Class 8nepali
Verified Exam Solutions

साकार सपना ( Sakar Sapana )

8 nepali - साकार सपना ( Sakar Sapana )

Comprehensive Note9 min readSEE / NEB Aligned1240 Reads
Font Size:

📖 साकार सपना

शब्दभण्डार

२. दिइएका पर्यायवाची शब्दबिच जोडा मिलाउनुहोस् :

शब्दपर्यायवाची शब्द
उचितउपयुक्त
सुनसानएकान्त
चलाखबाठो
आभूषणगहना
क्रोधरिस
उद्यानबगैँचा
हावापव

३. दिइएका अर्थ आउने शब्द ‘साकार सपना’ कथाबाट खोजेर लेख्नुहोस् :

दिइएको अर्थकथाबाट खोजिएको शब्द
(क) राय, सुझावसल्लाह
(ख) होसहवास हराउनुसातोपुत्लो उड्नु
(ग) हैकम जमाउने कामप्रभुत्व
(घ) सत्यानाश पार्नुसखाप
(ङ) बाटामा बरपिपलको वरिपरि बस्न हुने गरी बनाइएको ठाउँचौतारी

४. ‘साकार सपना’ कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

दिइएको शब्दपर्यायवाची शब्दवाक्यमा प्रयोग
सैनिकसेनानेपाली सेना विश्वमै बहादुर मानिन्छ ।
हस्तहातकसैसँग पनि हात फैलाएर माग्नु राम्रो बानी होइन ।
जितविजयप्राय: युद्धमा नेपालीले विजय हासिल गरेको देखिन्छ ।
चिह्नप्रतीकखुकुरी नेपालीहरूको वीरताको प्रतीक हो।
लालरातोनेपालीको रातो, चन्द्र र सूर्य जङ्गी निशान हो ।
तारिफप्रशंसाराम्रो कामको सबैले प्रशंसा गर्छन् ।
स्वप्नसपनाहामीले सपना पूरा गर्न सक्ने मात्र देख्नुपर्छ ।

📝 बोध तथा अभिव्यक्ति

३. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) कथाअनुसार नेपाल खाल्डामा को बस्थ्यो ?
=> उत्तर: कथाअनुसार नेपाल खाल्डामा केपुचिन पादरी बस्थे ।

(ख) नेपाल खाल्डो देखाउने जिम्मा कसले लियो ?
=> उत्तर: नेपाल खाल्डो देखाउने जिम्मा रामदास वैरागीले लियो ।

(ग) गोरखाली सेनाले अर्नालाई के गरेर जङ्गलमा छाडिदिए ?
=> उत्तर: गोरखाली सेनाले अर्नाको सिङमा राँको बालेर त्यसलाई जङ्गलमा छाडिदिए ।

(घ) किनलक ज्यान जोगाउन कतातिर लागे ?
=> उत्तर: किनलक ज्यान जोगाउन जनकपुरतिर लागे ।

(ङ) कथामा कतिओटा अनुच्छेद छन्, दोस्रो अनुच्छेदमा भएका वाक्य सङ्ख्यासमेत भन्नुहोस् ।
=> उत्तर: कथामा एक्काइसओटा अनुच्छेद छन् । दोस्रो अनुच्छेदमा चारओटा वाक्य छन् ।

५. दिइएका भनाइ ‘साकार सपना’ कथाका आधारमा कसले कसलाई भनेको हो, भन्नुहोस् ।

भनाइकसले कसलाई भनेको हो
(क) यसमा के के छ ? मलाई सबै बुझाऊ ।गोल्डिङले आफ्ना सेक्रेटरीलाई
(ख) महाराज गौराङ्गको पत्र आएको छ ।द्वारेले पृथ्वीनारायण शाहलाई
(ग) पहाडका मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् ।किनलकले रम्बोल्डलाई
(घ) मेरो सपना तिमीहरूले पूरा गर्यो ।पृथ्वीनारायण शाहले वंशु गुरुङलाई

६. ‘साकार सपना’ कथाका आधारमा दिइएका घटनाक्रमको क्रम मिलाएर लेख्नुहोस् :

