🌱 करेसाबारी
📚 शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| गुणस्तरीय | गुणस्तर राम्रो भएको |
| गोडमेल | बोटबिरुवाका वरिपरि भएका झारपात उखेल्ने वा गोड्ने काम |
| खाडल | खाल्टो |
| बाली | कृषिउपज |
| लट्टे | सागको एक प्रकार |
२. दिइएका विभिन्न क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थबारे छलफल गर्नुहोस् :
⚖️ कानुन
| शब्द | अर्थ |
|---|---|
| अधिवक्ता | कानुन विशेषज्ञ, अधिकृत तहको कानुन व्यवसायी |
| मुचुल्का | सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज |
| वारेस | मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति |
| तारिख | अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति |
| बिगो | कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम |
| जमानत | मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेको बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम । |
🏛️ प्रशासन
| शब्द | अर्थ |
|---|---|
| दर्ता | चिठी, कागजात आदि दर्ताकिताबमा चढाउने काम, सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम |
| चलानी | चलान गरिएको, चलान गरेको व्यक्ति, वस्तु आदिको विवरण पत्र |
| टिप्पणी | कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार, कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख |
| सरुवा | कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम |
| बढुवा | तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नति |
| परिपत्र | विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै व्यहोरामा पठाइने आधिकारिक पत्र, सर्कुलर । |
💰 वाणिज्य
| शब्द | अर्थ |
|---|---|
| आयव्यय | आम्दानी र खर्च |
| राजस्व | मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन |
| भौचर | बैङ्कमा पैसा जम्मा गर्दा खातावालको विवरण भरिने कागज |
| बेरुजु | आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम |
| निकासी | कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम |
| फर्सोट | लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम । |
🔬 विज्ञान र प्रविधि
| शब्द | अर्थ |
|---|---|
| ऊर्जा | शक्ति, बल |
| संवहन | दायित्व लिने काम, बोक्ने काम |
| तापक्रम | तापको परिमाण, तातोपन घटीबढी हुने क्रम |
| यौगिक | दुई वा दुई बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु |
| विकिरण | छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम |
| जीवाणु | सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव, अनेक प्रकारका रोग उत्पन्न जीवनशक्तियुक्त कीटाण । |
🌳 वन
| शब्द | अर्थ |
|---|---|
| कटानी | कटनी, फँडानी |
| फंडानी | फाँड्ने काम, जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम |
| वृक्षरोपण | विभिन्न किसिमका बोटबिरुवा लगाउने वा रोप्ने काम |
| निकुञ्ज | बोटबिरुवा, जनावर आदि वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल |
| आरक्ष | वन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम |
| टाँचा | कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप, त्यस्ता रुखमा खोपिने चिहृन |
🎓 शिक्षा
| शब्द | अर्थ |
|---|---|
| परीक्षा | योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका लागि ठिकसित पारख गर्ने काम, जाँच गर्ने काम |
| मूल्याङ्कन | परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम |
| छात्रवृत्ति | अध्ययनअवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम |
| पाठ्यक्रम | पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम |
| पृष्ठपोषण | कुनै कामकुरामा पछाडि बसेर सहायता पुऱ्याउने काम वा प्रवृत्ति, सहयोग, मदत |
📖 साहित्य
| शब्द | अर्थ |
|---|---|
| रस | साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण लगायतका अनुभूतिगत नवरस |
