमा नेपाली नागरिकले कस्ता समस्या भोग्छन् ?
उत्तर :
दूतावास नभएको देशमा नेपाली नागरिकले आफ्ना समस्या, गुनासा र मनका पीरमर्का राख्ने उचित स्थान पाउन कठिन हुन्छ । समस्या पर्दा आवश्यक सहयोग तथा परामर्श प्राप्त गर्न पनि उनीहरूलाई असहज हुन्छ ।
(घ) लेखकले कतारमा कसरी काम गरेका थिए ?
उत्तर :
लेखकले कतारमा रहेका व्यक्तिहरूका समस्या ध्यान दिएर सुन्थे । उनीहरूको अवस्था बुझेर सम्भव भएसम्म सान्त्वना दिन्थे र सम्झाइ–बुझाइ गरी समस्या समाधानतर्फ अघि बढ्न सहयोग गर्थे ।
आर्थिक विकाससम्बन्धी प्रश्नोत्तर
१०. गद्यांशका आधारमा उत्तर दिनुहोस् ।
(क) औद्योगिक क्षेत्रको योगदान बढाउन के गर्नुपर्छ ?
उत्तर :
औद्योगिक क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान वृद्धि गर्न स्वदेशी तथा विदेशी पुँजी परिचालन गर्नुपर्छ ।
(ख) गरिबी न्यूनीकरणका लागि के गर्नुपर्छ ?
उत्तर :
कुटिर, घरेलु तथा साना उद्योगहरूको संरक्षण र प्रवर्धन गर्नुपर्छ । यस्ता उद्योगमार्फत रोजगारीका अवसर सिर्जना गर्नुपर्छ र नेपाली वस्तु उत्पादनमा जोड दिनुपर्छ ।
(ग) अर्थतन्त्रलाई सुदृढ बनाउन कुन-कुन उपाय अपनाउनुपर्छ ?
उत्तर :
गरिबी न्यूनीकरण गर्नुका साथै नेपाली वस्तु तथा सेवामा लगानी गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्छ । स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ र निर्यात प्रवर्धनमा समेत जोड दिनुपर्छ ।
(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उत्तर :
खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । साथै प्रचलित ऐन तथा नियमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।
व्याकरण
१. लिङ्ग सङ्गति मिलाएर अनुच्छेद पुनर्लेखन गर्नुहोस् ।
उत्तर :
हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरा छोरा सानै छन् । तिम्रा छोरा पनि सानै छन् । मेरी छोरी विद्यालयमा पढ्छिन् । तिम्री छोरी पनि विद्यालयमा पढ्छिन् । मेरा एउटा भाइ छन् । तिम्री एउटी बहिनी छिन् । मेरी एउटी दिदी हुनुहुन्छ । तिम्रा एउटा दाजु हुनुहुन्छ ।
२. वचन सङ्गति मिलाएर अनुच्छेद पुनर्लेखन गर्नुहोस् ।
उत्तर :
डोल्मा, रामलाल, महेश र म पुस्तकालय गयौँ । पुस्तकालयमा धेरै पुस्तक थिए । मैले पत्रिका पढ़ें । डोल्माले कविता पढिन् । रामलाल र महेशले उपन्यास पढे । पुस्तकालयमा अरु धेरै जना विद्यार्थी थिए । सबै जना पढ्दै थिए । दराजभरि पुस्तकहरू थिए । केही पुस्तक भुइँमा थिए । एउटा पुस्तक भुइँमा झरेको थियो । त्यसको अगाडिको गाता च्यातिएको थियो । मैले त्यो पुस्तक उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दिएँ । व्यवस्थापन शाखाका कर्मचारीहरुले मलाई धन्यवाद दिए ।
३. पुरुष सङ्गति मिलाएर अनुच्छेद पुनर्लेखन गर्नुहोस् ।
उत्तर :
म तिमी र विश्वराज छिमेकी हाँ । म बिहान सबेरै उठ्छु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठ्छ । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।
४. आदर सङ्गति मिलाएर अनुच्छेद पुनर्लेखन गर्नुहोस् ।
उत्तर :
हाम्रो घरमा मेरा मामा आउनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुन्छिन् । तिमी पनि मेरा मामालाई भेट्न आऊ है ।
५. लिङ्ग परिवर्तन गर्नुहोस् ।
उत्तर :
मेरा बुबा ७८ वर्ष हुनुभयो । मेरी आमा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दाइ, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । मेरी श्रीमती असल र दयालु हुनुहुन्छ । मेरा घरमा दुईओटा गाई, एउटा भैँसी र केही बाख्रा पनि छन् । मसँग एक दर्जन कुखुराका पोथी छन् ।
६. वचन परिवर्तन गर्नुहोस् ।
उत्तर :
ऊ घर गयो । घरमा उसकी दिदी थिइन् । उसका दाजुहरू काममा गएका थिए । त्यही वेला उसको साथी पनि टुप्लुक्क आइपुग्यो । उसको आवाज सुनेर गोठको भैँसी पनि करायो । बाख्रो पनि म्याँम्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उसको नजिकै आएर सुँघ्न थाल्यो ।
७. तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
उनको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उनको सातोपुत्लो उड्छ । तेर्सो र ओरालो बाटामा उनी निकै छिटो हिँड्न सक्छन् तर उकालो भने उनका लागि जेमराज जत्तिकै भयावह हुन्छ । उनी विवश थिएँ, उनले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँका उखु पहिले टेक्ते र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।
८. मध्यम आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
तिमी मिहिनेती छौ । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।
९. सामान्य आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरू किताब पढ, लेखहरू लेख ।
१०. उच्च आदरमा परिवर्तन गर्नुहोस् ।
उत्तर :
उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाँहरू फेवाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाँहरूका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उहाँहरू घर फर्किनुहुन्छ ।
११. 'ब' र 'व' प्रयोग भएका शब्द छुट्याएर लेख्नुहोस् ।
| 'ब' प्रयोग भएका शब्दहरू | 'व' प्रयोग भएका शब्दहरू |
|---|---|
| बस्तीका | अवसर |
| बाहिरतिर | वन |
| बारी | वरपर |
| बिल्छ | वर्षा |
| बतास | हावा |
| बिहान | पर्व |
| बेलुका | उत्सव |
| सबै | |
| बजार | |
| यसबाहेक | |
| बिहेबटुलो |