क्रमघटना
(क) जयप्रकाश मल्लको दिमागमा खतराको घण्टी बजेको
(ख) पादरीले अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिएको
(ग) सेक्रेटरीले पत्र पढाएर सुनाएका
(घ) गोल्डिङले दाहिने हातले टेबुलमा ठोकेको
(ङ) तिब्बत हुँदै चीनसम्म व्यापार बढाउने सोचेका
(च) पृथ्वीनारायण शाहले पत्र खोलेर हेरेका
(छ) कुहिरो लागेकाले बाटो हिँड्न सहज नभएको
(ज) गोरखाली सेनाले रातभरि अङ्ग्रेजलाई लखेटिरहेका
(झ) गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुगेका

७. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) कथामा केपुचिन पादरीले जयप्रकाश मल्ललाई कस्तो सल्लाह दिए ?

उत्तर :
कीर्तिपुर गोरखालीहरूको अधीनमा गएपछि जयप्रकाश मल्ललाई आफ्नो राज्यको भविष्यप्रति चिन्ता भयो । उनले भक्तपुर र ललितपुरका राजासँग सहयोगका लागि छलफल गरे पनि ठोस उपाय पाउन सकेनन् । त्यसपछि नेपाल खाल्डामा रहेका केपुचिन पादरीसँग गोरखालीहरूको योजना रोक्ने उपायबारे सल्लाह लिए । पादरीले गोरखाली सेनाको सामना गर्न अङ्ग्रेजसँग सैनिक सहयोग माग्न सुझाव दिए । यही सल्लाहअनुसार जयप्रकाश मल्लले अङ्ग्रेजको सहायता लिन खोजे ।

(ख) पृथ्वीनारायण शाहले हेरेको पत्रमा के लेखिएको थियो ?

उत्तर :
पृथ्वीनारायण शाह आफ्ना विश्वासपात्रहरूसँग आफूले देखेको सपनाबारे छलफल गरिरहेका बेला द्वारेले अङ्ग्रेजबाट आएको पत्र उनलाई दिए । पत्र खोलेर हेर्दा मल्ल राजामाथि लगाइएको नाकाबन्दी हटाउन भनिएको रहेछ । साथै, नाकाबन्दी नहटाए गोरखालाई शत्रु घोषणा गर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो ।

(ग) मकवानपुरका राजाले आफ्नो राज्यलाई शत्रुबाट कसरी सुरक्षित गरेका थिए ?

उत्तर :
मकवानपुर सिन्धुलीगढीको नजिक रहेको राज्य थियो । त्यहाँका राजाले शत्रुको प्रवेश रोक्न राज्यको सिमानामा सिस्नुका घना झाडी राख्ने व्यवस्था गरेका थिए । शत्रुले आक्रमण गरेमा अरिङ्गाल र बच्छिउँका गोला बिच्काएर उनीहरूलाई आतंकित बनाउने उपाय पनि अपनाइन्थ्यो । यसरी प्राकृतिक साधनलाई समेत सुरक्षाको माध्यम बनाइएको थियो ।

(घ) यस कथाबाट कस्तो शिक्षा पाइन्छ ?

उत्तर :
‘साकार सपना’ ऐतिहासिक घटनामा आधारित कथा भएकाले यसले नेपाल एकीकरणको समयको वीरतापूर्ण प्रसङ्ग प्रस्तुत गर्छ । गोरखाली सेनाले सीमित साधन हुँदाहुँदै अङ्ग्रेज फौजसँग साहसपूर्वक सामना गरेको घटनाले उनीहरूको राष्ट्रप्रेम र दृढ सङ्कल्प देखाउँछ । राष्ट्र र राष्ट्रियताको हितमा देखिएको सपना व्यक्तिगत प्रयासले मात्र होइन, सामूहिक सहयोग र समर्पणबाट पनि पूरा गर्न सकिन्छ भन्ने सन्देश कथाले दिन्छ ।

