📖 स्वाद
📚 शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :
| शब्द | अर्थ |
|---|---|
| बहाली | नयाँ पद, ओहदा, अधिकार आदि सम्हाल्ने काम |
| गर्व | अभिमान, घमन्ड |
| फारो | थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा, मितव्ययिता |
| भाउ | दर, मोल |
| ज्यास्ती | ज्यादा |
| नोक्सानी | नोक्सान भएको स्थिति |
| अड्डी | जिद्दी, ढिपी |
| तोड | आघात, मानसिक चोट |
| टोकरी | बाँसका चोयाले बुनेको एक किसिमको सानो डाली |
२. कथामा याँ, गर्या, सक्या, पाँचोटा, चिन्या, काट्या, कॉ, पख्नुसन्, लानुस् जस्ता बोलीचालीमा प्रयोग गरिने शब्द आएका छन् । पाठको सन्दर्भ ख्याल गरी उक्त शब्दका शुद्ध रूप लेख्नुहोस् ।
=> उत्तर: याँ - यहाँ, गऱ्या - गरेको, सक्या - सकेको, पाँचोटा - पाँचओटा, चिन्या - चिनेको, काट्या - काटेको, काँ - कहाँ, पस्नुस्न - पस्नुहोस् न, लानुस् - लानुहोस् ।
३. कथामा प्रयोग भएका निम्नलिखित टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस् :
| टुक्का | वाक्यमा प्रयोग |
|---|---|
| खोटो हुनु | भाग्य मै खोटो भएपछि जति मेहनत गरेपनि केही उपलब्धि नहुने रहेछ । |
| अड्डी कस्नु | अनावश्यक कुरामा अड्डी कसेर बस्नु त्यति राम्रो होइन । |
| मुखमै झुन्डिनु | अस्ति बिहेमा खाएको पुलौको स्वाद त मेरो मुखैमा झुन्डिएको छ । |
| सेखी झिक्नु | बुढाले बुढीसँग र बुढीले बुढासँग सेखी गरेर केही फाइदा हुदैन । |
४. दिइएको अनुच्छेदमा प्रयोग भएका उखान टिप्नुहोस् । साथीसँग मिली अन्य पाँचओटा उखान खोजेर तिनका अर्थबारे छलफल गर्नुहोस् :
उत्तर :
| अनुच्छेदमा प्रयोग भएका उखान |
|---|
| इलमीका भागमा दुध र भात |
| अघिको तितो पछिको मिठो |
| जाँगर न साँगर खाने बेलामा आँ गर |
| रातभरि करायो दक्षिण हरायो |
| दिन उजेली सुती गुमाई |
| रात उजेली बिस्कुन सुकाई |
अन्य पाँचबोटा उखान :
| उखान |
|---|
| काला अक्षर भैंसी बराबर |
| काम गर्ने कालु मकै खाने भालु |
| जसले मह काड्छ, उसले हात चाट्छ |
| सेवा गरे मेवा मिल्छ |
| हात्तीको मुखमा जिरा |
५. दिइएको अनुच्छेद पढी अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :
=> उत्तर: लुरुलुरु, चपक्क, घुटुक्क, जुरुक्क, सरासर, घटघट ।
६. दिइएका अनुकरणात्मक शब्द र तिनले जनाउने कार्यबिच जोडा मिलाउनुहोस् :
| अनुकरणात्मक शब्द | जनाउने कार्य |
|---|---|
| फटाफट | हिँड्नु |
| गम्लङ्ङ | ओढ्नु |
| घ्याच्च | रोक्किनु |
| कपाकप | खानु |
| छ्याङ्ग | उज्यालो हुनु |
| गलल्ल | हाँस्नु |
| हुरुरुरु | हावा चल्नु |
📝 बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
| शब्द | शुद्ध उच्चारण |
|---|---|
| घृणा | घ्रि. ना. |
| भाषण | भा. सन्. |
| स्वास्थ्य | स्वास्. थ्य. |
| टोकरी | टो.क.रि. |
| सान्त्वना | सान्. त्व. ना. |
| गह्रौँ | गह्. रौं. |
| महँगो | म.हँ.गो. |
| ज्यालादारी | ज्या. ला. दा. रि. |
| विक्रेता | बिक्.रे.ता. |
२. 'स्वाद' कथाका अनुच्छेद पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका शब्दको अक्षर संरचना पढ्नुहोस् र पाठबाट अक्षर सङ्ख्या फरक भएका पाँचओटा शब्द टिपी तिनको अक्षरसंरचना देखाउनुहोस् ।
| शब्द | अक्षर संरचना | अक्षर सङ्ख्या |
|---|---|---|
| साबुन | सा. बुन् | दुई |
| गरिबी | ग. रि. बि | तीन |
| पद | पद | एक |
| महिनाबारी | म. हि. ना. बा. रि | पाँच |
| प्रसन्नता | प्र. सन् न ता | चार |
४. स्वाद कथाको संरचनासँग सम्बन्धित प्रश्नको उत्तर दिनुहोस् :
(क) कथाको प्रारम्भ कुन सन्दर्भबाट गरिएको छ ?
