🌿 पर्यावरण सन्तुलन
📚 शब्दभण्डार
१. संवादमा दिइएका शब्दका अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| वायुमण्डल | पृथ्वीको चारैतिर रहेको हावाको आवरण |
| ओजन तह | सूर्यका पराबैजनी किरणहरूलाई छेकेर पृथ्वीसम्म आइपुग्न नदिने वायुमण्डलको तह |
| अतिवृष्टि | चाहिनेभन्दा बढी पानी पर्नु |
| पराबैजनी किरण | सूर्यको प्रकाशमा रहेको हानिकारक विकिरण |
| क्लोरोफ्लोरोकार्बन | ओजन तह क्षयीकरण गर्ने एक किसिमको ग्याँस |
| नर्सरी | बिरुवा हुर्काउने ठाउँ |
२. निम्न पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
| पदावली | वाक्यमा प्रयोग |
|---|---|
| पारिस्थितिक प्रणाली | पारिस्थितिक प्रणालीमा आएको असन्तुलनले जीवजन्तुको जीवनमा गम्भीर असर पार्न सक्छ । |
| अम्लीय वर्षा | वायुप्रदूषणका कारण हुने अम्लीय वर्षाले खेतीयोग्य जमिन र बालीनालीमा असर पार्छ । |
| हरितगृह प्रभाव | हरितगृह प्रभाव बढ्दै जाँदा विश्वको औसत तापक्रम पनि बढिरहेको छ । |
| ग्लोबल वार्मिङ | ग्लोबल वार्मिङका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने समस्या बढेको छ । |
३. पर्यावरणसँग सम्बन्धित प्राविधिक तथा पारिभाषिक शब्दहरू लेख्नुहोस् ।
=> उत्तर: नर्सरी, आवरण, पारिस्थितिक, अतिवृष्टि, वायुमण्डल, अम्लीय वर्षा, परियोजना, रासायनिक मल, सौर्य ऊर्जा आदि ।
४. अङ्ग्रेजी भाषाबाट आएका शब्दहरू पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: इन्टरनेट, प्लास्टिक, क्यान्सर, रफ्रिजिरेटर, नाइट्रिक एसिड, सल्फ्युरिक एसिड, भिडियो, कार्बन डाइअक्साइड, पेट्रोलियम आदि ।
५. कोश-कोस जस्ता शब्दको प्रयोग भएका वाक्यहरू लेख्नुहोस् ।
क म शब्दकोश किन्न एक कोस पर जान्छु ।
ख भाग्यशाली साली नानी कविता प्रतियोगितामा सर्वोत्कृष्ट भइन् ।
ग म राम्रा कृति लेखेर कीर्ति पनि राख्छु ।
घ म यस जन्ममा यश राख्ने काम मात्र गर्छु ।
🗣️ बोध र अभिव्यक्ति
१. निम्न शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
| शब्द | उच्चारण |
|---|---|
| वायुमण्डल | बायुमन्डल |
| अतिवृष्टि | अतिब्रिस्टि |
| अम्लीय | अम्लिय |
| प्राकृतिक | प्राक्रितिक |
| स्रोत | स्रोत |
| नवीकरणीय | नबिकरनिय |
| वनस्पति | बनस्पति |
२. संवादलाई पात्रको भावअनुसार हाउभाउसहित संवादात्मक ढङ्गले वाचन गर्नुहोस् ।
३. संवादका आधारमा निम्न प्रश्नको उत्तर दिनुहोस् :
(क) संवादमा सहभागी पात्रहरू को को हुन् ?
=> उत्तर: संवादमा शिक्षक, दीक्षा, सुवर्ण, निशान्त, श्रेया र निहारिका सहभागी छन् ।
(ख) सबैभन्दा बढी प्रश्न गर्ने विद्यार्थी को हुन् ?
=> उत्तर: संवादमा सबैभन्दा बढी प्रश्न गर्ने विद्यार्थी दीक्षा हुन् ।
(ग) संवादबाट दुईओटा प्रश्नात्मक वाक्य लेख्नुहोस् ।
=> उत्तर: “त्यसो भए पर्यावरण संरक्षणका लागि विकास निर्माणका काम नै रोक्नुुप¥यो नि होइन र ?”
“मैले कतै गलत त बुझिनँ नि गुरु ?”
(घ) संवादको सबैभन्दा लामो अनुच्छेदमा कति वाक्य छन् ?
