📖 स्वाद
📚 शब्दभण्डार
१. दिइएका शब्दहरूको अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| बहाली | नयाँ पद, ओहदा, अधिकार आदि सम्हाल्ने काम |
| गर्व | अभिमान, घमन्ड |
| फारो | थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा, मितव्ययिता |
| भाउ | दर, मोल |
| ज्यास्ती | ज्यादा |
| नोक्सानी | नोक्सान भएको स्थिति |
| अड्डी | जिद्दी, ढिपी |
| तोड | आघात, मानसिक चोट |
| टोकरी | बाँसका चोयाले बुनेको एक किसिमको सानो डाली |
२. बोलीचालीमा प्रयोग भएका शब्दका शुद्ध रूप लेख्नुहोस् :
| बोलीचालीको रूप | शुद्ध रूप |
|---|---|
| याँ | यहाँ |
| गऱ्या | गरेको |
| सक्या | सकेको |
| पाँचोटा | पाँचओटा |
| चिन्या | चिनेको |
| काट्या | काटेको |
| कॉ | काँ |
| पख्नुसन् | पस्नुहोस् न |
| लानुस् | लानुहोस् |
३. निम्न टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस् :
| टुक्का | वाक्यमा प्रयोग |
|---|---|
| खोटो हुनु | भाग्य मै खोटो भएपछि जति मेहनत गरेपनि केही उपलब्धि नहुने रहेछ । |
| अड्डी कस्नु | अनावश्यक कुरामा अड्डी कसेर बस्नु त्यति राम्रो होइन । |
| मुखमै झुन्डिनु | अस्ति बिहेमा खाएको पुलौको स्वाद त मेरो मुखैमा झुन्डिएको छ । |
| सेखी झिक्नु | बुढाले बुढीसँग र बुढीले बुढासँग सेखी गरेर केही फाइदा हुदैन । |
४. कथामा प्रयोग भएका उखानहरू लेख्नुहोस् :
| उखान |
|---|
| इलमीका भागमा दुध र भात |
| अघिको तितो पछिको मिठो |
| जाँगर न साँगर खाने बेलामा आँ गर |
| रातभरि करायो दक्षिण हरायो |
| दिन उजेली सुती गुमाई |
| रात उजेली बिस्कुन सुकाई |
अन्य पाँचबोटा उखान :
| उखान |
|---|
| काला अक्षर भैंसी बराबर |
| काम गर्ने कालु मकै खाने भालु |
| जसले मह काड्छ, उसले हात चाट्छ |
| सेवा गरे मेवा मिल्छ |
| हात्तीको मुखमा जिरा |
५. कथामा आएका अनुकरणात्मक शब्दहरू लेख्नुहोस् :
=> उत्तर: लुरुलुरु, चपक्क, घुटुक्क, जुरुक्क, सरासर, घटघट ।
६. अनुकरणात्मक शब्दलाई तिनले जनाउने कार्यसँग मिलाउनुहोस् :
| अनुकरणात्मक शब्द | जनाउने कार्य |
|---|---|
| फटाफट | हिँड्नु |
| गम्लङ्ङ | ओढ्नु |
| घ्याच्च | रोक्किनु |
| कपाकप | खानु |
| छ्याङ्ग | उज्यालो हुनु |
| गलल्ल | हाँस्नु |
| हुरुरुरु | हावा चल्नु |
📝 बोध र अभिव्यक्ति
१. निम्न शब्दहरूको शुद्ध उच्चारण गर्नुहोस् :
| शब्द | शुद्ध उच्चारण |
|---|---|
| घृणा | घ्रि. ना. |
| भाषण | भा. सन्. |
| स्वास्थ्य | स्वास्. थ्य. |
| टोकरी | टो.क.रि. |
| सान्त्वना | सान्. त्व. ना. |
| गह्रौँ | गह्. रौं. |
| महँगो | म.हँ.गो. |
| ज्यालादारी | ज्या. ला. दा. रि. |
| विक्रेता | बिक्.रे.ता. |
२. 'स्वाद' कथाका अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. निम्न शब्दको अक्षर संरचना देखाउनुहोस् :
| शब्द | अक्षर संरचना | अक्षर सङ्ख्या |
|---|---|---|
| साबुन | सा. बुन् | दुई |
| गरिबी | ग. रि. बि | तीन |
| पद | पद | एक |
| महिनाबारी | म. हि. ना. बा. रि | पाँच |
| प्रसन्नता | प्र. सन् न ता | चार |
४. 'स्वाद' कथाको संरचनागत पक्षहरू उल्लेख गर्नुहोस् ।
(क) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तर :
घरमा साबुन सकिएर लोग्नेले नुहाउन नपाएको अवस्थालाई कथाको प्रारम्भिक घटनाका रूपमा प्रस्तुत गरिएको छ ।
(ख) कथाको संवादमा कति जना पात्र छन् ?