| छन्द | यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य |
| अलङ्कार | अर्थगत वा शाब्दिक -चमत्कारबाट साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग विधा, |
| वाद | कुनै विशिष्ट कुराको मत वा सिद्धान्त, जस्तै : प्रगतिवाद, समाजवाद आदि |
| दृष्टिबिन्दु | कथनढाँचा |
📡 सञ्चार
| शब्द | अर्थ |
|---|---|
| प्रसारण | समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनबाट कतै पठाउने कार्य |
| परिसंवाद | दुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वानहरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्राय: खास खास अवसरमा हुने तर्कसङ्गत वादविवाद, कुराकानी |
| इमेल | विद्युतीय माध्यमबाट गरिने पत्राचार |
| सम्पादकीय | समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख |
| दूरसञ्चार | धेरै टाढा टाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने |
| समाचारपत्र | अखबार |
३. 'करेसाबारी' निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने पाँचओटा पारिभाषिक तथा प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर :
- •रासायनिक मल : आजभोलि खेती गर्दा अत्यधिक मात्रामा रासायनिक मल उत्पादन गरिन्छ ।
- •करेसाबारी : महङ्गी र स्वास्थ्यका कारण करेसाबारीको महत्त्व दिनानुदिन बढ्दो छ ।
- •प्राङ्गारिक : अर्गानिक बालीका उत्पादन गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनु पर्छ ।
- •बेर्ना : बन्दा, काउली, खुर्सानी आदि रोप्नुभन्दा पहिले बेर्ना तयार पार्नुपर्छ ।
- •मल्चिङ : तरकारी खेती गर्नेले मल्चिङको बारेमा जानकारी हुनु आवश्यक छ ।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :
- •आत्मनिर्भर : रमन खेतीपाती गरी आत्मनिर्भर बनेको छ ।
- •कम्पोस्ट : कम्पोष्ट मलको प्रयोग गर्नाले फोहोरको व्यवस्थापन हुने गर्दछ ।
- •नर्सरी : सुमनले नर्सरीबाट फूल ल्याइ घरमा रोप्यो ।
- •बिउबिजन : बिउबिजनको अभावले वर्षेनी किसानहरू मारमा पर्ने गर्दछन् ।
- •रासायनिक : रासायनिक मलको प्रयोगले माटो र जीवको स्वास्थ्यमा असर पुग्दछ ।
📝 बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :
| शब्द | उच्चारण |
|---|---|
| अर्गानिक | अर्गानिक |
| प्रणाली | प्रनालि |
| बुर्बुराउँदो | बुर्बुराउँदो |
| पालुङ्गो | पालुङ्गो |
| प्याज | प्याज् |
| सिँचाइ | सिँचाइ |
| जैविक | जैबिक |
| विषादीयुक्त | बिसादियुक्त |
२. ‘करेसाबारी’ निबन्धका अनुच्छेद पालैपालो शिक्षकले तोकेको समयभित्र सस्वरवाचन गर्नुहोस् ।
३. निबन्धको पहिलो अनुच्छेद श्रुतिलेखन गर्नुहोस् ।
श्रुतिलेखन : सुनेर लेख्ने काम
४. 'करेसाबारी' निबन्ध पढी निबन्धको संरचनाका बारेमा निम्नलिखित प्रश्नको उत्तर भन्नुहोस् :
(क) करेसाबारी निबन्ध कति अनुच्छेदमा संरचित छ ?
=> उत्तर: करेसाबारी निबन्ध नौ अनुच्छेदमा संरचित छ ।
(ख) निबन्धको दोस्रो अनुच्छेदको आशय के हो ?
=> उत्तर: करेसाबारीको निर्माण गर्दा जमिनको रेखाङ्कन र व्यवस्थापनको महत्त्व दर्साउँदै जमिनको उपयोगिता बढाउन मदत पुयाउनु निबन्धको दोस्रो अनुच्छेदको आशय हो ।
(ग) वाक्य सङ्ख्याका दृष्टिले छोटो र लामो अनुच्छेद कुन हो ?
=> उत्तर: वाक्य सङ्ख्याका दृष्टिले छोटो पाँचौँ अनुच्छेद र लामो छैटौं र आठौँ अनुच्छेद हो ।
(घ) निबन्धमा बाली हेरफेरको विषयवस्तु कुन अनुच्छेदमा समावेश गरिएको छ ?
=> उत्तर: निबन्धमा बाली हेरफेरको विषयवस्तु सातौं अनुच्छेदमा समावेश गरिएको छ ।
(ङ) निबन्धको निष्कर्ष कुन अनुच्छेदमा आएको छ ?
=> उत्तर: निबन्धको निष्कर्ष नवौँ अर्थात् अन्तिम अनुच्छेदमा आएको छ ।
५. तल दिइएको निबन्धको अंश शिक्षकले तोकेको समयका आधारमा द्रुत पठन गरी सोधिएको प्रश्नको उत्तर भन्नुहोस् :
(क) अनुच्छेदमा तरकारीलाई कुन कुन प्रकारमा वर्गीकरण गरिएको छ ?
=> उत्तर: अनुच्छेदमा तरकारीलाई हिउँदे, बसन्ते र वर्षे तरकारीका रूपमा वर्गीकरण गरिएको छ ।
(ख) हिउँदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ ?
