📘 निबेदन
📚 शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| उद्देश्य | लक्ष्य, ध्येय |
| घरेलु | घरायसी |
| सहजीकरण | सरल बनाउने काम |
| कौशल | प्रवीण |
| सहकार्य | सँगसँगै गरिने काम |
| तलब | काम गरेबापत मासिक रूपमा पाउने रकम, वेतन |
२. अनुच्छेदबाट आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त रूप पहिचान गर्नुहोस् :
| वर्ग | शब्दहरू |
|---|---|
| आगन्तुक शब्द | फोन, भाइबर, स्काइप, मेसेन्जर, टेलिभिजन, फेसबुक, लाइभ, मेयर आदि। |
| सिङ्गो शब्द | न्वाँगी, शताब्दी, परम्परा |
| सङ्क्षिप्त रूप | ने.प्र.प्र., रा. स. सं., का.म.पा. |
३. दिइएका शब्दहरू प्रयोग गरी अर्थपूर्ण अनुच्छेद तयार गर्नुहोस् :
शब्दहरू : शैक्षिक, बालक्लब, अपराध, आचरण, हकहित, संस्कृति, परिवर्तन
=> उत्तर: विद्यालयमा सञ्चालन हुने शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन विद्यार्थीको सक्रिय सहभागितामा बालक्लब गठन गर्न सकिन्छ । बालबालिकामाथि हुने अपराध रोक्न र अनुचित आचरणमा सुधार ल्याउन क्लबले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यार्थीको हकहितको संरक्षणसँगै स्थानीय संस्कृतिको जगेर्ना गर्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सकिन्छ । यस्ता सकारात्मक गतिविधिले विद्यार्थीको व्यक्तित्व विकास गर्नुका साथै समाजमा आवश्यक परिवर्तन ल्याउन सहयोग पुर्याउँछन् ।
📝 बोध र अभिव्यक्ति
१. दिइएका शब्दहरूको शुद्ध उच्चारण गर्नुहोस् :
| शब्द | उच्चारण |
|---|---|
| संरक्षण | सम्रक्छ्यन् |
| सिर्जनात्मक | सिर्जनात्मक् |
| विसङ्गति | बिसङ्गति |
| आर्थिक | आर्थिक् |
| मार्गदर्शन | मार्गदर्सन् |
| न्यूनीकरण | न्युुनिकरन् |
| भविष्य | भविस्य |
| कोष | कोस् |
२. ‘निवेदन’ पाठ सस्वरवाचन गरी वाचनका विभिन्न पक्षबारे छलफल गर्नुहोस् ।
=> उत्तर: पाठ सस्वर पढ्दा उच्चारण शुद्ध हुनुपर्छ र वाचनको गति पनि सन्तुलित राख्नुपर्छ । आवश्यक ठाउँमा स्वरको उतारचढाव, उचित हाउभाउ तथा स्पष्ट उच्चारण प्रयोग गर्नुपर्छ । साथीहरूको वाचन सुनेर उनीहरूको समय व्यवस्थापन, प्रस्तुति, शुद्धता र भावाभिव्यक्तिका सबल तथा सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्नुपर्छ ।
३. अनुच्छेदका आधारमा प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) निवेदन लेख्नुको उद्देश्य के हो ?
=> उत्तर: कुनै सूचना, माग वा अनुरोधलाई सम्बन्धित व्यक्ति वा निकायसमक्ष औपचारिक रूपमा प्रस्तुत गर्न निवेदन लेखिन्छ ।
(ख) निवेदनमा मिति कहाँ लेखिन्छ ?
=> उत्तर: निवेदनको सिरानमा दायाँतर्फ मिति उल्लेख गरिन्छ ।
(ग) निवेदनमा विषय किन राखिन्छ ?
=> उत्तर: निवेदनमा प्रस्तुत गर्न लागिएको मुख्य कुरा, माग वा अनुरोध के हो भन्ने कुरा छोटकरीमा स्पष्ट पार्न विषय राखिन्छ ।
(घ) निवेदकको आग्रह कहाँ राखिन्छ ?
