📖 साकार सपना
शब्दभण्डार
२. दिइएका पर्यायवाची शब्दबिच जोडा मिलाउनुहोस् :
| शब्द | पर्यायवाची शब्द |
|---|---|
| उचित | उपयुक्त |
| सुनसान | एकान्त |
| चलाख | बाठो |
| आभूषण | गहना |
| क्रोध | रिस |
| उद्यान | बगैँचा |
| हावा | पव |
३. दिइएका अर्थ आउने शब्द ‘साकार सपना’ कथाबाट खोजेर लेख्नुहोस् :
| दिइएको अर्थ | कथाबाट खोजिएको शब्द |
|---|---|
| (क) राय, सुझाव | सल्लाह |
| (ख) होसहवास हराउनु | सातोपुत्लो उड्नु |
| (ग) हैकम जमाउने काम | प्रभुत्व |
| (घ) सत्यानाश पार्नु | सखाप |
| (ङ) बाटामा बरपिपलको वरिपरि बस्न हुने गरी बनाइएको ठाउँ | चौतारी |
४. ‘साकार सपना’ कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
| दिइएको शब्द | पर्यायवाची शब्द | वाक्यमा प्रयोग |
|---|---|---|
| सैनिक | सेना | नेपाली सेना विश्वमै बहादुर मानिन्छ । |
| हस्त | हात | कसैसँग पनि हात फैलाएर माग्नु राम्रो बानी होइन । |
| जित | विजय | प्राय: युद्धमा नेपालीले विजय हासिल गरेको देखिन्छ । |
| चिह्न | प्रतीक | खुकुरी नेपालीहरूको वीरताको प्रतीक हो। |
| लाल | रातो | नेपालीको रातो, चन्द्र र सूर्य जङ्गी निशान हो । |
| तारिफ | प्रशंसा | राम्रो कामको सबैले प्रशंसा गर्छन् । |
| स्वप्न | सपना | हामीले सपना पूरा गर्न सक्ने मात्र देख्नुपर्छ । |
📝 बोध तथा अभिव्यक्ति
३. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) कथाअनुसार नेपाल खाल्डामा को बस्थ्यो ?
=> उत्तर: कथाअनुसार नेपाल खाल्डामा केपुचिन पादरी बस्थे ।
(ख) नेपाल खाल्डो देखाउने जिम्मा कसले लियो ?
=> उत्तर: नेपाल खाल्डो देखाउने जिम्मा रामदास वैरागीले लियो ।
(ग) गोरखाली सेनाले अर्नालाई के गरेर जङ्गलमा छाडिदिए ?
=> उत्तर: गोरखाली सेनाले अर्नाको सिङमा राँको बालेर त्यसलाई जङ्गलमा छाडिदिए ।
(घ) किनलक ज्यान जोगाउन कतातिर लागे ?
=> उत्तर: किनलक ज्यान जोगाउन जनकपुरतिर लागे ।
(ङ) कथामा कतिओटा अनुच्छेद छन्, दोस्रो अनुच्छेदमा भएका वाक्य सङ्ख्यासमेत भन्नुहोस् ।
=> उत्तर: कथामा एक्काइसओटा अनुच्छेद छन् । दोस्रो अनुच्छेदमा चारओटा वाक्य छन् ।
५. दिइएका भनाइ ‘साकार सपना’ कथाका आधारमा कसले कसलाई भनेको हो, भन्नुहोस् ।
| भनाइ | कसले कसलाई भनेको हो |
|---|---|
| (क) यसमा के के छ ? मलाई सबै बुझाऊ । | गोल्डिङले आफ्ना सेक्रेटरीलाई |
| (ख) महाराज गौराङ्गको पत्र आएको छ । | द्वारेले पृथ्वीनारायण शाहलाई |
| (ग) पहाडका मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् । | किनलकले रम्बोल्डलाई |
| (घ) मेरो सपना तिमीहरूले पूरा गर्यो । | पृथ्वीनारायण शाहले वंशु गुरुङलाई |
६. ‘साकार सपना’ कथाका आधारमा दिइएका घटनाक्रमको क्रम मिलाएर लेख्नुहोस् :
| क्रम | घटना |
|---|---|
| १ | (क) जयप्रकाश मल्लको दिमागमा खतराको घण्टी बजेको |
| २ | (ख) पादरीले अङ्ग्रेजसँग सहयोग माग्ने सल्लाह दिएको |
| ३ | (ग) सेक्रेटरीले पत्र पढाएर सुनाएका |
| ४ | (घ) गोल्डिङले दाहिने हातले टेबुलमा ठोकेको |
| ५ | (ङ) तिब्बत हुँदै चीनसम्म व्यापार बढाउने सोचेका |
| ६ | (च) पृथ्वीनारायण शाहले पत्र खोलेर हेरेका |
| ७ | (छ) कुहिरो लागेकाले बाटो हिँड्न सहज नभएको |
| ८ | (ज) गोरखाली सेनाले रातभरि अङ्ग्रेजलाई लखेटिरहेका |
| ९ | (झ) गोरखाली सेना हतियारसहित पृथ्वीनारायणकहाँ पुगेका |
७. ‘साकार सपना’ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कथामा केपुचिन पादरीले जयप्रकाश मल्ललाई कस्तो सल्लाह दिए ?