=> उत्तर: भदौदेखि असोजसम्म बेर्ना रोपेर कात्तिकदेखि माघसम्मको चिसो मौसम र छोटो दिन हिउँदे तरकारीका लागि उपयुक्त मौसम हो ।
(ग) बर्से तरकारी र बसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ ?
=> उत्तर: बसन्ते तरकारी पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिइन्छ भने वर्षे तरकारी बैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी वर्षा हुने असारदेखि भदौसम्म उत्पादन लिन सकिन्छ ।
(घ) मानिसहरूले तरकारी खेती किन गर्छन् ?
=> उत्तर: मानिसहरू भान्सामा तरकारीको आवश्यकता परिपूर्ति गर्नका साथै केही आर्थिक उपार्जनका लागि तरकारी खेती गर्ने गर्छन् ।
६. तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) बाली विविधता भनेको के हो ?
उत्तर :
बाली विविधता भन्नाले करेसाबारीमा वर्षभरि फरक–फरक मौसममा उपयुक्त हुने तरकारीहरूलाई योजनाबद्ध रूपमा लगाउने व्यवस्था बुझिन्छ । यसो गर्दा कुनै समयमा तरकारीको अभाव हुने र कुनै समयमा अत्यधिक उत्पादन हुने अवस्था नियन्त्रण गर्न सकिन्छ ।
करेसाबारीमा लगाइने सबै तरकारी एउटै तरिकाबाट उत्पादन हुँदैनन् । केही बाली बिउबाट सिधै जमिनमा लगाउन मिल्छ भने केहीको बेर्ना पहिला नर्सरीमा तयार गर्नुपर्छ । बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो र चम्सुर सिधै लगाउन सकिने बाली हुन् । बन्दा, काउली, गोलभेंडा, भन्टा, खुर्सानी, प्याज र रायोका बेर्ना भने नर्सरीमा तयार गरी करेसाबारीमा सारिन्छन् ।
त्यसैले मौसमको अनुकूलता हेरेर विभिन्न तरकारीको उत्पादन मिलाउने र व्यवस्थित गर्ने कार्यलाई बाली विविधता भनिन्छ ।
(ख) करेसाबारीमा तरकारी लगाउँदा जमिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।
उत्तर :
करेसाबारी सुरु गर्नुअघि उपलब्ध जमिनलाई उपयुक्त ढङ्गले योजना बनाएर प्रयोग गर्नुपर्छ । छुट्याइएको क्षेत्रलाई पर्खाल वा बाँसको बारले घेरेर सुरक्षित बनाउनुपर्छ । कम्पोस्ट मल उत्पादनका लागि छुट्टै खाल्डो बनाउनुका साथै नर्सरी राख्न पर्याप्त घाम पर्ने स्थान छनोट गर्नुपर्छ ।
खेती गर्ने ठाउँलाई ससाना सुर्कामा विभाजन गरी तिनको बीचमा आवतजावतका लागि बाटो राख्नुपर्छ । जमिनको कुनै भाग पनि खेर नजाओस् भन्ने हिसाबले करेसाबारीको छेउ तथा बारबन्देज भएको स्थानमा लहरे बाली लगाउन सकिन्छ । सुर्काका आलीमा जरे बाली लगाएर पनि सीमित क्षेत्रको प्रभावकारी उपयोग गर्न सकिन्छ ।
(ग) वानस्पतिक विषादीको निर्माण र प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस् ।
उत्तर :
करेसाबारीमा प्रयोग हुने विषादी स्थानीय स्रोतबाट पनि तयार गर्न सकिन्छ । तितो, टर्रो वा कडा गन्ध भएका वनस्पतिका पात तथा मुन्टालाई प्रयोग गरेर वानस्पतिक विषादी बनाइन्छ ।
तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो, बोझो, टिमुर, खुर्सानी र सिमली आदिका पात वा मुन्टा सङ्कलन गरेर मसिनो टुक्रा बनाउनुपर्छ । त्यसपछि कालो रङको ड्रममा ती सामग्री दुईतिहाईसम्म राखी बाँकी भाग गहुँतले भर्नुपर्छ । ड्रमलाई बिर्को लगाएर घाम पर्ने ठाउँमा मौसमअनुसार २५ देखि ३५ दिनसम्म राख्नुपर्छ ।
राम्ररी कुहिएपछि प्राप्त भएको झोललाई छानेर बिरुवाको आकार र प्रकृति हेरी पानीमा मिसाउनुपर्छ । ठुला बिरुवाका लागि एक भाग विषादीमा छ भाग पानी तथा ससाना बिरुवाका लागि एक भाग विषादीमा १० भाग पानी मिसाएर प्रयोग गर्नु पर्छ ।
७. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
अ) प्राणीले बोटबिरुवा बाट के पाउँछन् ?
