📚 सत्यमोहन जोशी
📖 शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| गाईजात्रा | जनैपूर्णिमाको भोलिपल्ट मनाइने जात्रा |
| जीवनदृष्टि | जीवनदर्शन, जीवनलाई हेर्ने दृष्टि वा आधार |
| संस्कृति | कुनै राष्ट्र वा जातिका कलाकौशल, बौद्धिक विकाससम्बद्ध क्रियाकलाप |
| पुरातत्व | प्राचीन समयका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या |
| सङ्ग्रहालय | प्राचीन महत्वका, दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर |
| प्रतिष्ठान | प्रतिष्ठापूर्व रूपमा स्थापित कुनै संस्था |
२. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
| शब्द | विपरीतार्थी शब्द |
|---|---|
| अनुत्तीर्ण | उत्तीर्ण |
| विनाश | रक्षा |
| अविश्वास | विश्वास |
| स्वार्थ | निस्वार्थ |
| निराशा | आशा |
| अरुचि | रुचि |
| कपुत | सपुत |
| स्वीकार | अस्वीकार |
| निष्क्रियता | सक्रियता |
३. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् :
| शब्द | विपरीतार्थी शब्द |
|---|---|
| सुरक्षित | असुरक्षित |
| सभ्य | असभ्य |
| नास्तिक | आस्तिक |
| लौकिक | अलौकिक |
| गहन | फितलो |
| सूक्ष्म | स्थूल |
📝 बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
| शब्द | उच्चारण |
|---|---|
| वाङ्मय | बाङ्मय |
| अविश्रान्त | अबिस्रान्त |
| औद्योगिक | अउद्योगिक् |
| कर्मक्षेत्र | कर्मछेत्र |
| हास्यव्यङ्ग्य | हास्यब्यङ्ग्य |
| काँचुली | काँचुुली |
| सङ्घर्ष | सङ्घर्स |
| संस्कृति | सम्स्कृति |
२. जीवनीको पहिलो अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
३. दिइएको अनुच्छेद मनमनै पढी संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) माथिको अनुच्छेदमा कतिओटा वाक्य छन् ?
=> उत्तर: माथिको अनुच्छेदमा सातओटा वाक्य छन् ।
(ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य कुन हो, त्यो कति शब्दले बनेको छ ?
=> उत्तर: “सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ” भन्ने वाक्य सबैभन्दा लामो हो । यसमा २४ ओटा शब्द छन् ।
(ग) व्यक्तिगत स्वार्थमा नलागेको कुरा कुन वाक्यमा छ, त्यसको आशय के हो ?
=> उत्तर: व्यक्तिगत स्वार्थ त्यागेको प्रसङ्ग चौथो वाक्यमा आएको छ । यसको आशय सत्यमोहन जोशी आफ्ना निजी लाभभन्दा राष्ट्र र राष्ट्रियताको हितलाई प्राथमिकता दिँदै निरन्तर समर्पित रहे भन्ने हो ।
४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिलेदेखि भएको हो ?
उत्तर :
सत्यमोहन जोशी सरकारी सेवाका विभिन्न तहमा कार्यरत रहँदै भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा निरन्तर सक्रिय रहे । उनले नेपाली भाषासँगै नेपाल भाषामा समेत उल्लेखनीय काम गरे र साहित्यका अनेक विधामा कलम चलाए । कलेजमा अध्ययन गर्ने क्रममा उनी संस्कृत साहित्यबाट प्रभावित भए । त्यसपछि माधवप्रसाद घिमिरे र लक्ष्मीप्रसाद देवकोटाजस्ता साहित्यकारको सङ्गतबाट उनको साहित्यिक रुचि अझ विकसित भयो । भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरसँगको सम्पर्कपछि उनले अङ्ग्रेजी कथा तथा कवितालाई नेपालीमा अनुवाद गर्न थाले ।
जागिरे जीवनमा तनहुँ र लमजुङमा बस्दा उनले ग्रामीण लोकभाकाको मिठास नजिकबाट अनुभव गर्ने अवसर पाए । यही अनुभवले उनलाई लोकसाहित्यतर्फ आकर्षित गर्यो र साहित्य तथा संस्कृतिको अध्ययन–अनुसन्धानमा अघि बढायो । यी सबै साहित्यिक तथा सांस्कृतिक प्रभावका कारण उनी साहित्य सिर्जनामा लागे । उनको प्रारम्भिक साहित्यलेखनको सुरुआत १९९८ मा भएको थियो भने प्रकाशनका हिसाबले २०१४ सालमा ‘हाम्रो लोकसंस्कृति’ प्रकाशित भएपछि उनको साहित्यिक यात्रा स्पष्ट रूपमा अगाडि बढेको देखिन्छ ।
(ख) जोशीले कुन कुन सम्मान र पुरस्कार प्राप्त गरे ?