उत्तर :
कथामा संवाद गर्ने क्रममा चार जना पात्रको उपस्थिति रहेको छ ।
(ग) कथाको अन्त्य कुन घटनामा हुन्छ ?
उत्तर :
माछा किन्नका लागि लिएको पाँच रुपियाँ ऋण तिर्ने घटनाबाट कथाको अन्त्य भएको छ ।
(घ) कथाको परिवेश कस्तो छ ?
उत्तर :
कथाले आजभन्दा लगभग ५० वर्ष अगाडिको नेपालको कुनै एउटा सहरको परिवेशलाई समेटेको छ ।
५. कथाको मौन पठन गरी प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) 'ऊ' पात्रको जागिरप्रतिको धारणा कस्तो देखिन्छ ?
उत्तर :
लामो समयसम्म बेरोजगार रहनुपरेपछि 'ऊ' ले साधारण कारिन्दाको काम पाएको थियो । त्यसैले उसले प्राप्त गरेको जागिरलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको थियो । तलब हात पर्ने दिन ऊ विशेष रूपमा प्रसन्न हुन्थ्यो र जागिर पाएकोमा सन्तोष मान्थ्यो । यसबाट उसको जागिरप्रतिको धारणा सकारात्मक रहेको बुझ्न सकिन्छ ।
(ख) ऊ नुहाउन नसक्नुको कारण के थियो ?
उत्तर :
उसको पैसा सकिएको थियो र घरमा साबुन पनि बाँकी थिएन । साबुन किन्न नसकेकाले उसले नुहाउन सकेन ।
(ग) श्रीमती कोठाभित्र किन पसिन् ?
उत्तर :
लोग्नेले पाउने तलबअनुसार घरका विभिन्न खर्च कसरी मिलाउने भन्ने हिसाब गर्न श्रीमती कोठाभित्र पसेकी थिइन् ।
(घ) 'एउटा पद आजीवन पाउनु' भन्नाले के बुझिन्छ ?
उत्तर :
यस भनाइको अर्थ आफूले पाएको पदबाट माथिल्लो पदमा पदोन्नति नहुनु र जीवनभर त्यही पदमा रहेर काम गर्नु हो ।
६. तलका संवाद कसले कोसँग भनेका हुन् ?