=> उत्तर: निवेदनको मुख्य विषयवस्तु प्रस्तुत गरिसकेपछि अन्तिमतिर निवेदकको आग्रह वा अनुरोध राखिन्छ ।
४. निम्न प्रश्नहरूको मौखिक उत्तर दिनुहोस् :
(क) निवेदन कसले र कसलाई लेखेको हो ?
=> उत्तर: हिमगङ्गा माध्यमिक विद्यालयको सिर्जनशील बालक्लबका अध्यक्षले रामेछाप नगरपालिका वडा नं. ३ का वडाध्यक्षलाई निवेदन लेखेका हुन् ।
(ख) निवेदनमा वडाध्यक्षसँग कस्तो सहयोगको अपेक्षा गरिएको छ ?
=> उत्तर: बालहिंसा तथा सामाजिक दुर्व्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बालक्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ । ती गतिविधिका लागि स्थापना गरिएको अक्षयकोषमा केही आर्थिक सहयोग उपलब्ध गराइदिन वडाध्यक्षसँग अनुरोध गरिएको छ ।
(ग) किशोरकिशोरीले आफ्ना समस्याको समाधान कसरी गर्न सक्छन् ?
=> उत्तर: किशोरकिशोरीले आफ्ना समस्यालाई लुकाउनुको सट्टा खुलेर व्यक्त गर्नुपर्छ । सम्बन्धित व्यक्ति तथा साथीहरूसँग छलफल गरी समस्याको कारण पहिचान गरेर समाधानको उपाय खोज्नुपर्छ । साथै, सिर्जनात्मक सीप, सकारात्मक सोच, जीवनोपयोगी ज्ञान र सहयोगको भावना विकास गर्न सकेमा उनीहरूले विभिन्न समस्या समाधान गर्न सक्छन् ।
(घ) साइबरको सदुपयोग कुन प्रकारले गर्न सकिन्छ ?
=> उत्तर: साइबर माध्यमबाट बालहिंसा तथा सामाजिक दुर्व्यवहारविरुद्धका चेतनामूलक कार्यक्रम र सूचना धेरै मानिससम्म पुर्याउन सकिन्छ । बालहिंसा न्यूनीकरण तथा सामाजिक परिवर्तनका लागि आवश्यक जानकारी प्रसार गरेर साइबर प्रविधिको सदुपयोग गर्न सकिन्छ ।
५. पाठका आधारमा प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) बालक्लब स्थापना गर्नुको उद्देश्य के हो ?
=> उत्तर: विद्यालय र समाजमा हुने बालहिंसा तथा सामाजिक दुर्व्यवहारका विषयमा जनचेतना फैलाउनु र यस्ता समस्यालाई कम गर्नु बालक्लब स्थापनाको उद्देश्य हो ।
(ख) बालक्लबले जनचेतनामूलक कार्यक्रम कहिले र कहाँ सञ्चालन गर्नेछ ?
=> उत्तर: विद्यालयको बिदाको समयमा गाउँ तथा सहरका प्रमुख स्थानहरूमा पुगेर बालक्लबले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ ।
(ग) जनचेतना फैलाउन बालक्लबले के-कस्ता माध्यम प्रयोग गर्नेछ ?
=> उत्तर: बालक्लबले लघुनाटक, प्रहसन, सूचना प्रवाह र आपसी छलफलजस्ता माध्यम प्रयोग गरेर जनचेतना फैलाउनेछ ।
(घ) अक्षयकोष निर्माणका लागि रकमको व्यवस्था कसरी गरिएको छ ?
