Class 9nepaliParaphrased Variant #4
Verified Exam Solutions

करेसाबारी ( Karesabari )

9 nepali - करेसाबारी ( Karesabari )

Comprehensive Note17 min readSEE / NEB Aligned1240 Reads
Font Size:

🌱 करेसाबारी

📚 शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

शब्दअर्थ
गुणस्तरीयगुणस्तर राम्रो भएको
गोडमेलबोटबिरुवाका वरिपरि भएका झारपात उखेल्ने वा गोड्ने काम
खाडलखाल्टो
बालीकृषिउपज
लट्टेसागको एक प्रकार

२. दिइएका विभिन्न क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थबारे छलफल गर्नुहोस् :

⚖️ कानुन

शब्दअर्थ
अधिवक्ताकानुन विशेषज्ञ, अधिकृत तहको कानुन व्यवसायी
मुचुल्कासरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज
वारेसमुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति
तारिखअड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति
बिगोकसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम
जमानतमुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेको बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम ।

🏛️ प्रशासन

शब्दअर्थ
दर्ताचिठी, कागजात आदि दर्ताकिताबमा चढाउने काम, सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम
चलानीचलान गरिएको, चलान गरेको व्यक्ति, वस्तु आदिको विवरण पत्र
टिप्पणीकुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार, कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख
सरुवाकर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम
बढुवातल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नति
परिपत्रविचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै व्यहोरामा पठाइने आधिकारिक पत्र, सर्कुलर ।

💰 वाणिज्य

शब्दअर्थ
आयव्ययआम्दानी र खर्च
राजस्वमालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
भौचरबैङ्कमा पैसा जम्मा गर्दा खातावालको विवरण भरिने कागज
बेरुजुआर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम
निकासीकुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम
फर्सोटलेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम ।

🔬 विज्ञान र प्रविधि

शब्दअर्थ
ऊर्जाशक्ति, बल
संवहनदायित्व लिने काम, बोक्ने काम
तापक्रमतापको परिमाण, तातोपन घटीबढी हुने क्रम
यौगिकदुई वा दुई बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु
विकिरणछरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम
जीवाणुसूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव, अनेक प्रकारका रोग उत्पन्न जीवनशक्तियुक्त कीटाण ।

🌳 वन

शब्दअर्थ
कटानीकटनी, फँडानी
फंडानीफाँड्ने काम, जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम
वृक्षरोपणविभिन्न किसिमका बोटबिरुवा लगाउने वा रोप्ने काम
निकुञ्जबोटबिरुवा, जनावर आदि वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल
आरक्षवन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम
टाँचाकटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप, त्यस्ता रुखमा खोपिने चिहृन

🎓 शिक्षा

शब्दअर्थ
परीक्षायोग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका लागि ठिकसित पारख गर्ने काम, जाँच गर्ने काम
मूल्याङ्कनपरीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम
छात्रवृत्तिअध्ययनअवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम
पाठ्यक्रमपढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम
पृष्ठपोषणकुनै कामकुरामा पछाडि बसेर सहायता पुऱ्याउने काम वा प्रवृत्ति, सहयोग, मदत

📖 साहित्य

शब्दअर्थ
रससाहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण लगायतका अनुभूतिगत नवरस
छन्दयति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य
अलङ्कारअर्थगत वा शाब्दिक -चमत्कारबाट साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग विधा,
वादकुनै विशिष्ट कुराको मत वा सिद्धान्त, जस्तै : प्रगतिवाद, समाजवाद आदि
दृष्टिबिन्दुकथनढाँचा

📡 सञ्चार

शब्दअर्थ
प्रसारणसमाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनबाट कतै पठाउने कार्य
परिसंवाददुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वानहरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्राय: खास खास अवसरमा हुने तर्कसङ्गत वादविवाद, कुराकानी
इमेलविद्युतीय माध्यमबाट गरिने पत्राचार
सम्पादकीयसमाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख
दूरसञ्चारधेरै टाढा टाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने
समाचारपत्रअखबार

३. 'करेसाबारी' निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने पाँचओटा पारिभाषिक तथा प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।

=> उत्तर: रासायनिक मल :** आजभोलि खेती गर्दा अत्यधिक मात्रामा रासायनिक मल उत्पादन गरिन्छ ।