| संवाद | वक्ता र श्रोता |
|---|---|
| (क) साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी । | स्वास्नीले आफ्नो लोग्नेसँग |
| (ख) मैले हिसाब गऱ्याभन्दा बढी नै रकम पो आएछ त ? | लोग्नेले आफ्नी स्वास्नीसँग |
| (ग) सागपातमा धेरै भिटामिन हुन्छ । | लोग्नेले सम्झिएको |
| (घ) मलाई घर जान पनि हतार छ । | माछा व्यापारीले स्वास्नीसँग |
| (ङ) अर्काको खसी ज्यालादारीमा काटेको थिएँ, सबै पैसा भर्खरै त्यसैलाई बुझाइसकें । | कान्छा दाइले लोग्नेसँग |
७. कथाको समय निर्धारण गर्नुहोस् ।
उत्तर :
कथामा आर्थिक अवस्थासँग सम्बन्धित विभिन्न विवरण दिइएका छन् । महिनाभरि हुने थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के जी र तरकारीको मूल्य एक रुपियाँ किलो हुनु तत्कालीन आर्थिक अवस्थाको सङ्केत हो । यी विवरणका आधारमा कथाको समय आजभन्दा लगभग ५०-६९ वर्ष अघिको रहेको अनुमान गर्न सकिन्छ ।
८. निम्न प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) 'स्वाद' कथाका लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताहरूको तुलना गर्नुहोस् ।
उत्तर :
लोग्ने :
लोग्ने कथाको मुख्य पुरुष पात्र हो । ऊ साधारण कारिन्दाका रूपमा कार्यरत छ र सीमित तलबबाट परिवारको जीवन धानिरहेको छ । आर्थिक अभाव उसको दैनिकीको प्रमुख समस्या भए पनि ऊ गरिबीलाई आफ्नो स्थायी अवस्था मानेर बस्न चाहँदैन । साबुनबिना ननुहाउने उसको बानीले उसको सोच र जीवनशैलीलाई देखाउँछ । ऊ गरिबीप्रति घृणा गर्छ र आर्थिक अवस्थाप्रति असन्तुष्ट छ । लामो समय बेरोजगार बसेपछि जागिर प्राप्त गरेकोमा ऊ खुसी हुन्छ । सामान्य लेखपढ गर्न सक्ने तथा जागिरलाई महत्त्व दिने व्यक्तिका रूपमा उसको चरित्र देखाइएको छ ।
स्वास्नी :
स्वास्नी कथाकी प्रमुख महिला पात्र हो । ऊ घरको आर्थिक अवस्था बुझेर व्यवहार गर्ने व्यावहारिक तथा जिम्मेवार महिला हो । अभाव भए पनि उपलब्ध साधनको प्रयोग गरेर जीवन चलाउन सकिन्छ भन्ने उसको धारणा छ । साबुन नभए पनि नुहाउनुपर्ने उसको विचारबाट उसको व्यवहारिकता प्रकट हुन्छ । घरखर्चको हिसाब राख्ने, आवश्यक वस्तुको सूची बनाउने, पैसा अपुग हुँदा सापटी खोज्ने र लोग्नेलाई साथ दिने भएकाले ऊ घरव्यवहारमा सिपालु, समझदार र सहयोगी पात्रका रूपमा प्रस्तुत भएकी छ ।
(ख) 'स्वाद' कथामा नेपाली समाजको आर्थिक समस्यालाई कसरी प्रस्तुत गरिएको छ ?