=> उत्तर: प्राणीले बोट विरुवाबाट खाद्य तत्व र अक्सिजन पाउछन ।
आ) कस्ता खाना बोटबिरुवाका लागि उत्तम खाना हुन् ?
=> उत्तर: मानिस तथा जनावरका मलमूत्र तथा कुहिएका झारपात बोटबिरुवाका उत्तम खाना हुन् ।
इ) प्राणी र वनस्पति बीचको लेनदेन प्रक्रियाले के कुरा बुझाउँछ ?
=> उत्तर: सडेगलेका पात पतिंगरलाई कुहाएर बोटबिरुवाका लागि खानयोग्य मल बनाउने काम प्राणीले गर्दछन् भने प्राणीका लागि आवश्यक खानेकुरा वनस्पतिले दिने गर्दछन् त्यसकारण प्राणीहरूको र वनस्पतिका बिचमा लेनदेन प्रक्रिया चलिरहन्छ भनिएको हो ।
ई) पर्यावरणीय सन्तुलनका लागि कस्तो उपाय अपनाउनुपर्छ ?
=> उत्तर: पर्यावरणीय सन्तुलनका लागि जीवलाई मार्ने होइन धपाउने र भगाउने उपाय खोज्नुपर्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
अ) 'वनस्पति' र 'प्रदुषण' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
=> उत्तर: वनस्पति हाम्रा लागि वनस्पति आवश्यक पर्छ प्रदूषण हामीले हाम्रो वरपर प्रदूषण गर्नुहुँदैन ।
आ) माथिको अनुच्छेदमा कुनकुन संयोजक प्रयोग भएका छन् ?
=> उत्तर: माथिको अनुच्छेदमा 'र' 'तथा' जस्ता संयोजक प्रयोग भएका छन् ।
इ) अनुच्छेदमा रहेको 'खेतीपातीका शत्रु किरा, फट्याङ्ग्रा, सुलसुले, मुसा, खरायो, दुम्सी, बाँदरसमेत पर्यावरणीय सन्तुलनक लागि आवश्यक छन् ।' वाक्यबाट नामयोगी पहिचान गर्नुहोस् ।
=> उत्तर: 'समेत' नामयोगी हो ।
ई) अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व उकार लागेर बनेका एक एकवटा शब्द पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: सुरुमा रस्व लागेको 'कुहाएर' बिचमा ह्रस्व लागेको 'सन्तुलन' र अन्तिममा ह्रस्व लागेको 'शत्रु' हो ।
८. व्याख्या गर्नुहोस् :
हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ ।
उत्तर :
प्रस्तुत भनाइ कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पाठ तीनमा रहेको 'करेसाबारी' शीर्षकको निबन्धबाट लिइएको हो । निबन्धमा घर आसपासको खाली ठाउँलाई उपयोग गरेर तरकारी उत्पादन गर्ने तरिका तथा त्यसको उपयोगिताबारे जानकारी दिइएको छ ।
घर निर्माण गरेपछि बाँकी रहेको जमिनलाई व्यवस्थित बनाएर करेसाबारीको रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट परिवारका लागि आवश्यक तरकारी घरमै उत्पादन गर्न सकिन्छ । पर्याप्त उत्पादन भएको अवस्थामा अतिरिक्त तरकारी बिक्री गरी आर्थिक लाभ लिन सकिन्छ । आफ्नै घरमा उत्पादन गरिएको ताजा तरकारी प्रयोग गर्दा स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ ।
करेसाबारीले घरको वरिपरि रहेको खालीपन हटाएर वातावरणलाई हरियालीयुक्त बनाउँछ । विभिन्न तरकारी तथा वनस्पतिले घरको दृश्यलाई आकर्षक बनाउनुका साथै वरपरको वातावरणलाई स्वच्छ राख्न मद्दत गर्छन् । हरिया बोटबिरुवाबाट अक्सिजन प्राप्त हुने र कार्वनडाइअक्साइड कम हुने भएकाले स्वच्छ वातावरण निर्माणमा यसको महत्त्व रहन्छ ।