=> उत्तर: कथाको सुरुआत लोग्नेको साबुन सकिएको र त्यस कारण ऊ नुहाउन नपाएको अवस्थाबाट हुन्छ ।
(ख) कथाको संवादमा कति जना पात्र उपस्थित छन् ?
=> उत्तर: कथाको संवादमा चार जना पात्र उपस्थित भएका छन् ।
(ग) कथाको अन्त्य कुन घटनाबाट भएको छ ?
=> उत्तर: माछा किन्दा लिएको पाँच रुपियाँ ऋण तिर्ने घटनाबाट कथाको अन्त्य भएको छ ।
(घ) कथाले कहाँको परिवेश अँगालेको छ ?
=> उत्तर: आजभन्दा लगभग ५० वर्ष अगाडिको नेपालको कुनै एउटा सहरको परिवेशलाई कथाले अँगालेको छ ।
५. दिइएको कथाको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) आफ्नो जागिरप्रति 'ऊ' पात्रको धारणा कस्तो थियो ?
=> उत्तर: लामो समयसम्म जागिर नपाएको अवस्थामा साधारण कारिन्दाको काम प्राप्त भएकाले 'ऊ' आफ्नो जागिरप्रति खुसी र सन्तुष्ट थियो । तलब बुझ्ने दिन उसमा जागिर पाएकोप्रति राहतको भावना उत्पन्न हुन्थ्यो । यसबाट उसको आफ्नो जागिरप्रतिको धारणा सकारात्मक रहेको स्पष्ट हुन्छ ।
(ख) पात्रले नुहाउन नसक्नाको कारण के हो ?
=> उत्तर: घरको पैसा सकिएपछि साबुन पनि सकिएको थियो । साबुन उपलब्ध नभएकाले पात्रले नुहाउन नसकेको हो ।
(ग) श्रीमती किन कोठाभित्र पसिन् ?
=> उत्तर: लोग्नेले पाउने तलबअनुसार घरका खर्चहरू कसरी व्यवस्थापन गर्ने भन्ने हिसाब मिलाउन श्रीमती कोठाभित्र पसेकी थिइन् ।
(घ) अनुच्छेदमा रहेको 'एउटा पद आजीवन पाउनु' भन्नुको आशय के हो ?