उत्तर :
कीर्तिपुर गोरखालीहरूको अधीनमा गएपछि जयप्रकाश मल्ललाई आफ्नो राज्यको भविष्यप्रति चिन्ता भयो । उनले भक्तपुर र ललितपुरका राजासँग सहयोगका लागि छलफल गरे पनि ठोस उपाय पाउन सकेनन् । त्यसपछि नेपाल खाल्डामा रहेका केपुचिन पादरीसँग गोरखालीहरूको योजना रोक्ने उपायबारे सल्लाह लिए । पादरीले गोरखाली सेनाको सामना गर्न अङ्ग्रेजसँग सैनिक सहयोग माग्न सुझाव दिए । यही सल्लाहअनुसार जयप्रकाश मल्लले अङ्ग्रेजको सहायता लिन खोजे ।
(ख) पृथ्वीनारायण शाहले हेरेको पत्रमा के लेखिएको थियो ?
उत्तर :
पृथ्वीनारायण शाह आफ्ना विश्वासपात्रहरूसँग आफूले देखेको सपनाबारे छलफल गरिरहेका बेला द्वारेले अङ्ग्रेजबाट आएको पत्र उनलाई दिए । पत्र खोलेर हेर्दा मल्ल राजामाथि लगाइएको नाकाबन्दी हटाउन भनिएको रहेछ । साथै, नाकाबन्दी नहटाए गोरखालाई शत्रु घोषणा गर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो ।
(ग) मकवानपुरका राजाले आफ्नो राज्यलाई शत्रुबाट कसरी सुरक्षित गरेका थिए ?
उत्तर :
मकवानपुर सिन्धुलीगढीको नजिक रहेको राज्य थियो । त्यहाँका राजाले शत्रुको प्रवेश रोक्न राज्यको सिमानामा सिस्नुका घना झाडी राख्ने व्यवस्था गरेका थिए । शत्रुले आक्रमण गरेमा अरिङ्गाल र बच्छिउँका गोला बिच्काएर उनीहरूलाई आतंकित बनाउने उपाय पनि अपनाइन्थ्यो । यसरी प्राकृतिक साधनलाई समेत सुरक्षाको माध्यम बनाइएको थियो ।
(घ) यस कथाबाट कस्तो शिक्षा पाइन्छ ?
