Class 8nepali
Verified Exam Solutions

पदमार्ग ( Padmarga )

8 nepali - पदमार्ग ( Padmarga )

Comprehensive Note10 min readSEE / NEB Aligned1240 Reads
Font Size:

📘 Unit–7 : पदमार्ग

अभ्यास

📚 शब्द भण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

शब्दअर्थ
साँचोसत्य, ताल्चा खोल्ने साधन
नगरनिषेध, सहर
हारपराजय, माला
कलमलेख्ने साधन, कलमी
अर्थधन, मतलब
गोलबाटुलो, अँगा
मासदालको एक प्रकार, महिना
जालझेल, पासो

२. दिइएका शब्दको अर्थ साथीसँग छलफल गरी लेख्नुहोस् :

शब्दअर्थ
संयोगअकस्मात् हुने मिलन, अवसर, मौका
पैदलगोडाले, खुट्टाले
अपरिहार्यअत्यावश्यक, अनिवार्य
वर्णनक्रमबद्ध रूपमा वा विस्तारपूर्वक कथन, बेलीविस्तार
जनविश्वासजनताको विश्वास वा भरपत्यार
समाधिमानसिक एकाग्रता, साधना, चिहान
व्यापकसर्वत्र फिँजिएको
खाद्यान्नधान, मकै, गहुँ आदि खाइने अन्न
खरिदकिन्ने काम, किनमेल

३. दिइएका शब्दको एकभन्दा बढी अर्थ खोजी लेख्नुहोस् :

शब्दएकभन्दा बढी अर्थ
असारसार नभएको, आषाढ
हातहस्त, अधिकार
कलकलह, यन्त्र
खरीखरो स्वभाव भएकी स्त्री, एक जातको रुख, सिलोट, धुलौटो आदिमा लेख्ने सेतो नरम पत्थर
तालपटक, ठुलो पोखरी, नाचगानको ढङ्ग
दरतिजका अघिल्ला रात स्त्रीहरूले खाने भोजन, भाउ
उत्तरजबाफ, चार दिशामध्ये एक दिशा

४. शब्दकोशबाट पाँचओटा अनेकार्थी शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

अनेकार्थी शब्दवाक्यमा प्रयोग
रहरमलाई रहरको दाल खाने रहर थियो । सीताले रहरको दाल किनिन् । मलाई पोखरा जाने रहर छ ।
खोटोखोटो भाग्य सल्लाको खोटो निकालेर चम्किँदैन ।
करकर तिर्न सरकार लगायत सबैले कर गर्नुपर्छ ।
कछाडरामको बुबा कछाड लगाएर कछाडतिर जानुभयो ।
टीकारातो टीका लगाएर टीकाटिप्पणी गरेको उसलाई राम्रो सुहायो ।

५. दिइएका शब्द प्रयोग गरी ‘परिश्रम’ शीर्षकमा एक अनुच्छेद लेख्नुहोस् :

उत्तर :

परिश्रम
जीवनमा उपलब्धि हासिल गर्न निरन्तर परिश्रम आवश्यक हुन्छ । कुनै पनि व्यवसाय वा काम सफल हुनुका पछाडि मेहनतको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीले आफ्नै स्थानीय क्षेत्रमा सम्भावना खोजेर परिश्रमपूर्वक काम गर्न सके बेरोजगारी घटाउन सकिन्छ । त्यसैले युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण निर्माण गर्न सरकारले पनि आवश्यक प्रोत्साहन दिनुपर्छ । आफ्नै परिचित पर्यावरणमा रहेर काम गर्दा अपनत्वको अनुभूति हुन्छ । पछिल्लो समय विद्यालय परिसरमा समेत दक्ष जनशक्तिको आवश्यकता बढिरहेको छ । तर हामीले परिश्रमलाई दुःख ठानेर रोजगारीको खोजीमा विदेश जाने प्रवृत्ति अपनाएका छौँ ।


🗣️ बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

व्यवसायी, बेलाबखत, शुभारम्भ, दाँतरी, भौगोलिक, छाँगाछहरा, भूस्वर्ग, हिमशृङ्खला, रीतिरिवाज, लेकबैँसी, अविस्मरणीय

३. ‘पदमार्ग’ संवाद पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) पदयात्रामा कुन कुन पक्षको जानकारी पाउन सकिन्छ ?

=> उत्तर: पदयात्राका क्रममा प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षबारे जानकारी लिन सकिन्छ ।

(ख) पदयात्रामा सिम्रौनगढको परिवेश कस्तो छ ?

