🌧️ १. मेघ बिजुली विवाह
📖 शब्दभण्डार
१. तल दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
| क्र.सं. | अर्थ | पाठबाट शब्द |
|---|---|---|
| क) | विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग | लगन |
| ख) | नयाँ दुलही | नव बधू |
| ग) | नओइलाउने एक प्रकारको फूल | मखमली |
| घ) | असोज र कार्त्तिक महिनामा पर्ने ऋतु | शरद ऋतु |
२. तल दिइएका शब्द र विपरित अर्थबिच जोडा मिलाउनुहोस्:
| शब्द | विपरीत अर्थ |
|---|---|
| रुचि | अरुचि |
| आय | व्यय |
| तरल | ठोस |
| सबल | दुर्बल |
| स्थूल | सूक्ष्म |
३. तल दिइएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्:
| शब्द | प्रयोग |
|---|---|
| खाली | मेरो घरका सबै ग्याँसका सिलिन्डर खाली छन् । |
| खालि | तिमी त खालि ल्याङ ल्याङ गर्छौ । |
| फुल | हाँस र कुखुराको फुल बेचेरै रमेशले मनग्य आम्दानी गर्यो । |
| फूल | बहिनीले पूजाका लागि ढकीभरि फूल टिपेर ल्याइन् । |
| शव | हिजो भएको मोटर दुर्घटनामा शवहरू जतात्यतै लडिरहेका थिए । |
| सब | मलाई हिसाब बाहेक सब विषय सजिलो लाग्छ । |
| यश | हामीले जीवनमा राम्रो काम गरेर नाम, सम्मान र यश कमाउनु पर्छ । |
| यस | मलाई रामले भनेको यस कुरा मन परेन । |
| शीत | बिहानीको शीतमा टेकेर हिड्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । |
| सित | मोहनले झुटो बोल्न थालेदेखि म मोहनसित बोलेको पनि छैन । |
🪶 बोध र अभिव्यक्ति
१. तपाइँले तल दिइएका शब्दलाई कवितामा लेखाइअनुरूप नै उच्चारण गर्नुभयो । अब कविता पढ्दा उच्चारण गरेभन्दा भिन्न रूपमा उच्चारण गर्नुहोस्:
| शब्द | उच्चारण |
|---|---|
| गगन | गगन् |
| लगन | लगन् |
| झिमझिम | झिम्झम् |
| दल | दल् |
| उपर | उपर् |
| गजब | गजब |
| मेघ | मेघ् |
| चमचम | चम्चम् |
| पटल | पटल् |
३. तल दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
क) मेघ बिजुली विवाह कवितामा कतिओटा श्लोक छन् ?
=> उत्तर: ‘मेघ बिजुली विवाह’ कवितामा जम्मा छओटा श्लोक छन् ।
ख) कविताका हरेक श्लोकमा कतिओटा पाउ वा पङ्क्ति छन् ?
=> उत्तर: प्रत्येक श्लोकमा चारओटा पाउ वा पङ्क्ति रहेका छन् ।
ग) कविताको कुन श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ ?
=> उत्तर: छमछम बज्ने कल्लीको प्रसङ्ग कविताको पाँचौँ श्लोकमा आएको छ।
घ) कविताको तेस्रो श्लोकमा प्रकृतिका कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ ?
=> उत्तर: तेस्रो श्लोकमा पृथ्वीलाई तन्ना र हिमचुलीलाई पगरीसँग तुलना गरिएको छ ।
४. दिइएको कवितांश पढी तल सोधिएका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्:
सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी
भए ती इन्द्रेनी वसन बहरङगी फिरिफिरि
भयो रातो खास्टो रवि किरणले पश्चिम गिरि
निशाको त्यो कालो तम पटल भो नील कवरी ।।
क) रातका जूनकिरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरा बुझिन्छ ?
=> उत्तर: विवाहको प्रसङ्गमा रातका जूनकिरीले दुलहीलाई ओढाइने सितारा जडित घुम्टीलाई जनाएका छन् ।
ख) कवितामा इन्द्रेनीलाई कसरी चिनाइएको छ ?
=> उत्तर: कवितामा इन्द्रेनीलाई दुलहीले पहिरिने आकर्षक तथा बहुरङ्गी वसनका रूपमा चित्रण गरिएको छ ।
ग) विवाहमा दुलहीको रातो पछ्यौरीको काम केले गरेको छ ?