=> उत्तर: विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब योगदान गरेका छन् । त्यसबाहेक वडा कार्यालय तथा स्थानीय सङ्घसंस्थाबाट पनि आर्थिक स्रोत जुटाउने योजना बनाइएको छ ।
६. नयाँ वर्षको अवसरमा शुभकामना पत्र तयार गर्नुहोस् :
उत्तर :
श्री ............................... ज्यू,
**शुभकामना**
आउँदै गरेको नयाँ वर्ष २०८० को शुभ अवसरमा तपाईँ तथा तपाईँको परिवारका सम्पूर्ण सदस्यमा सुख, शान्ति, समृद्धि र आरोग्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले तपाईँहरूको जीवनमा खुसी, उत्साह र सफलताको नयाँ अवसर ल्याओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
घनश्याम थामी
७. शैक्षिक भ्रमणका लागि आवश्यक प्रबन्ध मिलाइदिन प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :
उत्तर :
मिति : २०८९।०३।५
श्रीमान् प्रधानाध्यापक,
भक्तपुर इङ्लिस सेकेन्डरी स्कुल,
मध्यपुर थिमी, गठ्ठाघर ।
विषय : शैक्षिक भ्रमणका लागि प्रबन्ध मिलाइदिनुहुन ।
महोदय,
विद्यार्थीको ज्ञान पाठ्यपुस्तकमा पढेका कुरामा मात्र सीमित रहँदैन । कुनै विषयलाई सम्बन्धित स्थानमा पुगेर प्रत्यक्ष अवलोकन गर्दा त्यसको वास्तविक जानकारी प्राप्त गर्न सकिन्छ । यसरी प्राप्त भएको प्रत्यक्ष अनुभवले विद्यार्थीको ज्ञानलाई थप प्रभावकारी र दीर्घकालीन बनाउँछ । साथै, यस्ता भ्रमणबाट व्यवहारिक ज्ञान तथा जीवनोपयोगी अनुभव हासिल गर्न सकिन्छ ।
यही कुरालाई ध्यानमा राखी कक्षा ९ मा अध्ययनरत हामी सम्पूर्ण विद्यार्थीहरू नेपालका केही उपयुक्त स्थानमा शैक्षिक भ्रमण गर्न इच्छुक छौँ । विभिन्न स्थानको प्रत्यक्ष अवलोकनमार्फत अध्ययनसँग सम्बन्धित विषयलाई अझ राम्रोसँग बुझ्ने हाम्रो उद्देश्य रहेको छ ।
अतः उक्त शैक्षिक भ्रमणका लागि आवश्यक यातायात तथा अन्य सम्पूर्ण व्यवस्थापन मिलाइदिनुहुन हजुरसमक्ष विनम्र अनुरोध गर्दछौँ । विद्यार्थीको शैक्षिक हितलाई विचार गरी हाम्रो अनुरोध स्वीकार गर्दै भ्रमणको आवश्यक प्रबन्ध गरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ ।
निवेदक :
कक्षा नौका सम्पूर्ण विद्यार्थीहरू
८. आफ्नो समाजमा देखिएका सामाजिक समस्याबारे छलफल गरी निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
९. जेहेनदार छात्रवृत्ति उपलब्ध गराइदिन प्रधानाध्यापकसमक्ष निवेदन लेख्नुहोस् :
उत्तर :
मिति : २०७८।०३।०५
श्री प्रधानाध्यापकज्यू,
एभरेस्ट पब्लिक एकेडेमी
मध्यपुर थिमी, सिन्टिटार, भक्तपुर ।
विषय : छात्रवृत्ति उपलब्ध गराइदिनुहुन ।
महोदय,
म यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत विकास बुढाथोकी हुँ । मेरो पारिवारिक आर्थिक अवस्था कमजोर रहेको छ । चार सदस्यीय हाम्रो परिवारको आर्थिक आवश्यकता पूरा गर्न कठिन भइरहेको छ । बढ्दो महँगीका कारण परिवारको आर्थिक अवस्था थप कमजोर बनेको छ र मेरा अभिभावकलाई मेरो अध्ययन खर्च निरन्तर रूपमा जुटाउन समस्या भइरहेको छ ।