=> उत्तर: सिम्रौनगढ ऐतिहासिक र धार्मिक महत्त्व बोकेको स्थल हो । तर त्यहाँका ऐतिहासिक सम्पदा पर्याप्त रूपमा संरक्षण हुन नसकेको अवस्था देखिन्छ ।

(ग) बडिमालिका कहाँ पर्छ ?

=> उत्तर: बडिमालिका बाजुरा जिल्लामा पर्छ ।

(घ) साथीबिच कसरी घनिष्ठता बढ्छ ?

=> उत्तर: साथीहरू एकअर्काको घरमा कम्तीमा वर्षमा एकपटक पुग्ने र भेटघाट गर्ने गरेमा उनीहरूबिचको सम्बन्ध अझ घनिष्ठ हुन्छ ।

(ङ) ‘सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेर हाम्रो अभियान शुभारम्भ गरौँ’ भनाइ कसले भनेको अनुच्छेदमा छ ?

=> उत्तर: ‘सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेर हाम्रो अभियान शुभारम्भ गरौँ’ भन्ने भनाइ आङरिताको हो ।

४. ‘पदमार्ग’ संवाद पढी दिइएका भनाइ कुन कुन पात्रका हुन् ? भन्नुहोस् ।

भनाइपात्र
(क) घरपरिवारलाई पनि समय दिनैपर्यो ।सुप्रभाको भनाइ
(ख) संयोगले हाम्रो दाँतरी मुलुकको पूर्व, पश्चिम, उत्तर र दक्षिणका परेछौँ ।सुप्रभाको भनाइ
(ग) मैले पोहोर साल अन्नपूर्ण आधार शिविरसम्मको भ्रमण गरेको थिएँ ।ईश्वरको भनाइ
(घ) होमस्टे सञ्चालनका लागि स्थानीय व्यक्तिलाई तालिम दिनुपर्छ ।आङरिताको भनाइ
(ङ) अब सोच्नेभन्दा पनि समय मिलाउने हो ।सुप्रभाको भनाइ

५. ‘पदमार्ग’ संवादको ‘मैले केही समयअगाडि ….. मन नै कटक्क भयो ।’ संवादांश जस्ताको त्यस्तै लेख्नुहोस् ।

उत्तर :

मैले केही महिनाअगाडि सिम्रौनगढको सफर गरेकी थिएँ । सिम्रौनगढ बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ । वीरगन्जबाट सिम्रौनगढको पैदल यात्रा गर्ने हो भने एक दिन हिँड्नुपर्छ । प्राचीन तिरहुत क्षेत्रमा अवस्थित यो राज्य नान्यदेवले स्थापना गरेका रहेछन् । सिम्रौनगढको गढ परिसरमा कङ्काली माई, शिवलिङ्ग, रानीबास, विष्णु मन्दिर, मन्साराम बाबाको समाधि आदि दर्शनीय कुरा छन् । त्यहाँको रानीबास मन्दिर त जङ्गबहादुरका छोरा जितजङले आफ्ना पिताको स्मृतिमा निर्माण गरेका रहेछन् । सिम्रौनगढका पुरातात्त्विक वस्तुको संरक्षण नभएको देख्दा मन नै कटक्क भयो ।

६. ‘पदमार्ग’ संवाद पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) कस्ता स्थानमा पदयात्रा गर्न सकिन्छ ?

=> उत्तर: हिमाल, पहाड र तराईका विभिन्न ठाउँमा पदयात्रा गर्न सकिन्छ । विशेषतः प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका स्थानहरू यसका लागि उपयुक्त हुन्छन् । पदयात्राका क्रममा लेकबेंसी, गाउँघर, भन्ज्याङचौतारी, छाँगाछहरा, वनपाखा र हिमालका आकर्षक दृश्यहरू नियाल्न पाइन्छ ।

(ख) अन्नपूर्ण पदमार्गका विशेषता के के हुन् ?

=> उत्तर: अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्न सामान्यतः दुईतीन हप्ता लाग्छ । यसको सुरुआत लमजुङको बेंसीसहरबाट हुन्छ र खुद्री, बाहुनडाँडा, धारापानी, चामे, मनाङ तथा थोराङ ला पास हुँदै मुक्तिनाथ पुगिन्छ । फर्कँदा मार्फा, लेते र तातोपानीका रमणीय दृश्यहरू देख्न सकिन्छ । अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमालको मनमोहक दृश्यले यात्रालाई भूस्वर्गको अनुभूति गराउँछ । यो विश्वप्रसिद्ध पदमार्गमध्ये एक हो ।

(ग) विदेशी किन नेपालको पर्वतीय पदयात्राप्रति आकर्षित छन् ?