=> उत्तर: पश्चिम गिरिलाई रातो बनाउने अस्ताउँदो रवि किरणले विवाहमा दुलहीको रातो पछ्यौरीको काम गरेको छ ।
घ) तम पटल र नील कवरीले के कुरा बुझाएका छन् ?
=> उत्तर: तम पटलले रातको अँध्यारो आवरणलाई र नील कवरीले दुलहीको चुल्ठोलाई सङ्केत गरेका छन् ।
५. तल दिइएको प्रश्नको उत्तर लेख्नुहोस्:
क) मेघ बिजुली विवाहको मण्डप र चंदुवाका काम के के ले कसरी गरेका छन् ?
उत्तर :
भरतराज पन्तको ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कविता हो । यसमा कविले प्राकृतिक परिवेशलाई वैवाहिक संस्कारसँग जोडेर आफ्नो कल्पनाशक्तिको परिचय दिएका छन् । प्रकृतिका विभिन्न रूपलाई मानवीकरण गर्दै मानिसले कर्म र श्रमबाट धर्तीलाई सजाउनुपर्ने भावसमेत व्यक्त गरिएको छ ।
कवितामा हावाका कारण हल्लिरहेको सिङ्गो वनजङ्गललाई विवाहको मण्डपका रूपमा प्रस्तुत गरिएको छ । पहाडका चुचुरामा रहेका केराका बोट तथा तिनमा लागेका केराका घरीलाई मण्डपमा लगाइने चंदुवाका रूपमा कल्पना गरिएको छ । यसरी वनजङ्गल र केराका बोटहरूकै माध्यमबाट प्राकृतिक विवाह मण्डप तयार भएको देखाइएको छ ।
ख) कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ ?
उत्तर :
‘मेघ बिजुली विवाह’मा नेपालको प्राकृतिक सौन्दर्यलाई कविले वैवाहिक समारोहको कल्पनासँग जोडेर प्रस्तुत गरेका छन् । प्रकृतिका सामान्य दृश्यहरूलाई विवाहका सामग्री, पात्र तथा गतिविधिको रूप दिनु कविताको मुख्य प्रस्तुति हो ।
आषाढमा परेको पानीले बाँसका झाङबाट झिमझिम आवाज निकाल्दा झ्याली बजेको जस्तो सुनिन्छ । हरियालीले ढाकिएका पहाडले हरियो दोसल्ला ओढेको अनुभूति गराउँछन् । हरियो पृथ्वी तन्ना बनेकी छ भने चहुर मखमली गलैँचाका रूपमा देखिएको छ ।
सूर्यको गुराँसे लालीले पश्चिमतर्फको पहाड रातो हुँदा त्यो दुलहीको रातो खास्टोजस्तै देखिन्छ । आकाशमा चाहारा खोज्दै वा बासस्थानतर्फ फर्किरहेका बकुल्लाका ताँतीलाई हाँस्यौली र ठट्यौली गर्दै अघि बढेको जन्तीको लहरसँग तुलना गरिएको छ ।
रातको गाढा अँध्यारोमा चम्किरहेका जूनकिरी दुलहीको सितारे घुम्टीझैँ लाग्छन् । आकाशमा देखिने इन्द्रेनी दुलहीको बहुरङ्गी वसनजस्तै देखिन्छ । रातले ओढेको कालो आवरण दुलहीको नीलो चुल्ठोजस्तो प्रतीत हुन्छ ।
रुखका हाँगाबिगामा बसेका चराचुरुङ्गीका मधुर स्वरलाई दुलहीको पयरमा बज्ने कल्लीको आवाजसँग दाँजिएको छ । यसरी पहाड, वन, आकाश, पानी, इन्द्रेनी, सूर्यकिरण, जूनकिरी र चराचुरुङ्गीका माध्यमबाट कविले नेपालको प्राकृतिक सौन्दर्यलाई वैवाहिक परिवेशमा जीवन्त बनाएका छन् ।
ग) विवाह मण्डपमा कस्ता कार्य गरिन्छन्, कविताका आधारमा लेख्नुहोस् ।
उत्तर :
कवितामा मेघ र बिजुलीको विवाहलाई हिन्दु संस्कारअनुसार सम्पन्न हुने समारोहका रूपमा कल्पना गरिएको छ । विवाह मण्डप तयार गर्न केराका खाम गाडिन्छन् र चंदुवा टाँगिन्छ । दुलाहा तथा जन्तीको स्वागतका निम्ति तन्ना वा मखमली गलैँचा ओछ्याइन्छ ।
विवाहका धार्मिक विधि पूरा गर्न पण्डितहरूले वेदका ऋचा पाठ गर्छन् । समारोहमा विभिन्न बाजागाजा बजाइन्छ र नाचगान गरेर उत्सव मनाइन्छ । यसरी परम्परागत विवाहमा गरिने धार्मिक तथा सांस्कृतिक कार्यहरूलाई कविले प्राकृतिक परिवेशभित्र समेटेका छन् ।
घ) कविताको पाँचौँ श्लोकमा के कुरा व्यक्त गरिएको छ ?