उत्तर :
नेपाली साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका सत्यमोहन जोशीले आफ्नो कार्यको कदरस्वरूप अनेक सम्मान र पुरस्कार प्राप्त गरेका छन् । नेपाली वाङ्मय तथा संस्कृतिमा पुर्याएको योगदानका लागि काठमाडौं विश्वविद्यालयले वि. सं. २०६८ मा उनलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । त्यसैगरी त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते उनलाई ‘शताब्दी पुरुष’ को उपाधि दिएको थियो । नेपाल सरकारले वि. सं. २०७४ वैशाख २१ गते उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिबाट सम्मानित गरेको थियो ।
उनको सम्मानमा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’समेत आयोजना गरिएको थियो । उनले ‘गोरखा दक्षिण बाहु’, ‘मदन पुरस्कार’, ‘पृथ्वी प्रज्ञा पुरस्कार’, ‘भानुभक्त पुरस्कार’ लगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका थिए । करिब दुई सय सङ्घसंस्थाबाट उनी सम्मान तथा अभिनन्दनसमेत प्राप्त गर्ने व्यक्तित्व बने ।
वि. सं. २०७६ मा नेपाल राष्ट्र बैङ्कले उनको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशनमा ल्याएको थियो । ‘लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्राहरू’ र ‘कर्णाली लोक संस्कृति’ का लागि उनले तीनपटक मदन पुरस्कार प्राप्त गरेका थिए । तीन तीन पटक मदन पुरस्कार पाउने उनी एक मात्र व्यक्ति हुन् ।
(ग) जोशीले लोकसाहित्यका क्षेत्रमा के के काम गरेका छन् ?
=> उत्तर: सत्यमोहन जोशीको लोकसाहित्यप्रतिको आकर्षण ग्रामीण जीवनका लोकभाकासँगको सम्पर्कबाट विकसित भएको थियो । कलेज पढ्दा संस्कृत साहित्यको प्रभावमा परी उनले छन्दमा कविता लेख्न थालेका थिए । लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेको सङ्गतबाट पनि उनले सिर्जनात्मक प्रेरणा प्राप्त गरे । भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यपछि उनले अङ्ग्रेजी कथा तथा कवितालाई नेपालीमा अनुवाद गरे ।
तनहुँ र लमजुङमा जागिरे भएर रहँदा उनले स्थानीय लोकभाकाहरू सुन्ने अवसर पाए । त्यस अनुभवले उनलाई लोकसाहित्य तथा संस्कृतिको खोज र अनुसन्धानमा समर्पित गरायो । यही क्रममा वि. सं. २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ नामक पुस्तक प्रकाशित गरे । उनले कविता, नाटक र समालोचनासँगै लोकसाहित्य तथा संस्कृतिसम्बन्धी दर्जनौँ कृति सिर्जना गरेका छन् । भाषा, नाटक, कविता, कथा र निबन्धजस्ता विधामा पनि उनका करिब तीन दर्जन कृति प्रकाशित छन् । नेपाल भाषाका विभिन्न विषय र विधासँग सम्बन्धित करिब चार दर्जन रचना प्रकाशन गरी उनले नेपाल भाषाको विकासमा योगदान पुर्याए । ‘नेपाल भाषा एकेडेमी’ स्थापना तथा नेवारी साहित्य, कला र संस्कृतिको संरक्षणमा समेत उनी सक्रिय रहे ।
चीनमा रहँदा उनले कलाकार अरनिको तथा उनले निर्माण गरेको श्वेतचैत्यबारे अनुसन्धान गरी ‘नेपाली वास्तुविद् कलाकार अरनिको’ नामक शोधग्रन्थ प्रकाशित गरे । भृकुटीसम्बन्धी अध्ययनबाट पनि उनले ऐतिहासिक तथ्य उजागर गर्ने प्रयास गरे । यसरी लोकसंस्कृति, भाषा र इतिहासको अनुसन्धानका विभिन्न काममार्फत उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।
(घ) नेपाल भाषा र संस्कृतिको संरक्षणमा जोशीको योगदान कस्तो रहेको छ ?