=> उत्तर: नेपालको पर्वतीय क्षेत्र प्राकृतिक सौन्दर्यका कारण विश्वभर परिचित छ । हिमाली दृश्यहरूले पर्यटकलाई आकर्षित गर्नुका साथै यहाँका मौलिक रीतिरिवाज, कला, सभ्यता र चालचलनले पनि उनीहरूलाई विशेष अनुभव प्रदान गर्छन् । यही प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विदेशीहरू नेपालको पर्वतीय पदयात्रातर्फ आकर्षित हुन्छन् ।

(घ) पर्यटन व्यवसायका माध्यमबाट कसरी रोजगारी बढाउन सकिन्छ ?

=> उत्तर: स्थानीय मानिसलाई आवश्यक तालिम दिएर होमस्टे सञ्चालन गर्न सकिन्छ । कसैले होमस्टेका लागि आवश्यक खाद्यान्न उत्पादन गर्न, कसैले पथप्रदर्शक बन्न र कसैले पदयात्रीलाई आवश्यक झोला, जुत्ता, टोपी, चस्मा तथा लट्ठीजस्ता सामग्री बिक्री गर्न सक्छन् । त्यसैगरी स्थानीय उत्पादनमा आधारित घरेलु उद्योग तथा उपहार सामग्रीका व्यवसाय सञ्चालन गरेर पनि पर्यटन क्षेत्रबाट रोजगारीका अवसर विस्तार गर्न सकिन्छ ।

७. व्याख्या गर्नुहोस् :

उत्तर :

“नेपालका कैयौँ पदमार्ग प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन् ।”

प्रस्तुत भनाइ ‘पदमार्ग’ शीर्षकको संवादबाट लिइएको हो । यो संवाद कक्षा ८ नेपाली पाठ्यपुस्तक लेखक समूहद्वारा तयार गरिएको हो । उक्त कथन संवादकी पात्र आङरिताले व्यक्त गरेकी हुन् ।

नेपाल पदयात्राका लागि प्रसिद्ध देश हो । यहाँ हिमाली क्षेत्रदेखि पहाडी भूभागसम्म विभिन्न प्रकृतिका पदमार्ग छन् । अन्नपूर्ण, लाङटाङ, माथिल्लो डोल्पा, मनास्लु र सगरमाथा क्षेत्रका पदमार्ग उच्च हिमाली यात्राका लागि चर्चित छन् । बडिमालिका, चिसापानी, धुन्चे, शिवपुरी, बेथान, घान्द्रुक, जिरी, सिन्धुलीगढी र मुन्धुमजस्ता स्थान पनि पदयात्राका दृष्टिले महत्त्वपूर्ण छन् । अन्नपूर्ण पदमार्ग विश्वका चर्चित पदमार्गमध्ये पाँचाँ स्थानमा पर्दछ । बडिमालिका प्राकृतिक तथा धार्मिक विशेषताले परिचित छ भने सिम्रौनगढ ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको स्थल हो ।

यसबाट नेपालमा पदमार्गको विविधता केवल प्राकृतिक दृश्यमा सीमित नभई धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वसँग पनि जोडिएको स्पष्ट हुन्छ । यस्ता पदमार्गको पहिचान, संरक्षण र विकास गर्न सके पर्यटन व्यवसायलाई थप विस्तार गर्न सकिन्छ । त्यसैले नेपालको पदमार्ग पर्यटनका लागि महत्त्वपूर्ण आधार बन्न सक्छ भन्ने आशय प्रस्तुत भनाइले व्यक्त गरेको छ ।

८. ‘पदमार्ग’ संवादमा प्रयुक्त हिमाली परिवेशको वर्णन गर्नुहोस् ।

उत्तर :

‘पदमार्ग’ संवादमा नेपालको हिमाली क्षेत्रलाई प्राकृतिक आकर्षणले भरिएको परिवेशका रूपमा प्रस्तुत गरिएको छ । अन्नपूर्ण आधार शिविरतर्फको यात्रामा धारापानी, चामे, मनाङ, थोराङ ला पास, मुक्तिनाथ, मार्फा, लेते र तातोपानीजस्ता स्थानका रमणीय दृश्यहरू उल्लेख गरिएका छन् । अन्नपूर्ण, धौलागिरि र माछापुच्छ्रे हिमालको भव्यताले यात्रुमा भूस्वर्गमा पुगेको अनुभूति गराउँछ । यसबाहेक बडिमालिकाको प्राकृतिक दृश्य तथा अपिसैपाल हिमशृङ्खलाको मनमोहक परिवेश पनि संवादमा समेटिएको छ । यसरी हिमाली भूगोलका मनोरम दृश्य, उच्च हिमशृङ्खला र प्राकृतिक विविधतामार्फत पदयात्राको आकर्षक वातावरण चित्रण गरिएको छ ।