मैले कक्षा ८ मा तृतीय स्थान हासिल गरेको छु । पढाइका अतिरिक्त विद्यालयका अतिरिक्त क्रियाकलाप, खेलकुद तथा बौद्धिक कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छु । यस्ता गतिविधिमा सहभागी भएर विभिन्न पदक प्राप्त गरेको छु । त्यसैगरी, बालक्लबको सक्रिय सदस्यका रूपमा बालबालिकामा चेतना फैलाउने कार्यमा समेत योगदान पुर्याउँदै आएको छु ।
आफूले जानेका विषयहरू अरूलाई सिकाउने काममा पनि म रुचिपूर्वक सहभागी हुँदै आएको छु । आर्थिक कठिनाइका कारण मेरो अध्ययनमा अवरोध नआओस् भन्ने उद्देश्यले मलाई जेहेनदार छात्रवृत्ति उपलब्ध गराइदिनुहुन हजुरसमक्ष विनम्र निवेदन गर्दछु । मेरो शैक्षिक उपलब्धि र पारिवारिक अवस्थालाई ध्यानमा राखी मेरो अनुरोध स्वीकार गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
निवेदक :
विकास बुढाथोकी
कक्षा : ९
१०. पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छात्रालाई बधाई पत्र लेख्नुहोस् :
उत्तर :
**हार्दिक बधाई**
राष्ट्रिय महिला आयोगद्वारा आयोजित पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएकोमा तपाईँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । तपाईँले प्राप्त गर्नुभएको यस उत्कृष्ट सफलताले विद्यालयको प्रतिष्ठा उँचो बनाउनुका साथै कक्षा ९ का सम्पूर्ण विद्यार्थीलाई गौरवान्वित तुल्याएको छ । आगामी दिनमा पनि आफ्नो प्रतिभा र क्षमतालाई अझ विकास गर्दै थप सफलता प्राप्त गर्नुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नौ कक्षाका सम्पूर्ण विद्यार्थी
११. श्रद्धाञ्जली तथा समवेदना पत्र लेख्नुहोस् :
उत्तर :
जन्म : वि.सं. २००० भदौ २०
मृत्यु : वि.सं. २०७९ जेठ ९
**भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना**
नागार्जुन साहित्य समाजका अध्यक्ष श्री किशोर पहाडीको वि.सं. २०७९ जेठ ९ गते ७९ वर्षको उमेरमा भएको दुःखद् निधनले नागार्जुन साहित्य समाज परिवारलाई गहिरो शोकमा पारेको छ । उहाँको निधनबाट साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ । यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
अध्यक्ष एवम् सम्पूर्ण नागार्जुन साहित्य समाज परिवार
१२. म्यासेन्जर र टेलिफोनका बीचको संवाद तयार गर्नुहोस् :
म्यासेन्जर : नमस्कार, टेलिफोनज्यू ! सन्चै हुनुहुन्छ ? आज कतैतिर जानुभएको हो ?
टेलिफोन : नमस्कार ! म सन्चै छु । हजुरको हालखबर कस्तो छ ? म दूरसञ्चारतिर जाँदै छु भन्ने कसरी थाहा पाउनुभयो ?
म्यासेन्जर : तपाईँमा बेलाबेलामा एउटा समस्या देखिन्छ भन्ने सुनेको छु । यताबाट बोलेका कुरा उतापट्टि राम्ररी सुनाउन नसक्नुहुन्छ रे नि ?
टेलिफोन : हो, कहिलेकाहीँ बोल्ने र सुन्ने व्यक्तिबिचको संवाद स्पष्ट रूपमा पुर्याउन नसक्दा समस्या हुन्छ । तपाईँमा भने त्यस्तो कठिनाइ हुँदैन होला । कसैले बोलेको कुरा बुझेन भने लेखेर पनि सन्देश पठाउन सकिन्छ नि, होइन ?
म्यासेन्जर : हो, बोलेको कुरा बुझिएन भने लिखित रूपमा सन्देश पठाउन सकिन्छ । तपाईँसँग भने यस्तो सुविधा हुँदैन, हैन ?