=> उत्तर: संवादको सबैभन्दा लामो अनुच्छेद (तिमीहरू आफ्ना....... स्रोत भनिन्छ हो र यस अनुुच्छेदमा आठओटा वाक्य छन् ।
४. मौन पठन गरी प्रश्नको उत्तर दिनुहोस् :
(क) हरितगृह कुन उद्देश्यले र कसरी निर्माण गरिन्छ ?
=> उत्तर: नर्सरीमा बिरुवाका लागि आवश्यक ताप व्यवस्थापन गर्न सिसाको प्रयोग गरेर हरितगृह निर्माण गरिन्छ ।
(ख) हरितगृहभित्र न्यानो वातावरण कायम हुने कारण के हो ?
=> उत्तर: सूर्यका किरण हरितगृहभित्र प्रवेश गरेपछि सहज रूपमा बाहिर निस्कन नसक्ने भएकाले त्यहाँ ताप सञ्चित हुन्छ र बाहिरको भन्दा बढी न्यानो वातावरण कायम रहन्छ ।
(ग) कार्बन डाइअक्साइडको मात्रा बढेपछि वायुमण्डलमा कस्तो परिवर्तन आउँछ ?
=> उत्तर: वायुमण्डलमा कार्बन डाइअक्साइड बढेपछि यसले सिसाजस्तै ताप रोक्ने गुण देखाउँछ, जसका कारण पृथ्वीको तापक्रम वृद्धि हुन्छ ।
(घ) ग्लोबल वार्मिङ भन्नाले के बुझिन्छ ?
=> उत्तर: हरितगृह प्रभावका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै जानुलाई ग्लोबल वार्मिङ भनिन्छ ।
५. निम्न भनाइका वक्ता छुट्याउनुहोस् :
| भनाइ | वक्ता |
|---|---|
| “पर्यावरण र पारिस्थितिक प्रणाली उस्तै हुन् र गुरु” | दीक्षा |
| “मैले कतै गलत त बुझिनँ नि गुरु ?” | सुवर्ण |
| “दिगो विकासको कुरा त मलाई साह्रै मन पयो ।” | श्रेया |
| “हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नु जरुरी छ ।” | शिक्षक |
६. जिपिएस कलरसम्बन्धी अनुच्छेदका आधारमा उत्तर दिनुहोस् :
(अ) आर्थिक सहयोग उपलब्ध गराउने संस्था कुन कुन हुन् ?
=> उत्तर: राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालले आर्थिक सहयोग गरेका हुन् ।
(आ) जिपिएस कलरले कति समयसम्मको तथ्याङ्क उपलब्ध गराउँछ ?
=> उत्तर: जिपिएस कलरले अठार महिनासम्मको तथ्याङ्क उपलब्ध गराउँछ ।
(इ) हिउँ चितुवाको अनुगमनमा संलग्न निकायहरू कुन कुन हुन् ?
=> उत्तर: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अनुगमनमा संलग्न छन् ।
(ई) हिउँ चितुवा संरक्षण गर्नुको प्रमुख उद्देश्य के हो ?