९. ‘पदमार्ग विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम हो ।’ यो भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर :

नेपालको प्राकृतिक तथा हिमाली सौन्दर्यले विश्वका पर्यटकलाई आकर्षित गर्ने भएकाले पदमार्ग पर्यटन विकासको महत्त्वपूर्ण आधार बन्न सक्छ । पदयात्रीलाई लक्षित गरेर पदमार्ग क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिन्छ र स्थानीय बासिन्दालाई आतिथ्य तथा व्यवस्थापनसम्बन्धी तालिम दिन सकिन्छ । यात्रुहरूलाई आवश्यक पर्ने सामग्रीका पसल सञ्चालन गर्नुका साथै स्थानीय उत्पादनमा आधारित घरेलु उद्योग र हस्तकलाका सामग्रीको बिक्री पनि बढाउन सकिन्छ ।

यस प्रक्रियाबाट स्थानीय स्तरमा विभिन्न रोजगारीका अवसर सिर्जना हुन्छन् र विदेशी पर्यटकबाट प्राप्त आम्दानी देशभित्र भित्रिन्छ । प्राकृतिक सम्पदा, स्थानीय उत्पादन र पर्यटन सेवाबीच समन्वय गर्न सके पदमार्गले पर्यटन व्यवसाय विस्तार गर्दै विदेशी मुद्रा आर्जनमा योगदान पुर्‍याउन सक्छ । त्यसैले पदमार्ग विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुन सक्छ ।

१०. ‘पदमार्ग’ संवादको मुख्य सार लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तर :

‘पदमार्ग’ संवादको मुख्य सार

प्राकृतिक वातावरणको आनन्द लिँदै, गाउँबस्तीमा बस्दै र पैदल हिँडेर गरिने भ्रमणलाई पदयात्रा भनिन्छ । यस्तो यात्राबाट कुनै ठाउँको प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ । यात्राका क्रममा लेकबेंसी, गाउँघर, भन्ज्याङचौतारी, छाँगाछहरा, वनपाखा र हिमालका मनोरम दृश्यहरू अवलोकन गर्न पाइन्छ । यात्राको अवधि भने रोजिएको पदमार्ग र गन्तव्यअनुसार फरक हुन्छ ।

अन्नपूर्ण आधार शिविरतर्फको पदमार्ग विश्वका चर्चित पदमार्गमध्ये पाँचौँ स्थानमा पर्छ । बडिमालिका प्राकृतिक तथा धार्मिक यात्राका लागि परिचित छ भने सिम्रौनगढलाई ऐतिहासिक पदमार्गका रूपमा विकास गर्न सकिन्छ । नेपालका धेरै पदमार्ग प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्त्वका छन् । यिनको देश तथा विदेशमा प्रचारप्रसार र उचित व्यवस्थापन आवश्यक छ ।

पदमार्गलाई व्यवस्थित रूपमा विकास गरे पर्यटन व्यवसाय विस्तार गर्न सकिन्छ । यसबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै विदेशी मुद्रा आर्जन र सांस्कृतिक आदानप्रदानका अवसर पनि बढ्छन् । त्यसैले पदमार्ग केवल पैदल हिँड्ने बाटो नभई ज्ञान, पर्यटन, व्यवसाय, रोजगारी र संस्कृतिसँग जोडिएको बहुआयामिक माध्यम हो ।

११. दिइएको अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) संवादमा पात्रको हाउभाउलाई कहाँ राख्नुपर्छ ?

=> उत्तर: संवादमा पात्रको हाउभाउलाई कोष्ठकभित्र राख्नुपर्छ ।

(ख) संवादलाई रोचक बनाउन के गर्नुपर्छ ?

=> उत्तर: संवादलाई प्रभावकारी तथा रोचक बनाउन पात्रहरूबीच सम्बन्धित विषयमा तर्कवितर्क गराउनुपर्छ ।

(ग) संवादमा कस्तो भाषाशैली प्रयोग गर्नुपर्छ ?

=> उत्तर: संवादमा पात्रको स्तर र अवस्थाअनुसार उपयुक्त भाषाशैली प्रयोग गर्नुपर्छ ।

(घ) संवादमा के कुरालाई ध्यान दिनुपर्छ ?

=> उत्तर: संवादमा एउटै पात्रबाट अत्यन्त लामो अभिव्यक्ति दिनु हुँदैन । साथै पात्रहरूबीचको छलफलबाट विषयवस्तुको निष्कर्ष स्पष्ट रूपमा झल्किने कुरामा ध्यान दिनुपर्छ ।