उत्तर :
सत्यमोहन जोशीले आफ्नो कार्यक्षेत्रलाई केवल साहित्यमा सीमित नराखी नेपालका भाषा तथा संस्कृतिको संरक्षण र विकासमा पनि व्यापक योगदान दिएका छन् । प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा उनले विभिन्न भाषाको अध्ययन, अनुसन्धान र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गरे । उनकै संयोजकत्वमा विदेशीहरूले नेपालसम्बन्धी तयार गरेका लेख, रचना तथा पुस्तकहरूको ग्रन्थसूची तयार गरिएको थियो ।
उनले प्रज्ञा प्रतिष्ठानमा रहँदा ‘गाईजात्रा महोत्सव’ लाई अघि बढाए । तत्कालीन प्रशासकको समेत व्यङ्ग्य गरिएको भन्दै गाईजात्रा कार्यक्रम रोक्न दरबारबाट दबाब आए पनि उनले त्यसलाई स्वीकार गरेनन् । जनतामाझ लोकप्रिय रहेको कार्यक्रम बन्द गर्न नसकिने स्पष्ट धारणा उनले राखे । यस घटनाले जनभावनाविरुद्ध आएको दबाबका अगाडि उनी नझुक्ने व्यक्तित्व भएको देखाउँछ ।
गाईजात्रामार्फत सामाजिक विकृति र विसङ्गतिमाथि हास्यव्यङ्ग्य गर्ने परम्परालाई बलियो बनाउन उनले योगदान दिए । त्यसबाट उत्साहित भएर नेपाली नाटकको विकासका लागि प्रतिष्ठानमै ‘नाटक महोत्सव’ गर्ने परिपाटी सुरु गराए । जमलमा राष्ट्रिय नाचघरका लागि जग्गा खरिद तथा भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालय निर्माणको काममा पनि उनको सक्रिय भूमिका थियो ।
प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव रहँदा उनले नेपाली भाषाका अतिरिक्त शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवार, चेपाङ र राजवंशीलगायत भाषाको अध्ययन तथा अनुसन्धान गराए । यी १४ भाषामा पर्यायवाची कोश निर्माण गर्ने कार्य पनि सम्पन्न भयो । साथै नेपालका प्राचीन मुद्राको खोज तथा अनुसन्धान गरी ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ तयार गरे । यी विविध प्रयासले भाषा र संस्कृतिको संरक्षणमा उनको योगदान स्पष्ट हुन्छ ।
५. कोष्ठकभित्र साल र त्यसभन्दा तल सत्यमोहनको जीवनमा घटेका घटना दिइएका छन् । उक्त घटना कुन कुन सालमा भएका हुन्, पहिचान गरी लेख्नुहोस् :
(वि. सं. १९७७, १९९८, २००१, २०१४, २०६८, २०७१, २०७४, २०७६)
- •(क) हाम्रो लोकसंस्कृति नामक पुस्तक प्रकाशन : २०१४
- •(ख) नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्राप्त : २०७४
- •(ग) काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधिले विभूषित : २०६८
- •(घ) सत्यमोहनको जन्म : १९७७
- •(ङ) त्रिचन्द्र कलेजबाट आई.ए. उत्तीर्ण : १९९८
- •(च) नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित धातुको सिक्का प्रकाशन : २०७६
- •(छ) त्रिमूर्ति निकेतनबाट ‘शताब्दी पुरुष’ को उपाधि प्राप्त : २०७१
- •(ज) जागिरे जीवनको सुरुआत : २००१
६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सत्यमोहन जोशीका आमाबुबा चिन्तित हुनुको कारण के हो ?
=> उत्तर: सत्यमोहन जोशी पाँच वर्षको उमेर पुग्दासमेत बोल्न नसकेका कारण उनका आमाबुबा चिन्तित भएका थिए ।
(ख) सत्यमोहन जोशीको अक्षरारम्भ कुन उमेरमा र कहाँ भएको थियो ?
=> उत्तर: सात वर्षको उमेरमा छिमेकी गुरुबाट सत्यमोहन जोशीको अक्षरारम्भ भएको थियो ।
(ग) उनको पढाइ अघि बढ्न नसक्नुको कारण के देखिन्छ ?
=> उत्तर: उनको परिवार आर्थिक कठिनाइमा थियो । घरको जीविका चलाउनै समस्या भइरहेका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन् र जागिरे जीवनतर्फ लाग्नुपर्ने अवस्था आयो ।
(घ) सत्यमोहनले कुन तहसम्मको शिक्षा हासिल गरेका थिए ?
=> उत्तर: सत्यमोहन जोशीले स्नातक तहसम्मको अध्ययन गरेका थिए ।
७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) उत्तर दिनुहोस् :
(अ) ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्नाले के बुझिन्छ ?
=> उत्तर: गरिब तथा विपन्न मानिसहरूले जीवन धान्न सिस्नु खाने गर्थे । धेरै धनसम्पत्ति भएर पनि चिन्तित जीवन बिताउनुभन्दा साग र सिस्नुजस्ता साधारण खाना खाएर खुसीसाथ बाँच्नु राम्रो हुन्छ भन्ने उक्त भनाइको आशय हो ।
(आ) सिस्नुमा कुन पौष्टिक तत्त्व पाइन्छ ?