  • करेसाबारी : महङ्गी र स्वास्थ्यका कारण करेसाबारीको महत्त्व दिनानुदिन बढ्दो छ ।
  • प्राङ्गारिक : अर्गानिक बालीका उत्पादन गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनु पर्छ ।
  • बेर्ना : बन्दा, काउली, खुर्सानी आदि रोप्नुभन्दा पहिले बेर्ना तयार पार्नुपर्छ ।
  • मल्चिङ : तरकारी खेती गर्नेले मल्चिङको बारेमा जानकारी हुनु आवश्यक छ ।

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

=> उत्तर: आत्मनिर्भर :** रमन खेतीपाती गरी आत्मनिर्भर बनेको छ ।

  • कम्पोस्ट : कम्पोष्ट मलको प्रयोग गर्नाले फोहोरको व्यवस्थापन हुने गर्दछ ।
  • नर्सरी : सुमनले नर्सरीबाट फूल ल्याइ घरमा रोप्यो ।
  • बिउबिजन : बिउबिजनको अभावले वर्षेनी किसानहरू मारमा पर्ने गर्दछन् ।
  • रासायनिक : रासायनिक मलको प्रयोगले माटो र जीवको स्वास्थ्यमा असर पुग्दछ ।

📝 बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :

शब्दउच्चारण
अर्गानिकअर्गानिक
प्रणालीप्रनालि
बुर्बुराउँदोबुर्बुराउँदो
पालुङ्गोपालुङ्गो
प्याजप्याज्
सिँचाइसिँचाइ
जैविकजैबिक
विषादीयुक्तबिसादियुक्त

२. ‘करेसाबारी’ निबन्धका अनुच्छेद पालैपालो शिक्षकले तोकेको समयभित्र सस्वरवाचन गर्नुहोस् ।

३. निबन्धको पहिलो अनुच्छेद श्रुतिलेखन गर्नुहोस् ।

श्रुतिलेखन : सुनेर लेख्ने काम

४. 'करेसाबारी' निबन्ध पढी निबन्धको संरचनाका बारेमा निम्नलिखित प्रश्नको उत्तर भन्नुहोस् :

(क) करेसाबारी निबन्ध कति अनुच्छेदमा संरचित छ ?

=> उत्तर: करेसाबारी निबन्ध नौ अनुच्छेदमा संरचित छ ।

(ख) निबन्धको दोस्रो अनुच्छेदको आशय के हो ?

=> उत्तर: करेसाबारीको निर्माण गर्दा जमिनको रेखाङ्कन र व्यवस्थापनको महत्त्व दर्साउँदै जमिनको उपयोगिता बढाउन मदत पुयाउनु निबन्धको दोस्रो अनुच्छेदको आशय हो ।

(ग) वाक्य सङ्ख्याका दृष्टिले छोटो र लामो अनुच्छेद कुन हो ?

=> उत्तर: वाक्य सङ्ख्याका दृष्टिले छोटो पाँचौँ अनुच्छेद र लामो छैटौं र आठौँ अनुच्छेद हो ।

(घ) निबन्धमा बाली हेरफेरको विषयवस्तु कुन अनुच्छेदमा समावेश गरिएको छ ?

=> उत्तर: निबन्धमा बाली हेरफेरको विषयवस्तु सातौं अनुच्छेदमा समावेश गरिएको छ ।

(ङ) निबन्धको निष्कर्ष कुन अनुच्छेदमा आएको छ ?

=> उत्तर: निबन्धको निष्कर्ष नवौँ अर्थात् अन्तिम अनुच्छेदमा आएको छ ।

५. तल दिइएको निबन्धको अंश शिक्षकले तोकेको समयका आधारमा द्रुत पठन गरी सोधिएको प्रश्नको उत्तर भन्नुहोस् :

(क) अनुच्छेदमा तरकारीलाई कुन कुन प्रकारमा वर्गीकरण गरिएको छ ?

=> उत्तर: अनुच्छेदमा तरकारीलाई हिउँदे, बसन्ते र वर्षे तरकारीका रूपमा वर्गीकरण गरिएको छ ।

(ख) हिउँदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ ?

=> उत्तर: भदौदेखि असोजसम्म बेर्ना रोपेर कात्तिकदेखि माघसम्मको चिसो मौसम र छोटो दिन हिउँदे तरकारीका लागि उपयुक्त मौसम हो ।

(ग) बर्से तरकारी र बसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ ?