उत्तर :
कथाले साधारण कारिन्दाको परिवारको दैनिकीमार्फत नेपाली समाजको आर्थिक कठिनाइलाई देखाएको छ । परिवारको आम्दानी सीमित भएकाले दैनिक जीवनका सामान्य आवश्यकता पूरा गर्नसमेत कठिनाइ हुन्छ । एउटा सामान्य वस्तु किन्नका लागि समेत पैसा नपुग्ने अवस्थाले परिवारको कमजोर आर्थिक स्थिति स्पष्ट पार्छ ।
मानिसका आवश्यकता र चाहना धेरै भए पनि आम्दानी त्यहीअनुसार पर्याप्त हुँदैन । मिठो खाने, राम्रो लगाउने र सन्तानका आवश्यकता पूरा गर्ने इच्छा भए तापनि आर्थिक अभावले ती सबै पूरा गर्न सम्भव हुँदैन । तलब आएको दिन केही समय खुसी प्राप्त भए पनि पैसा सकिएपछि फेरि अभाव सुरु हुन्छ ।
रकम अपुग हुँदा अरूसँग सापटी लिनुपर्ने बाध्यता पनि कथामा देखिन्छ । यसरी सीमित आम्दानी र असीमित आवश्यकताबीचको अन्तर, दैनिक अभाव तथा परनिर्भरताको अवस्थामार्फत नेपाली समाजको आर्थिक समस्यालाई कथाले यथार्थ रूपमा प्रस्तुत गरेको छ ।
(ग) 'स्वाद' कथाको मुख्य सन्देश स्पष्ट गर्नुहोस् ।
उत्तर :
'स्वाद' कथामा साधारण जागिरे परिवारको जीवनलाई केन्द्रमा राखेर आर्थिक अभावले मानिसको दैनिक जीवनमा पार्ने प्रभाव देखाइएको छ । महिनाभरि काम गरेर तलब प्राप्त भएपछि परिवारले केही आवश्यक सामान खरिद गर्न र मनपरेको खानेकुरा खान पाउँछ । त्यस समयमा उनीहरूमा खुसीको वातावरण सिर्जना हुन्छ ।
तर सीमित आम्दानी भएकाले यस्तो खुसी स्थायी रहँदैन । पैसा सकिएपछि पुनः आवश्यकता र अभावको अवस्था सुरु हुन्छ र अर्को महिनाको तलबको प्रतीक्षा गर्नुपर्छ । यसबाट न्यून आय भएका परिवारले भोग्नुपर्ने आर्थिक कठिनाइ र दैनिक संघर्ष स्पष्ट हुन्छ ।
सामान्य मानिसको जीवनमा रहेको गरिबी, सीमित आम्दानी, आर्थिक अभाव तथा आधारभूत आवश्यकता पूरा गर्नुपर्ने संघर्षलाई यथार्थ रूपमा देखाउनु कथाको मुख्य सन्देश हो ।
९. कथाका घटनाहरूलाई क्रम मिलाएर लेख्नुहोस् :
| क्रम | घटनाक्रम |
|---|---|
| १ | एउटा अड्डामा साधारण कारिन्दाका रूपमा काम गर्दै आउनु |
| २ | तलब आउने दिनको प्रतीक्षामा रहनु |
| ३ | लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु |
| ४ | स्वास्नीले नुहाउन जोड दिनु |
| ५ | पैसा पाउनासाथ किनमेलका लागि बजार जानु |
| ६ | स्वास्नीले शोभासँग पाँच रुपियाँ सापटी माग्नु |
१०. कफीसम्बन्धी अनुच्छेदका आधारमा उत्तर दिनुहोस् :
(क) गुल्मीमा कफी उत्पादन कहिलेदेखि सुरु भएको मानिन्छ ?
उत्तर :
गुल्मीमा कफी उत्पादन करिब ८० वर्ष अघिदेखि सुरु भएको मानिन्छ ।
(आ) नेपालमा पहिलो कफी विकास केन्द्र कहिले स्थापना भयो ?
उत्तर :
नेपालमा पहिलो कफी विकास केन्द्र वि.सं. २०४२ मा स्थापना भएको हो ।
(इ) नेपालमा कफी खेतीको सुरुआत कसरी भयो ?
उत्तर :
गुल्मीका स्थानीय हिरा गिरीले ८० वर्षअघि बर्माबाट कफी ल्याएर रोपेका थिए । राजा विरेन्द्रले जिल्ला भ्रमणका क्रममा त्यसलाई पहिचान गरी प्रोत्साहन गरेपछि नेपालमा कफी खेती सुरु भएको हो ।
(ई) गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र किन भनिन्छ ?