उत्तर :
‘साकार सपना’ ऐतिहासिक घटनामा आधारित कथा भएकाले यसले नेपाल एकीकरणको समयको वीरतापूर्ण प्रसङ्ग प्रस्तुत गर्छ । गोरखाली सेनाले सीमित साधन हुँदाहुँदै अङ्ग्रेज फौजसँग साहसपूर्वक सामना गरेको घटनाले उनीहरूको राष्ट्रप्रेम र दृढ सङ्कल्प देखाउँछ । राष्ट्र र राष्ट्रियताको हितमा देखिएको सपना व्यक्तिगत प्रयासले मात्र होइन, सामूहिक सहयोग र समर्पणबाट पनि पूरा गर्न सकिन्छ भन्ने सन्देश कथाले दिन्छ ।
८. ‘साकार सपना’ कथाको पात्र गोल्डिङको चरित्र चित्रण गर्नुहोस् ।
उत्तर :
गोल्डिङ ‘साकार सपना’ कथामा नकारात्मक भूमिकामा प्रस्तुत भएको महत्त्वपूर्ण पात्र हो । उसले कथाको द्वन्द्वलाई अघि बढाउन पनि भूमिका खेलेको छ । गोल्डिङ आफ्नो देश र अङ्ग्रेजहरूको हितलाई प्राथमिकता दिने स्वार्थी प्रवृत्तिको व्यक्ति हो । उसको उद्देश्य मल्ल राजालाई सहयोग गर्ने बहानामा नेपालमा आफ्नो प्रभाव विस्तार गर्नु र तिब्बत हुँदै चीनसम्म व्यापार बढाउनु रहेको देखिन्छ । यही स्वार्थका कारण उसले पृथ्वीनारायण शाहलाई धम्कीपूर्ण पत्र पठाउँछ । यसरी गोल्डिङ कथामा पृथ्वीनारायण शाहको एकीकरण अभियानको विरोध गर्ने नकारात्मक पात्रका रूपमा देखिन्छ ।
९. व्याख्या गर्नुहोस् :
“पहाडमा मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन् ।”
उत्तर :
प्रस्तुत भनाइ गणेशप्रसाद भट्टराईद्वारा रचित ऐतिहासिक कथा ‘साकार सपना’बाट लिइएको हो । गोरखाली फौजसँगको युद्धमा पराजित भई ज्यान जोगाएर भागेका किनलकले थप सहयोगका लागि रम्बोल्डलाई लेखेको पत्रका क्रममा यो भनाइ व्यक्त गरेका हुन् ।
मल्ल राजालाई सहायता गर्न आएको अङ्ग्रेज फौजलाई गोरखालीहरूले आफ्नो विशेष युद्धकौशल प्रयोग गरेर सामना गरेका थिए । अङ्ग्रेजहरूसँग आधुनिक हातहतियार भए पनि गोरखाली फौजले स्थानीय परिवेश र उपलब्ध साधनलाई युद्धको रणनीतिमा उपयोग गर्यो । उनीहरूले अचानक आक्रमण गर्नुका साथै मातेको अर्नाको सिङमा राँको बालेर जङ्गलमा छाडिदिए । अरिङ्गाल र बच्छिउँका गोला बिच्काइदिए तथा सिस्नुको प्रयोगबाट पनि शत्रुलाई हैरान बनाए ।
यस प्रकार गोरखालीहरूले मानिसको मात्र शक्ति प्रयोग नगरी जङ्गलका जनावर, किरा र बिरुवासमेत युद्धका साधनका रूपमा उपयोग गरे । अप्रत्याशित र अनौठो युद्धनीतिका कारण अङ्ग्रेज फौज त्रसित भयो र उनीहरूलाई ज्यान जोगाएर भाग्नुपर्यो । त्यसैले किनलकले पहाडमा मानिससँगै जनावर, किरा र बिरुवाले समेत लडाइँ गरेको अनुभव व्यक्त गरेका हुन् ।
यस भनाइमार्फत कथाकारले गोरखालीहरूको बुद्धिमत्तापूर्ण युद्धनीति, साहस र स्थानीय प्राकृतिक साधनको प्रभावकारी प्रयोगलाई स्पष्ट पारेका छन् ।
१०. ‘साकार सपना’ कथाको सार लेख्नुहोस् ।
उत्तर :
पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्ल आफ्नो राज्यको सुरक्षाबारे चिन्तित हुन्छन् । भक्तपुर र ललितपुरसँग सहयोगको कुरा गर्दा पनि अपेक्षित उपाय ननिस्किएपछि नेपाल खाल्डामा रहेका केपुचिन पादरीसँग सल्लाह लिइन्छ । पादरीले गोरखालीहरूको सामना गर्न अङ्ग्रेजसँग सैनिक सहयोग माग्न सुझाव दिन्छन् । यही आधारमा मल्ल राजाले अङ्ग्रेजको सहायता माग्छन् ।