८. ‘साकार सपना’ कथाको पात्र गोल्डिङको चरित्र चित्रण गर्नुहोस् ।

उत्तर :
गोल्डिङ ‘साकार सपना’ कथामा नकारात्मक भूमिकामा प्रस्तुत भएको महत्त्वपूर्ण पात्र हो । उसले कथाको द्वन्द्वलाई अघि बढाउन पनि भूमिका खेलेको छ । गोल्डिङ आफ्नो देश र अङ्ग्रेजहरूको हितलाई प्राथमिकता दिने स्वार्थी प्रवृत्तिको व्यक्ति हो । उसको उद्देश्य मल्ल राजालाई सहयोग गर्ने बहानामा नेपालमा आफ्नो प्रभाव विस्तार गर्नु र तिब्बत हुँदै चीनसम्म व्यापार बढाउनु रहेको देखिन्छ । यही स्वार्थका कारण उसले पृथ्वीनारायण शाहलाई धम्कीपूर्ण पत्र पठाउँछ । यसरी गोल्डिङ कथामा पृथ्वीनारायण शाहको एकीकरण अभियानको विरोध गर्ने नकारात्मक पात्रका रूपमा देखिन्छ ।

९. व्याख्या गर्नुहोस् :

“पहाडमा मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् ।”

उत्तर :

प्रस्तुत भनाइ गणेशप्रसाद भट्टराईद्वारा रचित ऐतिहासिक कथा ‘साकार सपना’बाट लिइएको हो । गोरखाली फौजसँगको युद्धमा पराजित भई ज्यान जोगाएर भागेका किनलकले थप सहयोगका लागि रम्बोल्डलाई लेखेको पत्रका क्रममा यो भनाइ व्यक्त गरेका हुन् ।

मल्ल राजालाई सहायता गर्न आएको अङ्ग्रेज फौजलाई गोरखालीहरूले आफ्नो विशेष युद्धकौशल प्रयोग गरेर सामना गरेका थिए । अङ्ग्रेजहरूसँग आधुनिक हातहतियार भए पनि गोरखाली फौजले स्थानीय परिवेश र उपलब्ध साधनलाई युद्धको रणनीतिमा उपयोग गर्‍यो । उनीहरूले अचानक आक्रमण गर्नुका साथै मातेको अर्नाको सिङमा राँको बालेर जङ्गलमा छाडिदिए । अरिङ्गाल र बच्छिउँका गोला बिच्काइदिए तथा सिस्नुको प्रयोगबाट पनि शत्रुलाई हैरान बनाए ।

यस प्रकार गोरखालीहरूले मानिसको मात्र शक्ति प्रयोग नगरी जङ्गलका जनावर, किरा र बिरुवासमेत युद्धका साधनका रूपमा उपयोग गरे । अप्रत्याशित र अनौठो युद्धनीतिका कारण अङ्ग्रेज फौज त्रसित भयो र उनीहरूलाई ज्यान जोगाएर भाग्नुपर्‍यो । त्यसैले किनलकले पहाडमा मानिससँगै जनावर, किरा र बिरुवाले समेत लडाइँ गरेको अनुभव व्यक्त गरेका हुन् ।

यस भनाइमार्फत कथाकारले गोरखालीहरूको बुद्धिमत्तापूर्ण युद्धनीति, साहस र स्थानीय प्राकृतिक साधनको प्रभावकारी प्रयोगलाई स्पष्ट पारेका छन् ।

१०. ‘साकार सपना’ कथाको सार लेख्नुहोस् ।

उत्तर :

पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्ल आफ्नो राज्यको सुरक्षाबारे चिन्तित हुन्छन् । भक्तपुर र ललितपुरसँग सहयोगको कुरा गर्दा पनि अपेक्षित उपाय ननिस्किएपछि नेपाल खाल्डामा रहेका केपुचिन पादरीसँग सल्लाह लिइन्छ । पादरीले गोरखालीहरूको सामना गर्न अङ्ग्रेजसँग सैनिक सहयोग माग्न सुझाव दिन्छन् । यही आधारमा मल्ल राजाले अङ्ग्रेजको सहायता माग्छन् ।

अङ्ग्रेज पक्षले मल्ल राजालाई सहयोग गर्ने निर्णय गर्छ । गोल्डिङले यस अभियानबाट आफ्नो खर्चसमेत नलाग्ने र तिब्बत हुँदै चीनसम्म व्यापार विस्तार गर्ने अवसर मिल्ने कुरा सोच्छ । अर्कोतर्फ पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूको गतिविधिबारे जानकारी पाइरहेका हुन्छन् । अङ्ग्रेजबाट आएको धम्कीपूर्ण पत्र पढेपछि उनले त्यसलाई च्यातेर अँगेनामा हालिदिन्छन् ।