उत्तर :
गुल्मीमा व्यावसायिक कफी खेती गरिन्छ र नेपालमा सबैभन्दा धेरै कफी उत्पादन हुने क्षेत्र पनि गुल्मी भएकाले यसलाई कफी खेतीको पकेट क्षेत्र मानिन्छ ।
भाषिक संरचना :
| विषय | उत्तर |
|---|---|
| व्यावसायिकको अर्थ | व्यवसायसम्बन्धी, विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने । |
| ‘छुटाउँदैनन्’ को धातु | छुट्याउ |
| ‘भयो’ को धातु | हु |
| सकर्मक वाक्य | सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए । |
| अकर्मक वाक्य | राजा वीरेन्द्र जिल्ला भ्रमणकै क्रममा आँपचौर पुगे । |
| दीर्घ ईकार भएका शब्द | कफी, पर्यटकीय, खेती, स्थानीय, बारी, जानकारी, तत्कालीन । |
११. 'स्वाद' कथामा समेटिएका सामाजिक तथा सांस्कृतिक विषयहरूको चर्चा गर्नुहोस् ।
उत्तर :
ध्रुवचन्द्र गौतम (वि.सं. २००१) को 'स्वाद' सामाजिक विषयवस्तुमा आधारित कथा हो । यसमा सहरमा सामान्य जागिर गरेर परिवारको जीवन निर्वाह गर्ने मानिसहरूको दैनिक अवस्थालाई आधार बनाइएको छ । तलब प्राप्त भएपछि आवश्यक सामान किन्ने र महिनाभरिका लागि केही मिठो खाने परिवारको चाहनासँगै उनीहरूको आर्थिक अवस्था पनि कथामा प्रस्तुत भएको छ ।
कथाको लोग्ने सामान्य कारिन्दा हो । उसको आम्दानी सीमित भएकाले घरका आवश्यकता पूरा गर्न कठिन हुन्छ । साबुन सकिएपछि नुहाउन नसक्नु उसको आर्थिक अभावको उदाहरण हो । ऊ गरिबीलाई मन पराउँदैन र त्यसबाट मुक्त हुनुपर्छ भन्ने विचार राख्छ । पदोन्नति नभए पनि बेरोजगार बस्न नपरेकोमा ऊ गर्व गर्छ ।
स्वास्नीले भने घरको आर्थिक वास्तविकतालाई व्यावहारिक रूपमा स्वीकार गरेकी छ । सबै गरिबले सधैँ साबुन लगाएर नुहाउन सक्दैनन् भन्ने उसको विचार छ । त्यसैले साबुन नभए पनि उपलब्ध अवस्थाअनुसार नुहाउनुपर्ने उसको सोच देखिन्छ । लोग्ने कार्यालय जान्छ र तलब प्राप्त भएपछि दम्पती बजारतर्फ लाग्छन् ।
स्वास्नीले तयार गरेको सूचीअनुसार उनीहरूले घरका सामानहरू किन्छन् । खसीको मासु किन्न पैसा अपुग भएपछि माछा किन्ने निर्णय हुन्छ । माछाका लागि पनि रकम नपुगेपछि शोभासँग पाँच रुपियाँ सापटी लिइन्छ । अन्ततः सानो छोरासहित उनीहरू खुसी हुँदै घर फर्कन्छन् र माछा पकाएर स्वादपूर्वक खान्छन् ।
तर यस्तो खुसी स्थायी हुँदैन । अर्को महिनाको तलब नआएसम्म फेरि उही आर्थिक अभावको अवस्था रहन्छ । यसरी कथाले सामान्य कारिन्दा परिवारको जीवनशैली, आर्थिक अभाव, पारिवारिक सहयोग, घरव्यवहार, सीमित आम्दानी तथा गरिबीको पीडालाई सामाजिक र सांस्कृतिक विषयका रूपमा प्रस्तुत गरेको छ ।
१२. सन्दर्भसहित व्याख्या गर्नुहोस् :
“आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिवले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।”
उत्तर :
प्रस्तुत भनाइ कक्षा ९ को नेपाली पाठ्यपुस्तकअन्तर्गत दोस्रो पाठ 'स्वाद' बाट लिइएको हो । यसका कथाकार ध्रुबचन्द्र गौतम (वि.सं. २०००) हुन् । उनले कथा, नाटक, कविता, उपन्यास आदि अनेक विधामा साहित्य सिर्जना गरेका छन् । कथामा आजभन्दा करिब ५० वर्षअघिको निम्नस्तरका जागिरेहरूको दयनीय आर्थिक अवस्थालाई चित्रण गरिएको छ ।
प्रस्तुत भनाइले गरिबीलाई आफ्नो भाग्य ठानेर त्यसैमा सन्तुष्ट भएर बस्नु हुँदैन भन्ने विचार व्यक्त गर्छ । मानिसले गरिबी भोग्नुपरेको भए पनि त्यसलाई स्वीकार गरी निष्क्रिय बस्नु उचित हुँदैन । आफ्नो कमजोर आर्थिक अवस्था परिवर्तन गर्न सक्रिय रूपमा प्रयत्न गर्नुपर्छ ।
आर्थिक अभावका कारण मानिसले जीवनका आधारभूत आवश्यकताहरू पूरा गर्न कठिनाइ भोग्न सक्छ । उसका इच्छा, रहर र आकाङ्क्षाहरू पनि पूरा हुन नसक्ने अवस्था आउन सक्छ । त्यसैले गरिबी हटाउन श्रम, परिश्रम र संघर्ष आवश्यक हुन्छ ।
यहाँ 'गरिबीसित घृणा गर्नुपर्छ' भन्नाले गरिब मानिसलाई घृणा गर्नुपर्छ भन्ने अर्थ दिँदैन । यसको आशय गरिबीबाट उत्पन्न हुने अभाव र बाध्यताको विरोध गर्नु तथा त्यसबाट मुक्त हुने प्रयास गर्नु हो । मानिसले आफ्नो आर्थिक अवस्थालाई सुधारेर सम्मानपूर्वक जीवन बिताउने लक्ष्य राख्नुपर्छ ।
कथाको समय पुरानो भए पनि यसमा उठाइएको आर्थिक अभावको समस्या अहिले पनि सान्दर्भिक देखिन्छ । सीमित आय भएका निम्नस्तरका कर्मचारी तथा परिवारले आज पनि विभिन्न आर्थिक कठिनाइ सामना गर्नुपर्ने भएकाले कथामा व्यक्त गरिएको विचार वर्तमान समाजसँग पनि सम्बन्धित छ ।
१३. 'स्वाद' कथाले चर्चा गरेजस्तै हाम्रो समाजमा गरिबीको पीडा छ त ? तर्क दिनुहोस् ।
उत्तर :
'स्वाद' सामाजिक यथार्थमा आधारित कथा भएकाले यसमा चित्रण गरिएको गरिबी नेपाली समाजको वास्तविक अवस्थासँग सम्बन्धित छ । न्यून वेतनमा काम गर्ने परिवारले दैनिक आवश्यकता पूरा गर्नसमेत संघर्ष गर्नुपर्ने अवस्थालाई कथाले पारिवारिक घटनामार्फत देखाएको छ ।
सीमित आम्दानी र धेरै आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था हाम्रो समाजमा पनि पाइन्छ । मानिसले खाना, लत्ताकपडा, शिक्षा तथा अन्य आधारभूत आवश्यकताका लागि पर्याप्त रकम जुटाउन नसक्दा आर्थिक कठिनाइ भोग्नुपर्छ । कहिलेकाहीँ सामान्य आवश्यकता पूरा गर्नसमेत ऋण वा अरूको सहयोग लिनुपर्ने अवस्था आउँछ ।