=> उत्तर: हिउँ चितुवालाई लोप हुनबाट बचाई यसको सङ्ख्यात्मक वृद्धि गर्नु तथा वातावरण संरक्षण गर्नु नै यसको संरक्षणको प्रमुख उद्देश्य हो ।
भाषिक संरचना :
- •मौलिक शब्द : हिउँ, नेपाल
- •आगन्तुक शब्द : स्याटेलाइट, जिपिएस
- •समस्त शब्द : हिउँ चितुुवा
- •द्वित्व शब्द : आनीबानी
- •पञ्चम वर्ण भएका शब्द : निकुञ्ज, तथ्याङ्क
🌍 विषयवस्तु बोध
७. निम्न शीर्षकमा अनुच्छेद लेख्नुहोस् :
(क) ग्लोबल वार्मिङ
उत्तर :
पृथ्वीको वायुमण्डलीय तापक्रम क्रमशः बढ्दै जाने अवस्थालाई ग्लोबल वार्मिङ भनिन्छ । जलवायु परिवर्तन पृथ्वीमा प्राकृतिक रूपमा चलिरहने प्रक्रियासँग सम्बन्धित छ । पृथ्वीले सूर्यबाट सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त गर्छ र त्यसको केही भाग पुनः अन्तरिक्षतर्फ पठाउँछ । पृथ्वीमा आउने तथा अन्तरिक्षमा फर्कने विकिरणको मात्रा सन्तुलित रहँदा वायुमण्डलको तापक्रम पनि स्थिर रहन्छ । तर विकिरणको यस सन्तुलनमा परिवर्तन आएमा वायुमण्डलीय तापक्रममा असामान्य परिवर्तन हुन थाल्छ र जलवायु परिवर्तनको प्रभाव देखिन्छ ।
मिथेन, नाइट्रस अक्साइड र कार्बन डाइअक्साइडजस्ता हरित गृह ग्यासको अत्यधिक उत्सर्जन तथा ओजन तह विनास गर्ने क्लोरोफ्लोरो कार्बनजस्ता विषाक्त ग्यासको बढ्दो प्रयोगले समस्या गम्भीर बनाएको छ । पृथ्वीबाट परावर्तित विकिरण वायुमण्डलमै रोकिएपछि तापक्रम बढ्ने गर्छ । वनजङ्गलको विनाश, कोइला तथा खनिजजन्य इन्धनको अत्यधिक प्रयोग र तीव्र औद्योगिकीकरण हरितगृह ग्यास उत्सर्जनका प्रमुख कारण हुन् । यसरी मानवीय क्रियाकलापका कारण ग्लोबल वार्मिङको समस्या दिनप्रतिदिन बढिरहेको छ ।
(ख) ऊर्जाका स्रोत
उत्तर :
ऊर्जा कुनै पनि काम सम्पन्न गर्न आवश्यक पर्ने आधारभूत तत्त्व हो । आधुनिक भौतिक विज्ञानमा हरेक कार्यका लागि ऊर्जाको आवश्यकता पर्छ । मानिसले आफ्नो दैनिक जीवनमा यान्त्रिक, विद्युत, ऊष्मीय, प्रकाश र रसायनिकजस्ता विभिन्न प्रकारका ऊर्जा प्रयोग गर्छ । विभिन्न उपकरणमा आवश्यकताअनुसार एउटा प्रकारको ऊर्जा अर्को प्रकारमा परिवर्तन भएर काम सम्पन्न हुन्छ ।
मोटरले विद्युत ऊर्जालाई यान्त्रिक ऊर्जामा बदल्छ भने बैटरीले रसायनिक ऊर्जालाई विद्युत ऊर्जामा रूपान्तरण गर्छ । विद्युत ऊर्जाको प्रयोगबाट प्रकाश र ऊष्मीय ऊर्जा पनि प्राप्त गर्न सकिन्छ । कार तथा बसका इन्जिनमा पेट्रोलमा रहेको रसायनिक ऊर्जा पहिले ऊष्मीय र त्यसपछि यान्त्रिक ऊर्जामा रूपान्तरण भएर सवारीसाधन चल्छ । कोइला, पेट्रोलियम, प्राकृतिक ग्यास, पवन ऊर्जा, सौर्य ऊर्जा, लहर ऊर्जा (तरङ्ग ऊर्जा) र नदी घाटी परियोजनाहरू ऊर्जाका विभिन्न स्रोत हुन् ।
🌱 समीक्षात्मक अभ्यास
८. निम्न प्रश्नहरूको समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) पर्यावरण संरक्षणका लागि गर्नुपर्ने कामबारे आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
उत्तर :