उत्तर :
पाँचौँ श्लोकमा प्रकृतिमा सुनिने मधुर ध्वनि र देखिने बिजुलीलाई विवाह समारोहका भावनासँग सम्बन्धित गरिएको छ । रुखका हाँगाबिगामा बसेका चराचुरुङ्गीको मीठो स्वरलाई दुलहीको पयरमा बज्ने कल्लीको ध्वनिसँग तुलना गरिएको छ ।
त्यस्तै, बेला-बेलामा चम्किने बिजुलीलाई हर्ष, खुसी र लज्जाले भरिएकी नववधूको मुस्कानका रूपमा कल्पना गरिएको छ । यसरी प्राकृतिक दृश्यलाई मानवीय भावनासँग जोडेर कविले विवाहको उल्लासपूर्ण वातावरण सिर्जना गरेका छन् ।
कविताले मानिसलाई आफ्नो श्रम र पौरखको सदुपयोग गरी धर्तीलाई सजाउनुपर्ने प्रेरणा पनि दिएको छ ।
६. कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रूपान्तर गर्नुहोस् ।
उत्तर :
आकाशमा मेघ र बिजुलीको विवाह हुँदैछ । यो शुभ विवाहका लागि आषाढ महिनामा लगन जुरेको छ । पानी पर्दा बाँसका झाङबाट झिमझिम आवाज आउँछ, जसले झ्याली बजेको आभास गराउँछ । हरियो दोसल्लाले सजिएका पहाड पुरेतका रूपमा उभिएका छन् । मयूरको मधुर आवाज वेदका ऋचाजस्तो सुनिन्छ ।
हावाले हल्लाएको सम्पूर्ण वनजङ्गल विवाहको मण्डप बनेको छ । पहाडका चुचुरामा रहेका केराका खाम तथा तिनमा लागेका केराका घरीहरूले चंदुवाको काम गरेका छन् । यसरी प्राकृतिक वातावरण नै मेघ र बिजुलीको विवाहको सजिएको स्थल बनेको छ ।
७. व्याख्या गर्नुहोस्:
भइन् पृथ्वी तन्ना, चहुर छ गलैँचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिम चुली ।
उत्तर :
यी पङ्क्तिहरू भरतराज पन्तद्वारा रचित ‘मेघ बिजुली विवाह’ कविताबाट लिइएका हुन् । कवितामा प्रकृतिको मनोहर रूपलाई पूर्वीय विवाह संस्कारसँग जोडेर प्रस्तुत गरिएको छ । कविले प्रकृतिका वस्तुहरूलाई मानवीय तथा सांस्कृतिक भूमिका प्रदान गरेका छन् ।
मेघ र बिजुलीको विवाहको समयमा दुलाहा तथा जन्तीको स्वागत गर्न प्रयोग गरिने तन्नाको स्थान पृथ्वीले लिएकी छिन् । हरियो चहुरलाई मखमली गलैँचाका रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी सूर्यको रातो किरणले झलमल्ल देखिएको हिमचुलीलाई दुलाहाको शिरमा सजाइने रातो पगरीसँग तुलना गरिएको छ ।