=> उत्तर: 'एउटा पद आजीवन पाउनु' भन्नाले प्राप्त गरेको पदबाट जीवनभर पदोन्नति नहुनु र अन्तिमसम्म त्यही पदमै कार्यरत रहनु भन्ने अर्थ लाग्छ ।
६. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :
| क्र.सं. | संवाद | वक्ता तथा श्रोता |
|---|---|---|
| (क) | साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी । | स्वास्नीले आफ्नो लोग्नेसँग |
| (ख) | मैले हिसाब गऱ्याभन्दा बढी नै रकम पो आएछ त ? | लोग्नेले आफ्नी स्वास्नीसँग |
| (ग) | सागपातमा धेरै भिटामिन हुन्छ । | लोग्नेले सम्झिएको |
| (घ) | मलाई घर जान पनि हतार छ । | माछा व्यापारीले स्वास्नीसँग |
| (ङ) | अर्काको खसी ज्यालादारीमा काटेको थिएँ, सबै पैसा भर्खरै त्यसैलाई बुझाइसकें । | कान्छा दाइले लोग्नेसँग |
७. कथामा आएका महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के जी, एक रुपियाँ किलो तरकारी जस्ता भनाइबाट कथामा वर्णन गरिएको समय कति पहिलेको हो, अनुमान गर्नुहोस् ।
=> उत्तर: महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ के. जी र तरकारीको मूल्य एक रुपियाँ किलो भएको प्रसङ्गलाई हेर्दा कथामा प्रस्तुत गरिएको समय आजभन्दा लगभग ५०-६९ वर्ष अघिको भएको अनुमान गर्न सकिन्छ ।
८. दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :
(क) 'स्वाद' कथाका लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर :
लोग्ने :
'स्वाद' कथामा लोग्ने सामान्य कारिन्दाको भूमिकामा रहेको प्रमुख पुरुष पात्र हो । उसको जीवन न्यून आम्दानीमा परिवारको खर्च धान्नुपर्ने कठिन अवस्थासँग जोडिएको छ । साधारण जागिर भए पनि रोजगार पाएको कुरामा ऊ खुसी छ । तर आर्थिक अभावले उसको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको छ । साबुन नभएर नुहाउन नसक्दा पनि ऊ गरिबीको अवस्थालाई सहज रूपमा स्वीकार गर्न चाहँदैन । गरिबीलाई घृणा गर्नुपर्छ भन्ने विचार राख्ने ऊ सामान्य लेखपढ गर्न सक्ने पात्रका रूपमा पनि चित्रित छ ।
स्वास्नी :
स्वास्नी कथाकी प्रमुख महिला पात्र हो । उसमा अभावबीच पनि घरपरिवारलाई व्यवस्थित रूपमा अगाडि बढाउने व्यावहारिक क्षमता छ । साबुन नहुँदा नुहाउनै छोड्नु हुँदैन भन्ने उसको विचारले परिस्थितिअनुसार समाधान खोज्ने स्वभाव देखाउँछ । गरिब मानिसले सधैँ सबै सुविधा पाउन नसक्ने भएकाले उपलब्ध साधनअनुसार जीवन चलाउनुपर्ने यथार्थलाई उसले बुझेकी छे । कम आम्दानीमा घरका आवश्यक सामग्री जुटाउने, खर्चको हिसाब मिलाउने तथा लोग्नेलाई साथ दिने भएकाले ऊ व्यवहारकुशल, सहयोगी र जिम्मेवार पात्रका रूपमा प्रस्तुत भएकी छे ।
(ख) कथामा नेपाली समाजको आर्थिक समस्यालाई कसरी चिनाइएको छ ?
उत्तर :
ध्रुवचन्द्र गौतमको 'स्वाद' कथाले न्यून आम्दानीमा गुजारा गर्ने परिवारको अवस्थालाई प्रस्तुत गर्दै नेपाली समाजको आर्थिक समस्याको चित्र दिन्छ । साधारण कारिन्दाको तलबले परिवारका सबै आवश्यकता पूरा गर्न नसक्ने स्थिति कथाको केन्द्रमा छ । दैनिक उपभोगका सामग्रीदेखि खानपान र परिवारका अन्य चाहनासम्म सीमित आयका कारण प्रभावित हुन्छन् ।
परिवारको आवश्यकता धेरै भए पनि आयको स्रोत थोरै भएकाले उनीहरूले हरेक खर्च सोचेर गर्नुपर्ने अवस्था छ । तलब आएको समयमा मात्र केही आवश्यक वस्तु किन्ने अवसर प्राप्त हुन्छ । माछा किन्नसमेत पैसा नपुगेपछि सापटी लिनुपर्ने घटनाले आर्थिक अभावको गम्भीरता देखाउँछ । यसरी कथाले न्यून तलब, बढ्दो आवश्यकता र अभावपूर्ण जीवनबीच संघर्ष गरिरहेको परिवारको माध्यमबाट नेपाली समाजमा रहेको आर्थिक समस्यालाई वास्तविक रूपमा चिनाएको छ ।
(ग) कथाको मुख्य सन्देश के हो ?