=> उत्तर: सिस्नुमा औषधीय गुणका अतिरिक्त २५ प्रतिशतसम्म प्रोटिन, भिटामिन ए, सी, डी तथा लौहतत्त्व, पोटासियम र क्लाल्सियमजस्ता पौष्टिक तत्त्व पाइन्छ ।
(इ) सिस्नुलाई किन अर्गानिक उत्पादन भनिएको हो ?
=> उत्तर: सिस्नु प्रायः पाखापखेरामा प्राकृतिक रूपमा उम्रन्छ र यसमा विषादी वा रासायनिक मलको प्रयोग हुँदैन । त्यसैले यसलाई अर्गानिक उत्पादन भनिएको हो ।
(ई) सिस्नु पकाएर खाने विभिन्न तरिका बताउनुहोस् ।
=> उत्तर: सिस्नुलाई राम्ररी पखालेर उम्लिरहेको पानीमा राखी घोटेर पकाउन सकिन्छ । यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन र मकैका च्याख्ला मिसाएर पनि पकाइन्छ । नुन, मरिच र क्रिम राखेर सुप बनाएर खान सकिन्छ । ग्रिनटीका रूपमा सेवन गर्न पनि मिल्छ । सिस्नु सुकाएर पाउडर बनाई सुप वा तरकारीमा प्रयोग गर्न सकिन्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदबाट ‘आदि’ र ‘विपन्न’ शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।
=> उत्तर: आदि : पछिल्ला, विपन्न : सम्पन्न
(आ) अनुच्छेदबाट चन्द्रबिन्दु लागेका शब्द टिप्नुहोस् ।
=> उत्तर: लोभ्याउँदै, चाहिँ, सँग
(इ) ‘विशुद्ध’ र ‘प्रचलन’ शब्दमा लागेका उपसर्ग छुट्याउनुहोस् । ती उपसर्ग लागेका थप दुई दुईओटा शब्द लेख्नुहोस् ।
=> उत्तर: वि+शुद्ध, प्र+चलन, वि+मान, वि+विशेष, प्र+कार, प्र+योग ।
(ई) अनुच्छेदबाट दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: रासायनिक : रसायन+इक, औषधीय : औषध+ईय
८. जीवनीमा रहेको ‘नेपाल आमाका .... व्यक्ति हुन्’ अनुच्छेदबाट मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
उत्तर :
बुँदाहरू :
क नेपाल आमाका सपुत जोशीले थुप्रै सम्मान तथा पुरस्कार पाउनु र नेपालीको गौरव उच्च पार्नु,
ख वाङ्मय र संस्कृतिका क्षेत्रमा पुर्याएको योगदानस्वरूप महाविद्यावारिधिको उपाधि, शताब्दी पुरुष र शताब्दी वाङ्मय पुरुषजस्ता उपाधि पाउनु,
ग जोशीले गोर्खा दक्षिण बाहु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुभक्त पुरस्कारलगायत दर्जनौँ पुरस्कार पाउनु,
घ नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशन गरेको छ भने तीन पटक मदन पुरस्कार पाउनु ।
✍️ सारांश लेखन
उत्तर :
सत्यमोहन जोशी
सत्यमोहन जोशी नेपाल र नेपालीको गौरव बढाउने बहुआयामिक व्यक्तित्व हुन् । भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानका कारण उनले अनेक सम्मान र उपाधि प्राप्त गरेका छन् । गोरखा दक्षिण बाहु, मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार र भानुभक्त पुरस्कारजस्ता दर्जनौँ सम्मान प्राप्त गरेका जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का नेपाल राष्ट्र बैङ्कले प्रकाशनमा ल्याएको थियो । विभिन्न सङ्घसंस्थाबाट अभिनन्दित भएका उनले विभिन्न कृतिका लागि तीनपटक मदन पुरस्कारसमेत प्राप्त गरेका थिए ।
सोधिएको शब्दसङ्ख्या : १७४
एक तृतीयांश शब्दसङ्ख्या : ५८
सारांशिक शब्दसङ्ख्या : ६०
९. सत्यमोहन जोशीको जीवनीबाट कस्तो शिक्षा पाइन्छ, तलका भनाइका आधारमा व्याख्या गर्नुहोस् :
उत्तर :
सत्यमोहन जोशीको जीवनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भाषा, साहित्य, संस्कृति र देशको हितमा निरन्तर काम गर्न प्रेरणा दिन्छ । उनले लामो समयसम्म नेपाली भाषासाहित्यको विकासमा योगदान दिँदै आफ्नो जीवन राष्ट्र र समाजका लागि समर्पित गरे ।