पर्यावरणले मानिस तथा अन्य जीव वरिपरि रहेको प्राकृतिक र जैविक परिवेशलाई समेट्छ । हावा, पानी, माटो, वनस्पति, जीवजन्तु र सूर्यको प्रकाश यसका महत्त्वपूर्ण तत्त्व हुन् । यी प्राकृतिक तत्त्वबीच सन्तुलन कायम भएमा मात्र जीवको जीवन सहज रूपमा सञ्चालन हुन्छ । मानवका विभिन्न क्रियाकलापका कारण पर्यावरणमा समस्या बढ्दै गएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ ।
मानिस आफ्नो जीवनका लागि प्राकृतिक स्रोतसाधनमा निर्भर हुन्छ । उसले आफ्नो ज्ञान र सीपको प्रयोग गरेर प्राकृतिक स्रोतको उत्खनन, प्रशोधन तथा उपयोग गर्दै आएको छ । विकासका गतिविधि आवश्यक भए पनि तिनले वातावरणमा पार्ने असरलाई बेवास्ता गर्नु हुँदैन । खानेपानी, जलविद्युत् तथा सडक निर्माणजस्ता विकास योजनालाई दिगो विकासको अवधारणाअनुसार सञ्चालन गर्नुपर्छ । कुनै आयोजना सुरु गर्नुअघि विज्ञ समूहबाट त्यसको पर्यावरणीय प्रभाव अध्ययन गराई अध्ययन प्रतिवेदनका आधारमा कार्यान्वयन गर्नु उचित हुन्छ ।
प्लास्टिक, रासायनिक मल र कीटनाशक विषादीको अत्यधिक प्रयोगले वातावरणलाई हानि पुर्याउँछ । त्यसैले यिनको उचित प्रयोग र नकारात्मक प्रभावबारे जनचेतना फैलाउनुपर्छ । घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरबाट मल बनाउन सकिन्छ । यसरी जैविक मलको प्रयोग बढाउँदा रासायनिक मलको आवश्यकता घटाउन सकिन्छ ।
पेट्रोलियम पदार्थको सट्टा जलविद्युत, सौर्य ऊर्जा र गोबरग्याँसजस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्छ । नवीकरणीय र अनवीकरणीय स्रोतको उचित उपयोग गर्दै आवश्यकता भन्दा बढी प्राकृतिक स्रोत खपत गर्नबाट बच्नुपर्छ ।
दिगो विकासलाई अपनाउने, मानिसमा वातावरणीय चेतना फैलाउने, प्रदूषण कम गर्ने र स्रोतसाधनको विवेकपूर्ण उपयोग गर्ने हो भने पर्यावरण संरक्षण गर्न सकिन्छ । पर्यावरण सुरक्षित हुँदा वन्यजन्तु, वनस्पति तथा सम्पूर्ण प्राणीको अस्तित्व सुरक्षित रहन्छ । त्यसैले पर्यावरण संरक्षण मानव जातिको अत्यन्त महत्त्वपूर्ण जिम्मेवारी हो ।
(ख) वातावरणीय सन्तुलन कायम गर्न अपनाउनुपर्ने उपायहरू लेख्नुहोस् ।
उत्तर :
वातावरण मानिस वरिपरि रहेको प्राकृतिक परिवेश हो । यसको सन्तुलन कायम राख्न मानवको भूमिका विशेष महत्त्वपूर्ण हुन्छ, किनकि वातावरणमा असन्तुलन ल्याउने धेरै गतिविधि मानिसकै कारण भइरहेका छन् । त्यसैले हरेक व्यक्तिले आफ्नो व्यवहार र गतिविधिलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।
विकास निर्माणका काम गर्दा दिगो विकासको सिद्धान्तलाई प्राथमिकता दिनुपर्छ । अनियन्त्रित जनसङ्ख्या वृद्धि, अव्यवस्थित सहरीकरण तथा प्राकृतिक स्रोतको अत्यधिक प्रयोगबाट उत्पन्न हुने वातावरणीय समस्यालाई नियन्त्रण गर्नुपर्छ । घरबाट निस्कने फोहोरलाई छुट्याएर व्यवस्थापन गर्ने र कुहिने फोहोरबाट मल बनाउने अभ्यास गर्नुपर्छ । यसबाट फोहोर व्यवस्थापन हुनुका साथै रासायनिक मलको प्रयोगसमेत कम गर्न सकिन्छ ।
पेट्रोलियम पदार्थको प्रयोग घटाई जलविद्युत, सौर्य ऊर्जा तथा गोबरग्याँसजस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्छ । प्राकृतिक स्रोतको अनावश्यक दोहन नगरी आवश्यकताअनुसार मात्र उपयोग गर्नुपर्छ । फोहोर व्यवस्थापन, स्रोतको संरक्षण र वातावरणमैत्री व्यवहारजस्ता साना प्रयासलाई निरन्तरता दिन सके पृथ्वी तथा सम्पूर्ण जीवजगत्को संरक्षणमा ठूलो योगदान पुग्छ ।