उत्तर :
'स्वाद' कथामा सामान्य जागिरे परिवारको जीवनलाई आधार बनाएर आर्थिक अभावले मानिसको दैनिक जीवनमा पार्ने प्रभाव देखाइएको छ । तलब प्राप्त भएपछि केही समय परिवारमा आवश्यक सामान किन्ने र मनपर्ने खानेकुरा खाने अवसर आउँछ, तर सीमित आम्दानीका कारण त्यो खुसी लामो समय टिक्दैन ।
कथाले सामान्य परिवारले भोग्ने आर्थिक कठिनाइलाई सहरको जीवनसँग जोडेर प्रस्तुत गरेको छ । न्यून आम्दानी र धेरै आवश्यकताबीच जीवन बिताउनुपर्ने नेपाली समाजको यथार्थलाई देखाउनु कथाको मूल उद्देश्य हो । दैनिक आवश्यकता पूरा गर्नसमेत संघर्ष गर्नुपर्ने आर्थिक अवस्थाप्रति कथाले ध्यान आकर्षित गरेको छ ।
९. दिइएका घटनालाई कथाअनुसार क्रम मिलाएर लेख्नुहोस् :
| क्रम | घटना |
|---|---|
| १ | एउटा अड्डामा साधारण कारिन्दाका रूपमा काम गर्दै आउनु |
| २ | तलब आउने दिनको प्रतीक्षामा रहनु |
| ३ | लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु |
| ४ | स्वास्नीले नुहाउन जोड दिनु |
| ५ | पैसा पाउनासाथ किनमेलका लागि बजार जानु |
| ६ | स्वास्नीले शोभासँग पाँच रुपियाँ सापटी माग्नु |
१०. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(अ) गुल्मीमा कफीको उत्पादन कहिलेदेखि सुरु भएको मानिन्छ ?
=> उत्तर: गुल्मीमा कफीको उत्पादन करिब ८० वर्ष अघिदेखि सुरु भएको मानिन्छ ।
(आ) नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना कहिले भयो ?
=> उत्तर: नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना वि.सं. २०४२ मा भयो ।
(इ) नेपालमा कफी खेतीको सुरुआत कसरी भयो ?
=> उत्तर: गुल्मीका स्थानीय हिरा गिरीले ८० वर्षअघि बर्माबाट कफी ल्याएर रोपेका थिए । राजा विरेन्द्रले भ्रमणका क्रममा त्यसलाई पहिचान गरी प्रोत्साहन गरेपछि नेपालमा कफी खेतीको सुरुआत भएको हो ।
(ई) गुल्मीलाई किन कफी खेतीको पकेट क्षेत्र मानिन्छ ?