अङ्ग्रेज फौज सिन्धुलीगढीको बाटो हुँदै नेपाल प्रवेश गर्छ । कुहिरोका कारण उनीहरूलाई यात्रा गर्न कठिन हुन्छ । यही अवसरमा गोरखाली सेनाले उनीहरूमाथि आक्रमण गर्छ । अर्ना, अरिङ्गाल र बच्छिउँको प्रयोग गर्नुका साथै अन्य स्थानीय साधन उपयोग गरेर गोरखालीहरूले अङ्ग्रेज फौजलाई अस्तव्यस्त बनाउँछन् । रातभरि उनीहरूलाई लखेटेपछि गोरखाली सेना हतियारसहित पृथ्वीनारायण शाहकहाँ पुग्छ । आफ्नो सपना पूरा भएकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।

११. ‘साकार सपना’ कथामा के पृथ्वीनारायण शाहको सपना पूरा भयो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।

उत्तर :

गणेशप्रसाद भट्टराईको ‘साकार सपना’ ऐतिहासिक पृष्ठभूमिमा रचिएको कथा हो । नेपाल एकीकरणसँग सम्बन्धित घटनालाई आधार बनाएर यसले राष्ट्रिय चेतना र गोरखालीहरूको वीरतालाई प्रस्तुत गरेको छ । कथाको केन्द्रमा पृथ्वीनारायण शाहको सपना र त्यसलाई पूरा गर्न गोरखाली फौजले गरेको प्रयास रहेको छ ।

पृथ्वीनारायण शाहले मल्ल राजा र अङ्ग्रेजबीच भइरहेका गतिविधिबारे जासुसीमार्फत जानकारी प्राप्त गरिरहेका थिए । अङ्ग्रेज फौज मल्ल राजालाई सहयोग गर्न आएमा त्यसको प्रतिरोध कसरी गर्ने भन्ने विषयमा उनले योजना बनाएका थिए । यही क्रममा उनले आफूले देखेको राम्रो सपनाका विषयमा आफ्ना विश्वासपात्रहरूसँग कुरा गरेका थिए ।

पछि द्वारेले अङ्ग्रेजबाट आएको धम्कीपूर्ण पत्र ल्याएपछि पृथ्वीनारायण शाहले त्यसलाई पढे । पत्रमा मल्ल राजामाथिको नाकाबन्दी हटाउन दबाब दिइएको थियो र नमानिए गोरखालाई शत्रु घोषणा गर्ने चेतावनी दिइएको थियो । उनले पत्र च्यातेर अँगेनामा हालिदिए ।

त्यसपछि सिन्धुलीगढी हुँदै अङ्ग्रेज फौज नेपाल प्रवेश गर्‍यो । प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच गोरखाली सेनाले अङ्ग्रेजमाथि आक्रमण गर्‍यो । अर्ना, अरिङ्गाल र बच्छिउँजस्ता प्राकृतिक साधनको समेत उपयोग गर्दै गोरखालीहरूले अङ्ग्रेज फौजलाई पराजित गरी रातभरि लखेटे । अन्ततः गोरखाली सेना हतियारसहित पृथ्वीनारायण शाहकहाँ पुग्यो ।

यस घटनाबाट पृथ्वीनारायण शाहले देखेको सपना वास्तविकतामा परिणत भएको स्पष्ट हुन्छ । वंशु गुरुङ, वंशराज पाण्डे, वीरभद्रलगायत विश्वासपात्र र गोरखाली फौजको सहयोगले उनको उद्देश्य सफल भयो । त्यसैले आफ्नो सपना साकार पार्न सहयोग गर्ने गोरखाली फौजप्रति पृथ्वीनारायण शाहले प्रशंसा व्यक्त गरेका छन् ।

१२. दिइएको चित्र वर्णन गर्नुहोस् :

उत्तर :

दिइएको चित्रमा दुई पक्षका फौजहरू हातहतियारसहित आमनेसामने भएको दृश्य देखिन्छ । दुवै पक्षका सिपाहीहरू युद्धका लागि तयारी अवस्थामा रहेका छन् । चित्रको मध्यभागमा रहेको पिपलको रूखमुनि बुद्धजस्तै देखिने एक व्यक्ति बसेको देखिन्छ । समग्र दृश्यले दुई फौजबीच हुन लागेको युद्धको अवस्थालाई प्रस्तुत गरेको छ ।