(ग) प्रदूषण नियन्त्रणका उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तर :
कलकारखाना र यातायातका साधनबाट निस्कने धुँवा तथा धुलोले वातावरणमा प्रदूषण फैलाउँछ । त्यसैगरी पानीका स्रोतमा जथाभावी फोहोर फाल्दा पारिस्थितिक प्रणालीमा असन्तुलन उत्पन्न हुन सक्छ र प्राकृतिक विपत्तिको जोखिम पनि बढ्न सक्छ । अव्यवस्थित सहरीकरण, अनियोजित बस्ती र वातावरणीय चेतनाको कमीले यस्तो समस्या थप जटिल बनाउँछन् । यसको प्रतिकूल प्रभाव मानव, वनस्पति र अन्य जीवजन्तुमा पर्न सक्छ ।
प्रदूषण कम गर्न सर्वसाधारणमा वातावरणीय चेतना फैलाउनुपर्छ । फोहोरलाई जथाभावी फाल्ने प्रवृत्ति अन्त्य गरी पानीका मुहान सफा राख्नुपर्छ । पेट्रोलियममा आधारित यातायातको विकल्पका रूपमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सकिन्छ । उद्योग तथा कलकारखानालाई मानव बस्तीबाट उपयुक्त दूरीमा स्थापना गरी तिनबाट निस्कने धुँवा नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्छ । यसरी योजनाबद्ध प्रयास गरेमा प्रदूषण घटाई वातावरणीय सन्तुलन कायम गर्न सकिन्छ ।
(घ) ‘खेलकुदको महŒव’ विषयमा संवाद लेख्नुहोस् ।
उत्तर :
खेलकुदको महŒव
(विद्यालयको चौरमा केही विद्यार्थीहरू फुटबल खेलिरहेका छन् । नवीन र जागृत एक ठाउँमा बसेर खाजा खाइरहेका छन् ।)
नवीन : जागृत, हिजोको फुटबल खेलमा तिमी सहभागी भएनौ नि । किन ?
जागृत : मलाई खेलकुद खासै मन पर्दैन । खेल्न पनि आउँदैन र खेल हेर्नमा पनि रुचि छैन ।
नवीन : खेलकुदको महत्त्व नबुझेर यस्तो भनेको होला । नियमित खेल्दा शरीर बलियो र स्वस्थ हुन्छ । शारीरिक विकासका लागि खेलकुद आवश्यक छ ।
जागृत : म त फुर्सदमा मोबाइल गेम खेल्छु । त्यसबाट पनि रमाइलो हुन्छ ।
नवीन : मोबाइल गेमले खेलकुदको स्थान लिन सक्दैन । मोबाइलमा लामो समय बसेर गेम खेल्दा शरीरलाई आवश्यक व्यायाम हुँदैन । वास्तविक खेलमा शरीर सक्रिय रूपमा चल्छ ।
जागृत : खेलकुदबाट स्वास्थ्यबाहेक पनि केही उपलब्धि हुन्छ र ?
नवीन : हुन्छ नि । राम्रो खेलाडीले खेलकुदलाई आफ्नो पेशा बनाउन सक्छ । उसले प्रसिद्धिसँगै राम्रो आम्दानी पनि गर्न सक्छ । सन्दीप लामिछाने, पारस खड्का र बिमल घर्ती मगरले खेलकुदमार्फत नाम र पैसा कमाएका छन् र यसै क्षेत्रबाट जीविका चलाएका छन् ।
जागृत : त्यसो भए मैले खेलकुदलाई मनोरञ्जनका लागि मात्र गरिने काम ठानेको रहेछु ।
नवीन : त्यस्तो होइन । खेलकुदले देशको गौरव बढाउनसमेत सहयोग गर्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दा विश्वसामु नेपालको नाम चिनिन्छ । यस्ता प्रतियोगिताका लागि सरकारले पनि सहयोग गर्छ । खेलकुद शारीरिक र बौद्धिक विकासका लागि आवश्यक छ ।
जागृत : अब म पनि नियमित खेलकुदमा सहभागी हुन्छु ।
नवीन : त्यसो भए आजैदेखि हाम्रो टिममा आऊ ।
जागृत : हुन्छ । अब म अभ्यास गर्न थाल्छु ।