टेलिफोन : हो, त्यसैले अचेल मेरो तुलनामा तपाईँको प्रयोग धेरै हुन थालेको छ ।
म्यासेन्जर : तर मलाई प्रयोग गर्न इन्टरनेट चाहिन्छ । सबै ठाउँमा इन्टरनेटको सुविधा उपलब्ध हुँदैन । इन्टरनेट नभएको स्थानमा भने तपाईँकै प्रयोग बढी हुन्छ ।
टेलिफोन : त्यो कुरा सही हो । अब मलाई अलि ढिला भयो । अहिलेलाई बिदा हुन्छु ।
म्यासेन्जर : हुन्छ, फेरि भेटेर कुराकानी गरौँला । नमस्कार ।
टेलिफोन : हवस्, नमस्कार ।
(दुवै आआफ्नो बाटोतिर लाग्छन् ।)
१३. घरमा आएका अतिथिको स्वागत गर्ने तरिका प्रस्तुत गर्नुहोस् :
उत्तर :
घरमा अतिथि आउनुभएमा पहिले नमस्कार गरी सम्मानपूर्वक स्वागत गर्नुपर्छ । उहाँलाई बस्नका लागि उचित स्थान दिएर पानी वा चिया प्रदान गर्नुपर्छ । त्यसपछि उहाँको स्वास्थ्य तथा यात्राका विषयमा आत्मीयतापूर्वक सोधपुछ गर्न सकिन्छ । अतिथि कुनै विशेष कामले आउनुभएको भए त्यसको उद्देश्य बुझेर आवश्यक सहयोग गर्नुपर्छ । विशेष काम नभएमा पनि केही समय आत्मीय कुराकानी गर्दै अतिथिलाई सहज र सम्मानपूर्ण वातावरण प्रदान गर्नुपर्छ ।
🎧 सुनाइ र बोलाइ
१. सुनाइ पाठ ४ का आधारमा ठिक वा बेठिक छुट्याउनुहोस् :
(क) हुम्ला शिक्षक परिषद्ले सम्मान प्रदान गरेको छ ।
=> उत्तर: बेठिक
(ख) सम्मानित हुने व्यक्ति विद्यालयका प्रधानाध्यापक हुन् ।
=> उत्तर: ठिक
(ग) विद्यालयको आर्थिक पक्षको उन्नयनमा हरिको उल्लेख्य भूमिका देखिन्छ ।
=> उत्तर: बेठिक
(घ) उक्त कार्यक्रम २०७८ असार १५ गते भएको हो ।
=> उत्तर: ठिक
२. सम्मान पत्रमा समावेश हुने विषयहरू लेख्नुहोस् ।
=> उत्तर: सम्मान पत्रमा सम्मान प्रदान गर्ने संस्थाको नाम, सम्मानित व्यक्तिको नाम तथा परिचय, उहाँले गरेको उल्लेखनीय कार्य, उहाँ आबद्ध रहेको संस्था, संस्थाका लागि पुर्याएको योगदान, कार्यक्रममा सहभागी अतिथि तथा प्रमुख अतिथि, सम्मान गर्ने संस्थाका अध्यक्षको नाम, पद तथा संस्था, सम्मान गरिएको साल, मिति र गतेलगायतका आवश्यक विवरण समावेश गरिन्छन् ।
🔤 भाषिक संरचना र वर्णविन्यास
२. अनुच्छेदबाट तत्सम, तद्भव र आगन्तुक शब्द छुट्याउनुहोस् :
आदर्श, जीवन, भीम र प्रतीक्षा करिब आधा घण्टा हिँडेर अखबार किन्न पसल गए । त्यहाँ मानिसको भिड थियो । उनीहरूले अखबारमा प्रकाशित समाचारको शीर्षक मात्र हेर्दै गए । उनीहरूले नयाँ वर्षको अवसरमा इन्टरनेट जोड्न छुट दिइएको सूचना ध्यान दिएर पढे । उनीहरूले घर फर्कँदा डेरीमा पसेर दुध, दही र पनिर किनेर ल्याए ।