=> उत्तर: बसन्ते तरकारी पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिइन्छ भने वर्षे तरकारी बैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी वर्षा हुने असारदेखि भदौसम्म उत्पादन लिन सकिन्छ ।

(घ) मानिसहरूले तरकारी खेती किन गर्छन् ?

=> उत्तर: मानिसहरू भान्सामा तरकारीको आवश्यकता परिपूर्ति गर्नका साथै केही आर्थिक उपार्जनका लागि तरकारी खेती गर्ने गर्छन् ।

६. तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) बाली विविधता भनेको के हो ?

-> उत्तर: करेसाबारीमा वर्षको विभिन्न समयमा पनि तरकारीको उपलब्धता कायम राख्न मौसमअनुकूल अनेक प्रकारका बाली लगाउनुपर्छ । यसरी विभिन्न बालीको छनोट र व्यवस्थापन गर्दा कुनै समयमा तरकारीको अभाव हुने तथा कुनै समयमा अत्यधिक उत्पादन हुने अवस्था कम गर्न सकिन्छ ।

करेसाबारीमा लगाइने तरकारीलाई खेती गर्ने तरिकाका आधारमा पनि छुट्याउन सकिन्छ । बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो र चम्सुरजस्ता बाली सिधै जमिनमा रोप्न सकिन्छ । बन्दा, काउली, गोलभेंडा, भन्टा, खुर्सानी, प्याज र रायो भने पहिले नर्सरीमा बेर्नाका रूपमा हुर्काएर पछि करेसाबारीमा सारिन्छन् ।

त्यसैले मौसम र बालीको प्रकृति दुवैलाई विचार गरी विभिन्न प्रकारका तरकारीको खेती व्यवस्थापन गर्ने प्रक्रियालाई बाली विविधता भनिन्छ ।

(ख) करेसाबारीमा तरकारी लगाउँदा जमिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।

-> उत्तर: करेसाबारी निर्माण गर्दा सबैभन्दा पहिले उपलब्ध जमिनलाई उचित ढङ्गले विभाजन र व्यवस्थापन गर्नुपर्छ । खेतीका लागि छुट्याइएको स्थानलाई पर्खाल वा बाँसले घेरेर सुरक्षित राख्नुपर्छ । कम्पोस्ट मल तयार गर्न निश्चित ठाउँमा खाल्डो बनाउनुपर्छ । नर्सरीका लागि पर्याप्त घाम र प्रकाश पर्ने स्थान छुट्याउनु उपयुक्त हुन्छ ।

जमिनलाई आवश्यकताअनुसार ससाना सुर्कामा विभाजन गरी तिनको बीचमा आवतजावत गर्ने बाटो राख्नुपर्छ । करेसाबारीको छेउ वा बारसँग जोडिएको भागमा लहरे बाली लगाउन सकिन्छ । सुर्काका आलीमा जरे बाली लगाएर उपलब्ध ठाउँको अधिकतम उपयोग गर्न सकिन्छ ।

(ग) वानस्पतिक विषादीको निर्माण र प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस् ।

-> उत्तर: करेसाबारीमा स्वास्थ्यलाई अनुकूल हुने खेतीका लागि स्थानीय वनस्पतिबाट तयार गरिएको विषादी प्रयोग गर्न सकिन्छ । तितो, टर्रो र कडा गन्ध भएका वनस्पति यसका लागि उपयोगी हुन्छन् ।

तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो, बोझो, टिमुर, खुर्सानी, सिमली आदिका पात वा मुन्टा सङ्कलन गरी मसिनो टुक्रा पार्नुपर्छ । ती सामग्रीलाई कालो रङको ड्रममा दुईतिहाईसम्म भरेर बाँकी भागमा गहुँत राख्नुपर्छ । त्यसपछि ड्रमको बिर्को राम्ररी बन्द गरी घाम लाग्ने स्थानमा मौसमअनुसार २५ देखि ३५ दिनसम्म राखिन्छ ।

पर्याप्त रूपमा कुहिएपछि ड्रमभित्र बनेको झोल छानेर प्रयोग गर्न सकिन्छ । ठुला बिरुवाका लागि एक भाग विषादीमा छ भाग पानी र ससाना बिरुवाका लागि एक भाग विषादीमा १० भाग पानी मिसाउनुपर्छ । यसरी तयार भएको घोललाई बिरुवाको प्रकृतिअनुसार करेसाबारीमा प्रयोग गरिन्छ ।

७. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उत्तर दिनुहोस् :

अ) प्राणीले बोटबिरुवा बाट के पाउँछन् ?