यस निबन्धमा करेसाबारी बनाउने तरिकादेखि मौसमअनुसार तरकारी छनोट तथा खेती गर्ने उपायसम्मका विषय समेटिएका छन् । त्यसैले घरपरिवारको दैनिक जीवनसँग सम्बन्धित उपयोगी ज्ञान प्रदान गर्ने दृष्टिले यो पाठ महत्त्वपूर्ण छ ।
९. दिइएका प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस् :
(क) करेसाबारीमा मलखाद प्रयोग, सिंचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तुप्रति आफ्ना धारणा व्यक्त गर्नुहोस् ।
उत्तर :
घरनजिकको खाली क्षेत्रमा गरिने तरकारी खेती करेसाबारी खेती हो । यसले घरवरिपरिको जमिनलाई उपयोगी बनाउनुका साथै परिवारलाई आवश्यक तरकारी आफैँ उत्पादन गर्ने अवसर दिन्छ । आफ्नै ठाउँमा उत्पादन गरिएको स्वस्थ, ताजा र अर्गानिक तरकारी प्रयोग गर्न सकिने भएकाले यस्तो खेती निकै उपयोगी देखिन्छ ।
उत्पादन बढाउन मलखादको सही प्रयोग अत्यावश्यक हुन्छ । कुन बालीलाई कस्तो पोषक तत्त्व चाहिन्छ भन्ने आधारमा मलको व्यवस्था गर्नुपर्छ । रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा र ब्रोकाउलीजस्ता पात खाने तरकारीमा नाइट्रोजनको आवश्यकता बढी हुन्छ । फर्सी, काँक्रो, खुर्सानी, टमाटर, भन्टा र खरबुजाजस्ता फल खाने बालीमा फस्फोरस बढी आवश्यक हुन्छ । बोडी, सिमी, केराउ, भटमास र बकुल्लाजस्ता कोसे बालीमा नाइट्रोजनको आवश्यकता पर्छ ।
मुला, गाजर, सलगम, आलु, लसुन र प्याजजस्ता जरेबालीका लागि पोटास आवश्यक हुन्छ । त्यसैले सबै बालीमा एउटै किसिमको मल प्रयोग गर्नुको सट्टा बालीको प्रकृतिअनुसार मलखादको व्यवस्था गर्नुपर्छ ।
तरकारीमा पानीको मात्रा धेरै हुने भएकाले नियमित सिँचाइ पनि महत्त्वपूर्ण छ । बिउ उम्रँदा, बेर्ना सार्दा, मलखाद प्रयोग गरेपछि, गोडमेल गरेपछि तथा डुकु आउने, फल्ने र दाना लाग्ने समयमा पर्याप्त पानी आवश्यक हुन्छ । बेर्ना सारेपछि कम्तीमा एक हप्तासम्म नियमित सिँचाइको व्यवस्था गर्नुपर्छ ।
त्यस्तै, गोडमेल गर्दा झारपात हट्नुका साथै माटो खुकुलो हुन्छ र बालीलाई बढ्न सहज वातावरण मिल्छ । त्यसैले करेसाबारीमा मलखाद, सिँचाइ र गोडमेललाई बेवास्ता नगरी नियमित रूपमा व्यवस्थापन गर्नुपर्छ । पाठले यी पक्षलाई व्यावहारिक रूपमा प्रस्तुत गरेको हुँदा यसमा व्यक्त विचार उपयुक्त छन् ।
(ख) करेसाबारीको उपयोगबाट कसरी फाइदा लिन सकिन्छ, आफ्नै शैलीमा चर्चा गर्नुहोस् ।
उत्तर :
घरको नजिकै रहेको सानो क्षेत्रमा विभिन्न तरकारी लगाएर तयार गरिने बारीलाई करेसाबारी भनिन्छ । यसको उचित प्रयोगले घरपरिवारको खाद्य आवश्यकता पूरा गर्नेदेखि आर्थिक बचतसम्मका धेरै लाभ प्राप्त गर्न सकिन्छ ।
बजारमा पाइने तरकारीमा रासायनिक मल तथा कीटनाशकको प्रयोग भएको हुन सक्ने भएकाले आफ्नै करेसाबारीमा प्राङ्गारिक तरिकाले उत्पादन गरिएको तरकारी उपयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । भूगोल र मौसमअनुसार विभिन्न प्रकारका तरकारी लगाएर परिवारका लागि आवश्यक ताजा तथा गुणस्तरीय उत्पादन घरमै प्राप्त गर्न सकिन्छ ।