उनको जीवनबाट कठिन परिस्थितिमा पनि धैर्य कायम राख्नुपर्ने शिक्षा प्राप्त हुन्छ । उनी सादा जीवन र उच्च विचारमा विश्वास गर्ने व्यक्ति थिए । जीवनमा आएका दुःख वा अवरोधबाट विचलित नभई सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्ने उनको जीवनशैलीले देखाउँछ । सुख प्राप्त हुँदा पनि अहङ्कार नगरी निरन्तर कर्ममा लागिरहनुपर्छ ।
मानिसले आफ्नो कर्तव्यप्रति इमानदार भएर काम गरिरह्यो भने परिणामका लागि अनावश्यक चिन्ता लिनुपर्दैन । जीवनमा आरोह–अवरोह स्वाभाविक हुन्छन् । काम गर्ने क्रममा बाधा आएमा त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ । संघर्षबिना उपलब्धि प्राप्त गर्न कठिन हुने भएकाले कठिनाइसँग जुध्ने क्षमता विकास गर्न आवश्यक छ ।
त्यसैले जोशीको जीवनीले सरल जीवन, उच्च सोच, धैर्य, निरन्तर परिश्रम, आशावादी दृष्टिकोण र राष्ट्रसेवाको भावना अपनाउन सिकाउँछ । जीवनमा आइपर्ने उकाली–ओरालीलाई स्वीकार गर्दै कर्मशील भएर अघि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा उनको जीवनबाट लिन सकिन्छ ।
१०. जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस् ।
उत्तर :
सत्यमोहन जोशी नेपालका भाषा, साहित्य, लोकसाहित्य र संस्कृतिको संरक्षण तथा विकासमा जीवनभर सक्रिय रहेका राष्ट्रप्रेमी व्यक्तित्व हुन् । उनले आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा देश र राष्ट्रिय हितलाई प्राथमिकता दिए । गाईजात्रा महोत्सवको प्रवर्धन गर्नुका साथै नेपाली नाटकको विकासका लागि नाटक महोत्सव सञ्चालन गर्ने परम्परा सुरु गराए । जमलमा राष्ट्रिय नाचघरका लागि जग्गा खरिद तथा भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालय निर्माणमा पनि उनको महत्त्वपूर्ण भूमिका रह्यो ।
नेपालका विभिन्न राष्ट्रभाषाको अध्ययन र अनुसन्धानमा पनि उनले योगदान पुर्याए । प्राचीन मुद्राको खोज अनुसन्धान गरी ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ प्रकाशित गरे । अध्ययनका क्रममा विश्वकै सबैभन्दा सानो सिक्का पत्ता लगाएर त्यसलाई गिनिजबुक वल्र्ड रेकर्डमा समेत दर्ता गराए । चीनमा रहँदा अरनिको तथा भृकुटीसम्बन्धी अध्ययन गरे र श्वेतचैत्यबारे अनुसन्धान गरी पुस्तक प्रकाशन गरे ।
नेपाल भाषा, नेवारी साहित्य, कला र संस्कृतिको संरक्षणमा उनको भूमिका उल्लेखनीय थियो । ‘नेपाल भाषा एकेडेमी’ को स्थापना, चिनियाँ कविताको नेपाली अनुवाद तथा कर्णाली लोकसंस्कृतिको खोजजस्ता कार्यबाट उनले आफ्नो संस्कृतिविद्को पहिचान स्थापित गरे । विभिन्न देशमा पुगेर नेपाली भाषा र संस्कृतिको परिचय फैलाउने कामसमेत गरे ।
भाषा, साहित्य र संस्कृतिको उन्नतिका लागि उनले निरन्तर श्रम गरे । राष्ट्र र राष्ट्रियताको हितलाई जीवनको मुख्य उद्देश्य बनाएका कारण उनी कर्मशील तथा देशप्रेमी व्यक्तित्वका रूपमा स्थापित भए । उनको अथक प्रयासबाट नेपालका बहुभाषिक र बहुसांस्कृतिक पक्षलाई एकताको भावनासँग जोड्ने काम भयो । त्यसैले उनका कार्य र योगदानले उनी सच्चा देशभक्त हुन् भन्ने प्रमाणित गर्छ ।
११. तपाईँको समुदायमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका कुनै एक जना व्यक्तिको व्यक्तिवृत्त तयार गर्नुहोस् ।
१२. दिइएका सन्दर्भका आधारमा सत्यमोहन जोशीका योगदानको चर्चा गर्नुहोस् ।
उत्तर :
सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा दीर्घकालीन तथा बहुआयामिक योगदान दिएका छन् । प्रशासनिक सेवादेखि साहित्यिक सिर्जना, भाषिक अनुसन्धान र सांस्कृतिक संरक्षणसम्म विभिन्न क्षेत्रमा उनले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरे ।
आई.ए. उत्तीर्ण गरेपछि उनले स्नातक तहको अध्ययन सुरु गरेका थिए । तर परिवारको जीविकाका लागि जागिर गर्नुपर्ने परिस्थितिका कारण उनको पढाइ रोकियो । वि. सं. २००१ मा औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डाबाट जागिरे जीवन सुरु गरेका उनले राष्ट्रिय योजना परिषद्मा अधिकृत, परशुराम भक्त माथेमाका स्वकीय सचिव, पुरातत्व र संस्कृति विभागका निर्देशक तथा प्रज्ञा प्रतिष्ठानका सदस्यलगायत जिम्मेवारी सम्हाले ।
साहित्यतर्फ उनको योगदान पनि उत्तिकै उल्लेखनीय छ । १९९८ बाट साहित्य लेखन थालेका उनले २०१४ मा ‘हाम्रो लोकसंस्कृति’ प्रकाशित गरे । कविता, नाटक, समालोचना, लोकसाहित्य र संस्कृतिसम्बन्धी अनेक कृति सिर्जना गरे । नेपाली साहित्यका विभिन्न विधामा उनका दर्जनौँ रचना प्रकाशित भएका छन् । नेपाल भाषामा समेत विभिन्न विषय र विधाका करिब चार दर्जन रचना प्रकाशित गरी उनले त्यस भाषाको विकासमा योगदान पुर्याए ।
सांस्कृतिक तथा भाषिक क्षेत्रमा उनले गाईजात्रा महोत्सवको प्रवर्धन, नाटक महोत्सवको आयोजना, राष्ट्रिय नाचघर र सङ्ग्रहालय निर्माणमा सहयोग, विभिन्न राष्ट्रभाषाको अध्ययन–अनुसन्धान तथा शब्दकोश निर्माणजस्ता कार्य गरे । नेपालका प्राचीन मुद्राको अनुसन्धान गरी त्यससम्बन्धी ग्रन्थसमेत तयार गरे ।
उनले अरनिको, भृकुटी र श्वेतचैत्यबारे खोज तथा अनुसन्धान गरेर शोधग्रन्थ प्रकाशन गरे । आफ्नो भाषा र संस्कृतिको प्रवर्धनका लागि विदेशसम्म पुगे र नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन योगदान दिए । यसरी प्रशासन, साहित्य, भाषा तथा संस्कृतिका विभिन्न क्षेत्रमा सक्रिय भएर उनले नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा अविस्मरणीय योगदान दिएका छन् ।
१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
तपाईँ पनि आफ्ना साथी वा भाइबहिनीलाई आफ्नो लक्ष्य प्राप्तिका लागि लागिरहन कसरी अभिप्रेरित गर्नुहुन्छ, कक्षामा साथी साथी मिलेर भूमिका निर्वाह गरेर देखाउनुहोस् ।
=> उत्तर: म आफ्ना साथी वा भाइबहिनीलाई लक्ष्य प्राप्तिका लागि निरन्तर कर्म गर्नुपर्छ भन्ने भावना जगाउँछु । यसका लागि कठिन अवस्थाबाट अघि बढेर सफलता हासिल गरेका व्यक्तिका उदाहरण प्रस्तुत गर्छु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिया पसलेबाट प्रधानमन्त्री बनेको, एउटा बाथरोगका रोगी रामदेव योगका प्रशिक्षक बनेको तथा नेपालकी झमक घिमिरेले कठिन परिस्थितिबीच प्राप्त गरेको सफलता जस्ता उदाहरण सुनाएर मानिसले दृढ इच्छा, निरन्तर प्रयास र मेहनत गरेमा कठिनभन्दा कठिन काम पनि पूरा गर्न सक्छ भन्ने कुरामा उनीहरूलाई प्रेरित गर्छु ।
🎧 सुनाइ र बोलाइ
१. सुनाइ पाठ ५ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) म पात्र बाहिर निस्कन डराउनाको कारण के थियो ?
=> उत्तर: ‘म’ पात्र नयाँदिल्लीमा भर्खर पुगेका थिए । आफू नयाँ ठाउँमा भएकाले बाटो बिराएर हराउने डरका कारण उनी बाहिर निस्कन डराएका हुन् ।
(ख) म पात्रले गाउँघरमा के खाए जस्तै गरी पान खाए ?
=> उत्तर: ‘म’ पात्रले गाउँघरमा पूजाआजाका अवसरमा पातामा पोको पारेर प्रसादका रूपमा खाने चलन सम्झँदै पानलाई पनि त्यस्तै मानेर खाए ।
(ग) म पात्र किन हाँसोका पात्र भए ?