=> उत्तर: प्राणीले बोट विरुवाबाट खाद्य तत्व र अक्सिजन पाउछन ।

आ) कस्ता खाना बोटबिरुवाका लागि उत्तम खाना हुन् ?

=> उत्तर: मानिस तथा जनावरका मलमूत्र तथा कुहिएका झारपात बोटबिरुवाका उत्तम खाना हुन् ।

इ) प्राणी र वनस्पति बीचको लेनदेन प्रक्रियाले के कुरा बुझाउँछ ?

=> उत्तर: सडेगलेका पात पतिंगरलाई कुहाएर बोटबिरुवाका लागि खानयोग्य मल बनाउने काम प्राणीले गर्दछन् भने प्राणीका लागि आवश्यक खानेकुरा वनस्पतिले दिने गर्दछन् त्यसकारण प्राणीहरूको र वनस्पतिका बिचमा लेनदेन प्रक्रिया चलिरहन्छ भनिएको हो ।

ई) पर्यावरणीय सन्तुलनका लागि कस्तो उपाय अपनाउनुपर्छ ?

=> उत्तर: पर्यावरणीय सन्तुलनका लागि जीवलाई मार्ने होइन धपाउने र भगाउने उपाय खोज्नुपर्छ ।

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

अ) 'वनस्पति' र 'प्रदुषण' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

=> उत्तर: वनस्पति हाम्रा लागि वनस्पति आवश्यक पर्छ प्रदूषण हामीले हाम्रो वरपर प्रदूषण गर्नुहुँदैन ।

आ) माथिको अनुच्छेदमा कुनकुन संयोजक प्रयोग भएका छन् ?

=> उत्तर: माथिको अनुच्छेदमा 'र' 'तथा' जस्ता संयोजक प्रयोग भएका छन् ।

इ) अनुच्छेदमा रहेको 'खेतीपातीका शत्रु किरा, फट्याङ्ग्रा, सुलसुले, मुसा, खरायो, दुम्सी, बाँदरसमेत पर्यावरणीय सन्तुलनक लागि आवश्यक छन् ।' वाक्यबाट नामयोगी पहिचान गर्नुहोस् ।

=> उत्तर: 'समेत' नामयोगी हो ।

ई) अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व उकार लागेर बनेका एक एकवटा शब्द पहिचान गरी लेख्नुहोस् ।

=> उत्तर: सुरुमा रस्व लागेको 'कुहाएर' बिचमा ह्रस्व लागेको 'सन्तुलन' र अन्तिममा ह्रस्व लागेको 'शत्रु' हो ।

८. व्याख्या गर्नुहोस् :

हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ ।

-> उत्तर: प्रस्तुत भनाइ कक्षा ९ को नेपाली पाठ्यपुस्तकको पाठ तीनमा समावेश 'करेसाबारी' निबन्धबाट लिइएको हो । यस निबन्धले घर वरपर उपलब्ध जमिनलाई व्यवस्थित रूपमा प्रयोग गरी तरकारी खेती गर्न सकिने र त्यसबाट व्यक्तिगत तथा वातावरणीय लाभ प्राप्त गर्न सकिने कुरा प्रस्तुत गरेको छ ।

घर निर्माणपछि बाँकी रहेको जमिनलाई उपयोग गरी करेसाबारी बनाउन सकिन्छ । यसमा परिवारका लागि आवश्यक तरकारी उत्पादन गर्न सकिन्छ । उत्पादन पर्याप्त भएमा आफ्नै घरको आवश्यकता पूरा गर्नुका साथै बिक्री गरेर आर्थिक लाभसमेत लिन सकिन्छ । घरमै उत्पादन गरिएको तरकारी प्रयोग गर्दा ताजा खाद्य सामग्री प्राप्त हुने भएकाले यसको उपयोगिता अझ बढ्छ ।

करेसाबारीले घरको दृश्यलाई पनि आकर्षक बनाउँछ । हरिया तरकारी र बोटबिरुवाले घर वरपरको खाली तथा उजाड स्थानलाई हराभरा बनाउँछन् । वनस्पतिले वातावरणमा अक्सिजन थप्न र कार्वनडाइअक्साइड कम गर्न सहयोग गर्ने भएकाले हरियालीले वातावरणलाई स्वच्छ राख्न पनि भूमिका खेल्छ ।