प्राकृतिक दृश्यलाई विवाहमा प्रयोग हुने सामग्रीमा रूपान्तरण गरेर कविले प्रकृति र संस्कृतिबीचको निकट सम्बन्ध देखाएका छन् । यसबाट कविको प्रकृतिप्रेम, संस्कृतिप्रतिको अनुराग र कल्पनाशीलता स्पष्ट हुन्छ ।
८. ‘मेघ बिजुली विवाह’ कवितामा व्यक्त भाव बताउनुहोस् ।
उत्तर :
यस कवितामा प्रकृतिको सौन्दर्य, पूर्वीय संस्कृतिप्रतिको श्रद्धा तथा मानव श्रमको महत्त्वलाई एकसाथ अभिव्यक्त गरिएको छ । मेघ र बिजुलीको विवाहको काल्पनिक प्रसङ्ग तयार गरेर कविले प्राकृतिक संसारका विभिन्न वस्तुलाई विवाह समारोहका पात्र तथा सामग्री बनाएका छन् ।
पृथ्वी तन्ना, हरियो चहुर मखमली गलैँचा, हिमचुली दुलाहाको पगरी र हरियो पहाड पुरेत बनेका छन् । मयूरको बोलीलाई वेदका मन्त्र र बाँसका झाङबाट आउने झिमझिम ध्वनिलाई झ्यालीको आवाजका रूपमा प्रस्तुत गरिएको छ । हावाले हल्लाएको वन विवाह मण्डप बनेको छ भने पहाडका चुचुरामा रहेका केराका खाम तथा केराका घरी चंदुवाको रूपमा आएका छन् ।
बकुल्लाका ताँतीलाई जन्तीको लहर, जूनकिरीलाई दुलहीको सितारे घुम्टी र इन्द्रेनीलाई दुलहीको रङ्गीन वसनका रूपमा चित्रण गरिएको छ । सूर्यास्तका बेला रातो देखिएको पश्चिम गिरि दुलहीको रातो आँचल तथा रातको कालो आवरण दुलहीको चुल्ठोजस्तो देखाइएको छ । चराचुरुङ्गीका स्वरलाई कल्लीको मिठासपूर्ण आवाजसँग तुलना गरिएको छ ।
बेला-बेलामा चम्किने बिजुलीलाई हर्ष, उमङ्ग, उत्साह, आवेग तथा डर, भय मिसिएको नववधूको लज्जायुक्त मुस्कानका रूपमा प्रस्तुत गरिएको छ ।
विवाह समारोहपछि वर्षाबाट अन्न उत्पादन हुने र त्यसबाट सारा जगत्को भरणपोषण हुने भाव पनि कवितामा आएको छ । त्यसपछि मेघरूपी दुलाहा आफ्नी दुलही रानी बिजुलीलाई साथमा लिएर शरद ऋतुतर्फ प्रस्थान गरेको कल्पना गरिएको छ । यसरी कविताले प्रकृति र संस्कृतिको सुन्दर सम्बन्धसँगै कर्म र पौरखको आवश्यकतालाई उजागर गरेको छ ।
९. ‘मेघ बिजुली विवाह’ कवितामा मेघ र बिजुलीलाई दुलाहा दुलहीका रूपमा चित्रण गरिए जस्तै अन्य कुन-कुन विषयवस्तुलाई के केसँग तुलना गरिएको छ ?