=> उत्तर: पानको पोको खोलेर त्यसभित्र रहेका खिच्रिङमिच्रिङ वस्तुहरू औँलाले निकाल्दै खान थालेको देखेपछि अरूलाई उनको व्यवहार अनौठो लाग्यो । त्यसैले उनी हाँसोको पात्र बने ।
(घ) म पात्रलाई किन ग्लानि भयो ?
=> उत्तर: आफूले हतार नगरी केही समय पर्खिएर अरूले पान कसरी खाने रहेछन् भन्ने हेरेको भए यस्तो अवस्था आउने थिएन भन्ने उनलाई लाग्यो । यही हतारका कारण आफू हास्यास्पद बनेको महसुस भएकाले उनलाई ग्लानि भयो ।
२. नयाँ ठाउँमा जाँदा तपाईँलाई कस्तो अनुभूति हुन्छ, कक्षामा सुनाउनुहोस् ।
🔤 भाषिक संरचना र वर्णविन्यास
३. दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
| शब्द निर्माण | निर्माण प्रक्रिया |
|---|---|
| अनुसार | अनु+सार |
| बदनाम | बद+नाम |
| पराजय | परा+जय |
| प्रगति | प्र+गति |
| प्रारम्भ | प्र+आरम्भ |
| अपमान | अप+मान |
| संवाद | सम्+वाद |
| विभेद | वि+भेद |
| अध्यादेश | अधि+आदेश |
| अभिव्यक्ति | अभि+व्यक्ति |
| अत्युत्तम | अति+उत्तम |
| विकल्प | वि+कल्प |
| प्रत्येक | प्रति+एक |
| नियोग | नि+योग |
| परिभाषा | परि+भाषा |
| उपहार | उप+हार |
| उपकरण | उप+करण |
| निर्दोष | निर्+दोष |
| निर्जीव | निर्+जीव |
| निर्भय | निर्+भय |
| दुष्कर्म | दुस्+कर्म |
| दुर्गति | दुर्+गति |
| उल्लेख्य | उत्+लेख्य |
| दुर्घटना | दुर्+घटना |
| अवशेष | अव+शेष |
| आकृति | आ+कृति |
| निबन्ध | नि+बन्ध |
| नाजवाफ | ना+जबाफ |
४. दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
| उपसर्ग | शब्द निर्माण |
|---|---|
| बद | बद+मासः बदमास, बद+नियतः बदनियत |
| ना | ना+लायकः नालायक, ना+जबाफः नाजवाफ |
| अधि | अधि+कारः अधिकार, अधि+आत्मः अध्यात्म |
| अनु | अनु+वादः अनुवाद, अनु+हारः अनुहार |
| अभि | अभि+नयः अभिनय, अभि+भावकः अभिभावक |
| अति | अति+अन्तः अत्यन्त, अति+चार : अतिचार |
| अव | अव+गुणः अवगुण, अव+शेषः अवशेष |
| अप | अप+मानः अपमान, अप+कारः अपकार |
| उत् | उत्+कृष्ट : उत्कृष्ट, उत्+गमः उद्गम |
| दुर् | दुर्+गमः दुर्गम, दुर्+आशाः दुराशा |
| दुस् | दुस्+कर्म : दुष्कर्म, दुस्+साहसः दुस्साहस |
| नि | नि+गमः निगम, नि+योगः नियोग |
| निर् | निर्+माणः निर्माण, निर्+वाचनः निर्वाचन |
| परा | परा+जयः पराजय, परा+क्रमः पराक्रम |
| परि | परि+चयः परिचय, परि+वर्तनः परिवर्तन |
| प्र | प्र+कारः प्रकार, प्र+योगः प्रयोग |
| प्रति | प्रति+कारः प्रतिकार, प्रति+एकः प्रत्येक |
| वि | वि+शेषः विशेष, वि+मानः विशेष |
| सम् | सम्+भावना : सम्भावना, सम्+योगः संयोग |
५. दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
| उपसर्ग व्युत्पन्न शब्द | निर्माण प्रक्रिया |
|---|---|
| पर्यटन | परि+अटन |
| उद्योग | उत्+योग |
| प्रचुर | प्र+चुर |
| सम्भावना | सम्+भावना |
| प्रकृति | प्र+कृति |
| पर्यावरण | परि+आवरण |
| पर्यटक | परि+अटक |
| आकर्षण | आ+कर्षण |
| अतिथि | अ+तिथि |
| सम्मान | सम्+मान |
६. दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्द कुन कुन प्रत्यय लागेर बनेका छन्, छुट्याउनुहोस् :