'करेसाबारी' निबन्धले जमिन व्यवस्थापनदेखि लिएर मौसमअनुसार तरकारी छनोट र खेती गर्ने उपायसम्मका विषय समेटेको छ । त्यसैले घरायसी जीवनमा उपयोग गर्न सकिने व्यावहारिक ज्ञान प्रदान गर्ने दृष्टिले यसको महत्त्व रहेको छ ।

९. दिइएका प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस् :

(क) करेसाबारीमा मलखाद प्रयोग, सिंचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तुप्रति आफ्ना धारणा व्यक्त गर्नुहोस् ।

-> उत्तर: घर वरपर उपलब्ध खाली स्थानमा तरकारी उत्पादन गर्ने व्यवस्था नै करेसाबारी खेती हो । यसले घरायसी आवश्यकताका तरकारी आफैँ उत्पादन गर्ने अवसर दिन्छ । आफ्नै ठाउँमा उब्जाइएको ताजा र अर्गानिक तरकारी प्रयोग गर्न सकिने भएकाले यसको प्रत्यक्ष सम्बन्ध स्वास्थ्य र आर्थिक बचतसँग जोडिन्छ ।

करेसाबारीको उत्पादन बढाउन मलखादको प्रयोग बालीको आवश्यकता हेरेर गर्नुपर्छ । पातका लागि उत्पादन गरिने रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा र ब्रोकाउलीजस्ता बालीलाई नाइट्रोजन बढी चाहिन्छ । फर्सी, काँक्रो, खुर्सानी, टमाटर, भन्टा र खरबुजाजस्ता फल खाने बालीका लागि फस्फोरस बढी आवश्यक हुन्छ । बोडी, सिमी, केराउ, भटमास र बकुल्लाजस्ता कोसे तरकारीलाई पनि नाइट्रोजन आवश्यक पर्छ ।

मुला, गाजर, सलगम, आलु, लसुन र प्याजजस्ता जरेबालीमा पोटास आवश्यक हुन्छ । यसकारण सबै तरकारीमा एउटै किसिमको मल प्रयोग गर्नु उपयुक्त हुँदैन । माटो र बालीको प्रकृति बुझेर मलखादको व्यवस्था गर्नुपर्छ ।

सिँचाइको नियमित व्यवस्थापन पनि अनिवार्य हुन्छ । तरकारीमा पानीको मात्रा धेरै हुने भएकाले पर्याप्त पानी नपाउँदा बिरुवा ओइलाउने र सुक्ने सम्भावना हुन्छ । बिउ उम्रँदा, बेर्ना सार्दा, मलखाद दिएपछि, गोडमेल गरेपछि तथा डुकु आउने, फल्ने र दाना लाग्ने समयमा विशेष रूपमा पानी आवश्यक हुन्छ । बेर्ना सारेपछि कम्तीमा एक हप्तासम्म नियमित सिँचाइ गर्नुपर्छ ।

त्यस्तै, गोडमेलबाट झारपात हटाउनुका साथै माटो खुकुलो बनाउन सकिन्छ । यसले बालीको वृद्धि राम्रोसँग हुन मदत गर्छ । त्यसैले करेसाबारीको सफल खेतीका लागि उचित मलखाद, पर्याप्त सिँचाइ र नियमित गोडमेल तीनै पक्षलाई सँगसँगै व्यवस्थापन गर्नुपर्छ । पाठमा दिइएका यी सुझावहरू व्यवहारमा प्रयोग गर्न सकिने र उपयोगी छन् ।

(ख) करेसाबारीको उपयोगबाट कसरी फाइदा लिन सकिन्छ, आफ्नै शैलीमा चर्चा गर्नुहोस् ।

-> उत्तर: घरनजिकैको सानो क्षेत्रमा विभिन्न किसिमका तरकारी उत्पादन गर्न सकिने बारीलाई करेसाबारी भनिन्छ । सीमित जमिनलाई पनि उत्पादनमूलक बनाउन सकिने भएकाले यसको उपयोग घरपरिवारका लागि निकै लाभदायक हुन्छ । बजारबाट बारम्बार तरकारी किन्नुपर्ने आवश्यकता घटाएर यसबाट आर्थिक बचत गर्न सकिन्छ ।