करेसाबारीले प्रयोगमा नआएको जमिनलाई उत्पादनशील बनाउँछ । घरबाट निस्कने प्राङ्गारिक फोहोरलाई कम्पोस्टमा रूपान्तरण गरी पुनः बारीमा प्रयोग गर्न सकिन्छ । यसले फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा पनि योगदान पुर्याउँछ ।
आफ्नै बारीमा उत्पादन भएको तरकारीले बजारबाट खरिद गर्ने खर्च घटाउँछ । आवश्यकता भन्दा बढी उत्पादन भएमा बिक्री गरी आम्दानी गर्न सकिन्छ । साथै, बारीमा काम गर्दा शारीरिक श्रम, व्यायाम र मनोरञ्जन पनि प्राप्त हुन्छ । यसरी करेसाबारी स्वास्थ्य, बचत, उत्पादन, वातावरण र आयआर्जन सबै दृष्टिले उपयोगी हुन्छ ।
१०. दिइएको सन्दर्भ पढ्नुहोस् र 'करेसाबारी' निबन्धको दोस्रो र तेस्रो अनुच्छेदबाट शीर्ष वाक्य पहिचान गरी लेख्नुहोस् ।
उत्तर :
दोस्रो अनुच्छेदको शीर्ष वाक्य : करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
तेस्रो अनुच्छेदको शीर्ष वाक्य : करेसाबारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
११. 'फूलबारी' शीर्षकमा एउटा वर्णनात्मक अनुच्छेद तयार गर्नुहोस् ।
फूलबारी
उत्तर :
विभिन्न जातका फूलहरू रोपेर आकर्षक बनाइएको बगैँचालाई फूलबारी भनिन्छ । घरको वरिपरि फूल रोपेर वातावरणलाई सुन्दर बनाउने चलन नेपाली समाजमा पुरानै हो । यहाँ मौसमअनुसार मौसमी फूल तथा वर्षभरि हरियाली दिने सदावहार फूलहरू लगाउन सकिन्छ । सयपत्री, मखमली, गोदावरी, लालुपातेजस्ता फूलहरू घर सजाउन तथा विभिन्न चाडपर्वमा प्रयोग गर्नका लागि उपयोगी हुन्छन् । अहिले फूलको प्रयोग घरको सौन्दर्यमा मात्र सीमित नरही व्यावसायिक उत्पादनतर्फ पनि विस्तार भएको छ । फूल उत्पादन तथा बिक्रीबाट आम्दानी गर्न सकिने भएकाले फूलबारी आयआर्जनको माध्यमसमेत बन्न पुगेको छ । यसले प्राकृतिक सौन्दर्य बढाउनुका साथै वातावरणलाई सन्तुलित र रमणीय राख्न सहयोग पुर्याउँछ ।
१२. 'करेसाबारी' निबन्धको पाँचौँ अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
उत्तर :
पाँचौँ अनुच्छेदका चारओटा बुँदा :
क मौसमका आधारमा हिउँदे, बसन्ते र बर्खे गरी तरकारीलाई तीन भागमा वर्गीकरण
ख कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी
ग फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारी बसन्ते तरकारी
घ असारदेखि भाद्रसम्म उत्पादन हुने बर्खे तरकारी
तरकारीको वर्गीकरण
मौसमअनुसार तरकारीलाई हिउँदे, बसन्ते र बर्खे गरी तीन वर्गमा राखिन्छ । कात्तिकदेखि माघसम्म उत्पादन हुने तरकारी हिउँदे, फागुनदेखि जेठसम्म उत्पादन हुने तरकारी बसन्ते र असारदेखि भाद्रसम्म उत्पादन हुने तरकारी बर्खे तरकारी हो ।
- •पाँचौँ अनुच्छेदमा भएको जम्मा शब्द : १०१
- •सारांश अनुच्छेदमा भएको जम्मा शब्द : ३६