आर्थिक अभावका कारण पारिवारिक जीवनमा पनि असर पर्न सक्छ । तर परिवारका सदस्यबीच एकता, आपसी विश्वास, समझदारी र सहयोग भएमा कठिन परिस्थितिमा समेत सुख र सन्तोष कायम गर्न सकिन्छ ।
गरिबीबाट मुक्त हुने प्रयास गर्ने मानिसहरू पनि हाम्रो समाजमा छन् । कतिपयले आफ्नो सीप, श्रम, पसिना र पाखुराको प्रयोग गरेर आर्थिक अवस्था सुधार्ने प्रयास गर्छन् । मेहनत र सक्रियताबाट उनीहरूले आत्मनिर्भर बन्न तथा जीवनस्तर उकास्न सक्छन् ।
यसको विपरीत, केही मानिस गरिबीलाई बहाना बनाएर अरूमाथि निर्भर रहन्छन् । हात तेर्स्याएर पराश्रित जीवन बिताउँदा उनीहरूको अवस्था अझ दयनीय बन्न सक्छ । आधारभूत आवश्यकताका लागि पनि अरूको सहयोगमा निर्भर हुनुपर्ने अवस्था आत्मनिर्भर जीवनका लागि चुनौतीपूर्ण हुन्छ ।
त्यसैले 'स्वाद' कथामा प्रस्तुत गरिएका आर्थिक समस्या नेपाली समाजको वास्तविकतासँग मेल खान्छन् । सीमित आय, बढ्दो आवश्यकता, अभाव, ऋण तथा परनिर्भरता जस्ता अवस्थाले हाम्रो समाजमा गरिबीको पीडा अझै रहेको प्रमाणित गर्छ ।
१४. घरमा बनाइएका र बजारबाट किनेर ल्याइएका खाजाको तुलना गर्नुहोस् ।
उत्तर :
घरमा बनाइएका खाजा :
घरमा तयार गरिने खाजाको गुणस्तर र स्वच्छतामा परिवारका सदस्यले प्रत्यक्ष ध्यान दिन सक्छन् । प्रयोग गरिने सामग्री आफैँ छनोट गर्न सकिने भएकाले खाजालाई स्वास्थ्यकर बनाउन सजिलो हुन्छ । यसमा स्वाद र रङ आकर्षक बनाउन अनावश्यक मिसावट गर्ने आवश्यकता हुँदैन ।
घरमा खाजा बनाउँदा सामग्रीको अवस्था जाँच्न सकिन्छ र उत्पादन वा उपभोग्य मिति नाघेका वस्तु प्रयोग हुनबाट बच्न सकिन्छ । साथै, घरमै उपलब्ध सामग्री प्रयोग गरेर खाजा तयार गर्दा बजारमा गएर पटक-पटक पैसा खर्च गर्नुपर्दैन । त्यसैले यसबाट आर्थिक बचत पनि हुन्छ ।
स्वास्थ्य नै धन भएकाले स्वस्थ र सुरक्षित जीवन बिताउन घरमा तयार गरिएको खाजा उपयुक्त मानिन्छ ।
बजारबाट किनेर ल्याइएका खाजा :
बजारमा पाइने खाजा स्वास्थ्यका दृष्टिले सधैँ सुरक्षित हुन्छन् भन्ने निश्चित हुँदैन । ग्राहकलाई आकर्षित गर्न कतिपय खाजामा स्वाद, रङ र गन्धलाई बढी प्राथमिकता दिइएको हुन सक्छ । यस्ता विशेषता बढाउन गरिने मिसावटले स्वास्थ्यमा विभिन्न रोग वा समस्या निम्त्याउन सक्छ ।
त्यसैगरी उत्पादन वा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ प्रयोग गरिएमा त्यसको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । बजारबाट बारम्बार खाजा किन्दा घरमै तयार पार्नेभन्दा खर्च पनि बढी हुन्छ ।
त्यसैले स्वास्थ्य, स्वच्छता, सुरक्षा र आर्थिक बचतका दृष्टिले घरमै तयार गरिएको खाजा बढी उपयुक्त हुन्छ ।