अङ्ग्रेज पक्षले मल्ल राजालाई सहयोग गर्ने निर्णय गर्छ । गोल्डिङले यस अभियानबाट आफ्नो खर्चसमेत नलाग्ने र तिब्बत हुँदै चीनसम्म व्यापार विस्तार गर्ने अवसर मिल्ने कुरा सोच्छ । अर्कोतर्फ पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूको गतिविधिबारे जानकारी पाइरहेका हुन्छन् । अङ्ग्रेजबाट आएको धम्कीपूर्ण पत्र पढेपछि उनले त्यसलाई च्यातेर अँगेनामा हालिदिन्छन् ।
अङ्ग्रेज फौज सिन्धुलीगढीको बाटो हुँदै नेपाल प्रवेश गर्छ । कुहिरोका कारण उनीहरूलाई यात्रा गर्न कठिन हुन्छ । यही अवसरमा गोरखाली सेनाले उनीहरूमाथि आक्रमण गर्छ । अर्ना, अरिङ्गाल र बच्छिउँको प्रयोग गर्नुका साथै अन्य स्थानीय साधन उपयोग गरेर गोरखालीहरूले अङ्ग्रेज फौजलाई अस्तव्यस्त बनाउँछन् । रातभरि उनीहरूलाई लखेटेपछि गोरखाली सेना हतियारसहित पृथ्वीनारायण शाहकहाँ पुग्छ । आफ्नो सपना पूरा भएकोमा पृथ्वीनारायण शाहले गोरखाली फौजको प्रशंसा गर्छन् ।
११. ‘साकार सपना’ कथामा के पृथ्वीनारायण शाहको सपना पूरा भयो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तर :
गणेशप्रसाद भट्टराईको ‘साकार सपना’ ऐतिहासिक पृष्ठभूमिमा रचिएको कथा हो । नेपाल एकीकरणसँग सम्बन्धित घटनालाई आधार बनाएर यसले राष्ट्रिय चेतना र गोरखालीहरूको वीरतालाई प्रस्तुत गरेको छ । कथाको केन्द्रमा पृथ्वीनारायण शाहको सपना र त्यसलाई पूरा गर्न गोरखाली फौजले गरेको प्रयास रहेको छ ।
पृथ्वीनारायण शाहले मल्ल राजा र अङ्ग्रेजबीच भइरहेका गतिविधिबारे जासुसीमार्फत जानकारी प्राप्त गरिरहेका थिए । अङ्ग्रेज फौज मल्ल राजालाई सहयोग गर्न आएमा त्यसको प्रतिरोध कसरी गर्ने भन्ने विषयमा उनले योजना बनाएका थिए । यही क्रममा उनले आफूले देखेको राम्रो सपनाका विषयमा आफ्ना विश्वासपात्रहरूसँग कुरा गरेका थिए ।
पछि द्वारेले अङ्ग्रेजबाट आएको धम्कीपूर्ण पत्र ल्याएपछि पृथ्वीनारायण शाहले त्यसलाई पढे । पत्रमा मल्ल राजामाथिको नाकाबन्दी हटाउन दबाब दिइएको थियो र नमानिए गोरखालाई शत्रु घोषणा गर्ने चेतावनी दिइएको थियो । उनले पत्र च्यातेर अँगेनामा हालिदिए ।
त्यसपछि सिन्धुलीगढी हुँदै अङ्ग्रेज फौज नेपाल प्रवेश गर्यो । प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच गोरखाली सेनाले अङ्ग्रेजमाथि आक्रमण गर्यो । अर्ना, अरिङ्गाल र बच्छिउँजस्ता प्राकृतिक साधनको समेत उपयोग गर्दै गोरखालीहरूले अङ्ग्रेज फौजलाई पराजित गरी रातभरि लखेटे । अन्ततः गोरखाली सेना हतियारसहित पृथ्वीनारायण शाहकहाँ पुग्यो ।
यस घटनाबाट पृथ्वीनारायण शाहले देखेको सपना वास्तविकतामा परिणत भएको स्पष्ट हुन्छ । वंशु गुरुङ, वंशराज पाण्डे, वीरभद्रलगायत विश्वासपात्र र गोरखाली फौजको सहयोगले उनको उद्देश्य सफल भयो । त्यसैले आफ्नो सपना साकार पार्न सहयोग गर्ने गोरखाली फौजप्रति पृथ्वीनारायण शाहले प्रशंसा व्यक्त गरेका छन् ।
१२. दिइएको चित्र वर्णन गर्नुहोस् :
उत्तर :
दिइएको चित्रमा दुई पक्षका फौजहरू हातहतियारसहित आमनेसामने भएको दृश्य देखिन्छ । दुवै पक्षका सिपाहीहरू युद्धका लागि तयारी अवस्थामा रहेका छन् । चित्रको मध्यभागमा रहेको पिपलको रूखमुनि बुद्धजस्तै देखिने एक व्यक्ति बसेको देखिन्छ । समग्र दृश्यले दुई फौजबीच हुन लागेको युद्धको अवस्थालाई प्रस्तुत गरेको छ ।