=> उत्तर: बोल्+अक्कड, कवि+य, सिप+आलु, दाङ+आली, घुस +याहा, भ्रष्टाचार+ई, सहर+इया, बोल्+आवट, बैतडी+एली, दृश्+अन, गाउँ+ले ।
७. दिइएका प्रत्ययबाट एक एकओटा शब्द निर्माण गर्नुहोस् :
| प्रत्यय | शब्द निर्माण |
|---|---|
| अक्कड | बुझ्+अक्कड : बुझक्कड |
| आइ | लेख्+आइ : लेखाइ |
| आउ | चुन्+आउ : चुनाउ |
| आली | लेक+आली : लेकाली |
| आलु | माया+आलु : मायालु |
| आवट | चुहु+आवट : चुहावट |
| आहा | सुत्+आहा : सुताहा |
| इया | भित्र+इया : भित्रिया |
| इलो | रस+इलो : रसिलो |
| ई | बाहिर+ई : बाहिरी |
| एली | जून+एली : जुनेली |
| ओट | लेख्+ओट : लेखोट |
| ली | पाल्पा+ली : पाल्पाली |
| ले | भादगाउँ+ले : भादगाउँले |
| अक | कृ+अक : कारक |
| अन | भू+अन : भवन |
| इक | समाज+इक : सामाजिक |
| ता | मित्र+ता : मित्रता |
| ति | कृ+ति : कृति |
| य | धीर+य : धैर्य |
८. दिइएको अनुच्छेद पढी शिरबिन्दु र चन्द्रबिन्दु लागेका शब्दको अलग अलग सूची बनाउनुहोस् :
| शिरबिन्दु लागेका शब्दहरू | चन्द्रबिन्दु लागेका शब्दहरू |
|---|---|
| संयोग | सँगसँगै |
| संवेग | खाँदा |
| संलग्न | छुट्टिँदैन् |
| संस्कृति | सँगी |
९. दिइएको अनुच्छेदलाई शिरबिन्दु र चन्द्रबिन्दुको उपयुक्त प्रयोग गरी पुनर्लेखन गर्नुहोस् :
उत्तर :
संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल टेलिभिजनसँग सङ्क्षिप्त कुराकानी गर्दै हाम्रो संस्कार र संस्कृतिको संरक्षण हामी आफैले गर्नुपर्छ भन्ने धारणा राख्नुभयो । अझ उहाँले नेपाली गाउँघर र लेकबेँसीबाट लोकसाहित्यको सँगालो नै भेटिने प्रकृयासमेत दिनुभयो ।
🎭 सिर्जना र परियोजना कार्य
१. नाटककार बालकृष्ण समको व्यक्तिगत विवरण पढ्नुहोस् । दिइएका सूचनाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् :
उत्तर :
बालकृष्ण सम
नेपाली साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टामध्ये बालकृष्ण समको स्थान विशेष महत्त्वको छ । विशेषतः नेपाली नाटकको विकास र विस्तारमा उनको योगदान उल्लेखनीय मानिन्छ । पिता समर शमशेर जबरा र माता कृति राज्यलक्ष्मीका सुपुत्रका रूपमा उनको जन्म वि. सं. १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो ।
उनले आई. एस्सीसम्म अध्ययन गरेका थिए । जीवनका क्रममा सैनिक सेवामा काम गर्नुका साथै रेडियो नेपालको निर्देशक तथा गोरखापत्रका सम्पादकजस्ता जिम्मेवारीसमेत सम्हाले । साहित्य सिर्जनामा सक्रिय रहेका उनका ‘मुटुको व्यथा’, ‘अमरसिंह’ र ‘भीमसेनको अन्त्य’जस्ता नाटक प्रकाशित भएका छन् । त्यसैगरी ‘चिसो चुल्हो’ महाकाव्य तथा ‘आगो र पानी’ खण्डकाव्य पनि उनका महत्त्वपूर्ण कृतिहरू हुन् ।
आधुनिक नेपाली नाटकका प्रवर्तकका रूपमा परिचित बालकृष्ण समले सुखान्त र दुःखान्त दुवै प्रकारका नाटक रचना गरे । नेपाली नाटकको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले उनी ‘नाट्यसम्राट्’ का रूपमा समेत प्रसिद्ध छन् ।
नेपाली साहित्यमा पुर्याएको योगदानको सम्मानस्वरूप उनले त्रिभुवन पुरस्कार, साझा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कारलगायत सम्मान तथा पुरस्कार प्राप्त गरे । नेपाली साहित्यमा आफ्नो विशिष्ट छाप छोडेका उनको मृत्यु वि. सं. २०३८ साउन ६ गते काठमाडौँमा भएको थियो ।