(विद्यालयको घण्टी बज्छ ।)
नवीन : कक्षाको घण्टी बजिसकेछ । अब जाऔँ ।
जागृत : ल, कक्षामा जाऔँ ।
(दुवै जना कक्षातर्फ लाग्छन् ।)
✍️ भाषिक संरचना र वर्णविन्यास
१. समस्त शब्दको विग्रह गर्नुहोस् :
| समस्त शब्द | विग्रह |
|---|---|
| आजभोलि | आज र भोलि |
| घरबाहिर | घरदेखि बाहिर |
| साँझबिहान | साँझ र बिहान |
| दिनभरि | दिन भरि |
| दुगुना | दुई गुना |
| चौगुना | चार गुना |
| खाद्यसामग्री | खाद्यको सामग्री |
| थोकव्यापारी | थोक व्यापारी |
| विद्यालय | विद्या आलय |
| देवालय | देव आलय |
| सानिमा | सानी आमा |
| ठुलीआमा | ठुली आमा |
| ठुल्दाइ | ठुलो दाइ |
| सान्दाइ | सानो दाइ |
| दोबाटो | दुई बाटोको समूह |
| चौबाटो | चार बाटोको समूह |
२. विग्रहलाई समस्त शब्दमा परिवर्तन गर्नुहोस् :
| विग्रह | समस्त शब्द |
|---|---|
| मनलाई मोहक | मनमोहक |
| भान्छाका लागि घर | भान्छाघर |
| नाफा वा नोक्सान | नाफानोक्सान |
| पाँचओटा अमृतको समूह | पञ्चामृत |
| पीत छ अम्बर जसको | पीताम्बर |
| महान् कवि | महाकवि |
| गहुँझैँ गोरो | गहुँगोरो |
| विद्या नै धन | विद्याधन |
| हरेक बखत | हरबखत |
| सम्भव भएसम्म | यथासम्भव |
३. समस्त र विग्रह रूप मिलाउनुहोस् :
| रूप | रूपान्तरण |
|---|---|
| आशातीत | आशा अतीत |
| खाद्य अन्न | खाद्यान्न |
| वनमा भोज | वनभोज |
| न रुनु न हाँस्नु | रुनुनहाँस्नु |
| गाईको जात्रा | गाईजात्रा |
| त्रिवेणी | तीन नदीको सङ्गम |
| लामपुच्छ«्रे | लामो पुच्छर भएको |
| हरेक | हर एक |
४. पाँचओटा समस्त शब्द लेख्नुहोस् ।
=> उत्तर: स्रोतसाधन (स्रोत र साधन), सर्वाेत्कृष्ट ( सर्व उत्कृष्ट), वनजङ्गल (वन र जङ्गल), जडीबुुटी (जडी र बुटी), नदीनाला (नदी र नाला)
५. द्वित्व प्रक्रियाबाट बनेका शब्दहरू लेख्नुहोस् ।
=> उत्तर: ससाना (सानास+साना), मिलीजुली (मिली+मिली), सँगसँगै ( सँग+सँग), सरसापट (सापट+सापट), ऐँचोपैंचो (पैंचो+पैंचो), आआफ्नो (आफ्नो+आफ्नो), छरछिमेक (छिमेक+छिमेक ), घर घर (घर+घर ), झझल्को (झल्को+झल्को)
६. द्वित्व शब्दको प्रयोग गरी अनुच्छेद तयार गर्नुहोस् ।
उत्तर :
मानिसको राम्रो आनीबानीले उसको व्यक्तिगत जीवन मात्र होइन, समाज र वातावरणमा समेत सकारात्मक प्रभाव पार्छ । हामीले बेलाबेलामा एकअर्कालाई सरसहयोग गर्ने र छरछिमेकसँग आत्मीय सम्बन्ध कायम राख्ने बानी बसाल्नुपर्छ । आवश्यक अवस्थामा ऐँचोपैँचो गरेर सहयोग आदानप्रदान गर्न सकिन्छ । गाउँका ससाना समस्या आपसी समझदारीबाट समाधान गर्नुपर्छ । घरघरबाट फोहोर व्यवस्थापन र सरसफाइमा ध्यान दिइयो भने वातावरणलाई स्वच्छ राख्न सकिन्छ ।
७. पञ्चम वर्ण भएका शब्दहरू लेख्नुहोस् ।
=> उत्तर: पञ्चकृष्ण, धुरन्धर, पण्डित, गङ्गास्नान, शङ्खघण्ट, पञ्चामृत, सञ्जय, शान्ति, सम्बन्ध, सन्ध्या, सन्तान ।
८. अशुद्ध अनुच्छेदलाई शुद्ध बनाएर लेख्नुहोस् ।
=> उत्तर: पञ्चनाथ सन्त थिए । समाजसेवा गर्ने उनको सङ्कल्प थियो । उनी कण्ठमा माला लगाउँथे । समाजमा उनको सबैसँग राम्रो सम्बन्ध थियो ।