उत्तर :
कविले प्राकृतिक वस्तुहरूलाई विवाह समारोहका सामग्री, व्यक्ति तथा क्रियाकलापसँग जोडेर कल्पनात्मक तुलना गरेका छन् । कवितामा निम्न सम्बन्धहरू देखिन्छन्:
- •पृथ्वी — तन्ना
- •हरियो चहुर — मखमली गलैँचा
- •हिमचुली — दुलाहाको पगरी
- •वनलाई — विवाह मण्डप
- •पहाडका शृङ्खला — केराका खम्बा र चंदुवा
- •हरियो पहाड — पुरेत
- •मयुरको बोली — वेदका मन्त्र
- •बकुल्लाका ताँती — जन्तीको लहर
- •जूनकिरी — दुलहीको सितारे घुम्टी
- •इन्द्रेनी — दुलहीका कपडा
- •सूर्यास्तको सिँन्दुरे किरणले रङ्गिएको पश्चिम गिरि — दुलहीको रातो आँचल
- •निशाको निष्पट्ट आवरण — दुलहीको चुल्ठो
- •चराचुरुङ्गीको आवाज — दुलहीको कल्लीको आवाज
१०. आकाश गर्जी बिजुली चम्किँदा एक्कासि तपाईंको मनमा कस्तो भाव उत्पन्न होला, साथीहरूका बिचमा छलफल गर्नुहोस् ।
उत्तर :
आकाशमा अचानक गर्जन सुनिँदा र बिजुली चम्किँदा मनमा पहिले डर र त्रास पैदा हुन सक्छ । ठूलो आवाज तथा अचानक देखिने चमकले मानिसलाई केही समयका लागि भयभीत बनाउनु स्वाभाविक हो ।
तर त्यसपछि वर्षा हुन थालेपछि मनको भाव बदलिन्छ । वर्षाले खुसी, हर्ष, उत्साह, उमङ्ग र उल्लास पैदा गर्छ । खेतीपातीका लागि पानी आवश्यक हुने भएकाले वर्षाले मानिसलाई आफ्नो कर्ममा जुट्न हौसला र प्रेरणा पनि प्रदान गर्छ ।
११. तल दिइएका विषय सन्दर्भमा साथीहरूबिच छलफल गर्नुहोस्:
क) झमझम पानी परेको स्थितिः
उत्तर :
लगातार झमझम पानी पर्दा चारैतिर हिलो हुन्छ र दैनिक आवतजावत असहज बन्छ । सिकसिको लाग्ने तथा विभिन्न काममा बाधा पुग्ने अवस्था सिर्जना हुन्छ । वस्तुभाउ पाल्ने किसानहरूलाई घाँस र पानीको व्यवस्था गर्न पनि कठिनाइ हुन सक्छ ।
यद्यपि, नेपाल कृषि प्रधान मुलुक भएकाले वर्षा कृषकका लागि महत्त्वपूर्ण हुन्छ । पानी परेपछि खेतीपातीका लागि अनुकूल परिस्थिति बन्छ र मानु रोपेर मुरी फलाउने अवसर प्राप्त हुन्छ । यसले कृषक तथा अन्य कर्मशील मानिसमा उत्साह, उमङ्ग र सक्रियता बढाउँछ ।
ख) हरियो वनजङ्गलले ढाकिएको पहाड :
उत्तर :
वनजङ्गलले पूर्ण रूपमा ढाकिएको हरियो पहाड निकै मनमोहक देखिन्छ । यस्तो दृश्यले मानिसको मनमा प्रसन्नता ल्याउनुका साथै वातावरणमा शीतलता, आनन्द र शान्तिको अनुभूति गराउँछ ।
हरियालीबाट प्रेरणा लिएर मानिसले पनि आफ्नो विचार, भावना र व्यवहारद्वारा अरू मानिसलाई शीतलता प्रदान गर्न सक्नुपर्छ । जीवनमा आफ्नो उद्देश्यप्रति पहाडजस्तै दृढ, स्थिर र अविचलित भएर अघि बढ्नुपर्ने भावना पनि यसबाट लिन सकिन्छ ।
१२. नेपाली वर्णमालामा राखिएका वर्णहरूको क्रम र नेपाली शब्दकोशमा राखिएको वर्णहरूको क्रम पढ्नुहोस् र दिइएका प्रशनका उत्तर दिनुहोस्:
क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ कुन-कुन वर्णपछि आउँछन् ?
=> उत्तर: शब्दकोशको क्रममा ‘क्ष’ क वर्णको अन्त्यमा, ‘त्र’ त वर्णपछि र ‘ज्ञ’ ज वर्णपछि आउँछन् ।
ख) कर, कंस, काम, कृषि, क्यारे, क्षय शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस् ।
=> उत्तर: शब्दकोशको क्रममा यी शब्दहरू कंस, कर, काम, कृषि, क्यारे र क्षय हुन्छन् ।
ग) आफ्नो कक्षाका पाँच जना साथीहरूको नाम लेख्नुहोस् र तिनलाई नेपाली शब्दकोशको क्रमअनुसार मिलाउनुहोस् ।
जीवन, कमल, राम, यमन, निलम
=> उत्तर: कमल, जीवन, निलम, राम, यमन ।**
घ) पृथ्वी, ताँती, घुम्टी, श्रुती, किरण शब्दको अर्थ शब्दकोशबाट खोजी कापीमा लेखेर साथीहरूबिच छलफल गर्नुहोस् ।
उत्तर :