उत्तर :
तत्सम : आदर्श, जीवन, भीम, प्रतीक्षा, घण्टा, प्रकाशित, समाचार, शीर्षक, वर्ष, अवसर, छुट, सूचना, ध्यान
तद्भव : आधा, पसल, मानिस, भिड, नयाँ, घर, दुध, दही
आगन्तुक : करिब, अखबार, इन्टरनेट, डेरी
३. पाठबाट दुई-दुईओटा तत्सम, तद्भव र आगन्तुक शब्द लेख्नुहोस् :
उत्तर :
तत्सम : संरक्षण, उद्देश्य
तद्भव : गाउँ, बाटो
आगन्तुक : साइबर, क्लब
४. दिइएका शब्दहरूलाई मूल र व्युत्पन्न शब्दमा वर्गीकरण गर्नुहोस् :
उत्तर :
मूल : सुन्दर, रचना, जय, देश, दाजु, तिमी, राम्रो, कवि, बहिनी, कुरा, अरु, रवि, गुरु, निकै, चर्चा, थाहा ।
व्युत्पन्न : आकृति, प्रकृति, कविता, एउटा, पढेर, विजय, सञ्जय, विदेश, गएका, कृति, कृतित्व, सम्भावना, सैद्धान्तिक, विद्यालय, रवीन्द्र, कवीन्द्र, रक्षा, गुरुमा, सुरक्षा, परिचर्चा ।
५. पाठबाट पाँचओटा व्युत्पन्न शब्द टिप्नुहोस् ।
=> उत्तर: सचेतना, घरेलु, सामाजिक, लैङ्गिक, सञ्चार
६. आफ्नो अध्ययनसम्बन्धी छोटो अनुच्छेद लेख्नुहोस् र मूल तथा व्युत्पन्न शब्द पहिचान गर्नुहोस् ।
=> उत्तर: म नियमित रूपमा अध्ययन गर्ने बानी बसाल्न प्रयास गर्छु । दैनिक चार घण्टा पढ्नका लागि समय छुट्याउँछु र गृहकार्य पनि समयमा नै पूरा गर्छु । अध्ययन गर्दा पाठ घोक्नुको सट्टा त्यसको अर्थ बुझेर सिक्ने प्रयास गर्छु । निरन्तर मेहनत र लगनशीलताले पढाइमा राम्रो प्रगति गर्न सकिन्छ । मेरो अध्ययनप्रतिको रुचि र अनुशासन देखेर परिवारका सदस्यहरू खुसी हुनुहुन्छ ।
७. अनुच्छेदबाट सुरु, बिच र अन्तिममा दीर्घ ऊकार भएका शब्द पहिचान गर्नुहोस् :
पूणर्माया लिम्बूले आफ्नी साथी विभूतिका लागि स्विटर तयार पारेकी थिइन् । उनकी माइजूले हेरूँ हेरूँ लाग्यो भन्दै उक्त स्विटर आफूलाई दिनू भन्ने आग्रह गर्नुभयो । स्विटर बन्नुपूर्व नै फुपू र भाउजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भनी सोच्न थालिन् ।
=> उत्तर: सुरुमा दीर्घ ऊकार :** पूणर्माया, पूर्व
बिचमा दीर्घ ऊकार : विभूति
अन्तिममा दीर्घ ऊकार : लिम्बू, माइजू, हेरूँ, आफू, दिनू, फुपू, भाउजू
८. सुरु, बिच र अन्तिममा दीर्घ ऊकार भएका पाँच-पाँचओटा शब्द लेख्नुहोस् :
उत्तर :
सुरुमा दीर्घ ऊकार : सूर्य, सूक्ति, भूत, भूमि, पूजा
बिचमा दीर्घ ऊकार : पीयूष, अनुभूति, समूह, सपूत, अभूत
अन्तिममा दीर्घ ऊकार : हुस्सू, बुद्धू, माइजू, भाउजू, कविज्यू