करेसाबारीमा उत्पादन गरिने तरकारीमा रासायनिक पदार्थको प्रयोग घटाई स्थानीय स्रोतबाट कम्पोस्ट मल तथा वानस्पतिक विषादी तयार गर्न सकिन्छ । यसरी उत्पादित ताजा, गुणस्तरीय र अर्गानिक तरकारी परिवारले उपभोग गर्न सक्छ । मौसम र स्थानअनुसार विभिन्न प्रकारका बाली मिलाएर लगाउँदा लामो समयसम्म तरकारी प्राप्त गर्न सकिन्छ ।

घरमा प्रयोग नभएको खाली जमिन उपयोग हुने भएकाले करेसाबारीले जमिनको सदुपयोग गर्छ । घरबाट निस्कने प्राङ्गारिक फोहोरलाई कम्पोस्ट मलमा परिवर्तन गरेर खेतीमा प्रयोग गर्न सकिन्छ । यसबाट फोहोर व्यवस्थापनमा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न पनि मदत हुन्छ ।

आफ्नै करेसाबारीमा आवश्यकताभन्दा बढी उत्पादन भएमा अतिरिक्त तरकारी बिक्री गरेर आम्दानी गर्न सकिन्छ । खेतीमा संलग्न हुँदा शारीरिक श्रम र व्यायाम हुन्छ तथा खाली समयको उपयोग पनि हुन्छ । यसरी करेसाबारीले ताजा खाद्य सामग्री, स्वास्थ्य सुरक्षा, आर्थिक बचत, वातावरण संरक्षण र अतिरिक्त आम्दानीजस्ता विभिन्न फाइदा प्रदान गर्छ ।

१०. दिइएको सन्दर्भ पढ्नुहोस् र 'करेसाबारी' निबन्धको दोस्रो र तेस्रो अनुच्छेदबाट शीर्ष वाक्य पहिचान गरी लेख्नुहोस् ।

-> उत्तर: दोस्रो अनुच्छेदको शीर्ष वाक्य : करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

तेस्रो अनुच्छेदको शीर्ष वाक्य : करेसाबारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

११. 'फूलबारी' शीर्षकमा एउटा वर्णनात्मक अनुच्छेद तयार गर्नुहोस् ।

फूलबारी

-> उत्तर: विभिन्न प्रकारका फूलहरू रोपेर सजाइएको बगैँचा वा ठाउँलाई फूलबारी भनिन्छ । घर वरपर फूल रोप्दा वातावरण सुन्दर, रमणीय र आकर्षक देखिन्छ । नेपाली समाजमा मौसमी तथा सदावहार फूलहरू रोप्ने परम्परा लामो समयदेखि चलिआएको छ । सयपत्री, मखमली, गोदावरी, लालुपातेजस्ता फूलहरू घर सजाउन तथा विभिन्न चाडपर्वमा आवश्यक पर्ने कामका लागि प्रयोग गरिन्छन् । अहिले फूल रोप्ने चलन व्यक्तिगत सौन्दर्यमा मात्र सीमित नभई व्यावसायिक उत्पादनतर्फ पनि विस्तार भएको छ । फूल उत्पादन गरेर बिक्री गर्न सकिने भएकाले यसले आयआर्जनको माध्यमसमेत प्रदान गर्छ । फूलबारीले घरको शोभा बढाउनुका साथै हरियाली कायम गरी वातावरणलाई पनि सन्तुलित बनाउन सहयोग पुर्‍याउँछ ।

१२. 'करेसाबारी' निबन्धको पाँचौँ अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।

-> उत्तर: पाँचौँ अनुच्छेदका चारओटा बुँदा :

मौसमका आधारमा हिउँदे, बसन्ते र बर्खे गरी तरकारीलाई तीन भागमा वर्गीकरण

कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी

फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारी बसन्ते तरकारी

असारदेखि भाद्रसम्म उत्पादन हुने बर्खे तरकारी

तरकारीको वर्गीकरण

-> उत्तर: मौसमअनुसार तरकारीलाई हिउँदे, बसन्ते र बर्खे गरी तीन समूहमा राखिन्छ । हिउँदे तरकारीको उत्पादन कात्तिकदेखि माघसम्म, बसन्ते तरकारीको उत्पादन फागुनदेखि जेठसम्म र बर्खे तरकारीको उत्पादन असारदेखि भाद्रसम्म लिन सकिन्छ ।

  • पाँचौँ अनुच्छेदमा भएको जम्मा शब्द : १०१
  • सारांश अनुच्छेदमा भएको जम्मा शब्द : ३६