=> उत्तर: गुल्मीमा कफी खेती व्यावसायिक रूपमा हुँदै आएको छ र नेपालमै सबैभन्दा धेरै कफी उत्पादन हुने क्षेत्र भएकाले गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र मानिन्छ ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) 'व्यावसायिक' शब्दको अर्थ स्पष्ट पार्नुहोस् ।
=> उत्तर: व्यावसायिक :- व्यवसायसम्बन्धी, विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने ।
(आ) ‘छुटाउँदैनन्' र ‘भयो' क्रियापदको धातु पहिचान गर्नुहोस्।
=> उत्तर: छुट्याउँदैनन् - छुट्याउ, भयो - हु ।
(इ) अनुच्छेदबाट एउटा सकर्मक र एउटा अकर्मक वाक्य पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: सकर्मक वाक्य - सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए ।
(ई) अनुच्छेदबाट दीर्घ ईकार लागेका शब्द पहिचान गरी लेख्नुहोस् ।
=> उत्तर: दीर्घ ईकार लागेका शब्द - कफी, पर्यटकीय, खेती, स्थानीय, बारी, जानकारी, तत्कालीन ।
११. 'स्वाद' कथामा नेपाली समाजका कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, लेख्नुहोस् ।
उत्तर :
'स्वाद' सामाजिक विषयवस्तुमा आधारित कथा हो । ध्रुवचन्द्र गौतम (वि.सं. २००१) ले यस कथामा सामान्य जागिर गर्ने परिवारको जीवनलाई आधार बनाएर तत्कालीन नेपाली समाजको सामाजिक तथा आर्थिक अवस्थालाई प्रस्तुत गरेका छन् । सीमित तलबमा घरपरिवार चलाउने, आवश्यक सामान जुटाउने र तलब आएको समयमा केही समयका लागि आफ्नो चाहना पूरा गर्ने परिवारको जीवनशैली कथामा देखिन्छ ।
कथाको लोग्ने कार्यालयमा साधारण कारिन्दाको काम गर्छ । आर्थिक अवस्था कमजोर भएकाले साबुनजस्तो सामान्य वस्तुको अभावसमेत उसको जीवनमा देखापर्छ । ऊ गरिबीलाई स्वीकार गर्न चाहँदैन र प्रत्येक गरिबले आफ्नो गरिबीप्रति असन्तुष्ट हुनुपर्ने धारणा राख्छ । स्वास्नी भने अभावलाई व्यावहारिक रूपमा बुझ्छे । साबुन नभए पनि नुहाउनुपर्ने र उपलब्ध साधनमै जीवन चलाउनुपर्ने उसको विचारले तत्कालीन निम्न आय भएको परिवारको यथार्थ देखाउँछ ।
लोग्ने लामो समयसम्म एउटै पदमा रहे पनि बेरोजगार नभएकोमा सन्तुष्ट छ । तलब अपेक्षाभन्दा बढी आएपछि उसको खुसी बढ्छ र स्वास्नीसँग बजारमा किनमेल गर्न जान्छ । स्वास्नीले तयार पारेको सूचीअनुसार उनीहरूले घरका लागि आवश्यक सामान खरिद गर्छन् । खसीको मासु खाने इच्छा भए पनि आर्थिक अभावका कारण माछामा सम्झौता गर्नुपर्छ । माछा किन्नसमेत रकम अपुग भएपछि स्वास्नीले आफ्नी साथी शोभासँग पाँच रुपियाँ सापटी माग्छे ।
अन्ततः उनीहरू माछा लिएर घर फर्कन्छन् र सानो छोरासहित खुसी भएर खाना खान्छन् । तर यस्तो खुसी अर्को महिनाको तलब नआएसम्म दोहोरिन नसक्ने अवस्था छ । यसबाट सीमित आम्दानी, पारिवारिक सहयोग, अभावमा गरिने सम्झौता, आपसी समझदारी र सामान्य परिवारको जीवनशैलीजस्ता सामाजिक तथा सांस्कृतिक पक्ष उजागर भएका छन् ।
यसरी सामान्य कारिन्दाको परिवारको जीवनमार्फत कथाकारले नेपाली समाजमा रहेको गरिबी र आर्थिक अभावको पीडा प्रस्तुत गरेका छन् ।
१२. व्याख्या गर्नुहोस् :
आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिवले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।
उत्तर :
प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत दोस्रो पाठमा रहेको 'स्वाद' शीर्षकको कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार ध्रुबचन्द्र गौतम (वि.सं. २०००) हुन् । कथा, नाटक, कविता, उपन्यास, आदि थुप्रै विधामा कलम चलाउने उनी बहुमुखी प्रतिभा भएका व्यक्तित्व हुन् । आजभन्दा करिब ५० वर्षअघि तत्कालीन परिवेशका निम्नस्तरका जागिरेहरूको दयनीय अवस्थालाई कथाले देखाएको छ ।
यस भनाइमा गरिबीलाई जीवनको अपरिवर्तनीय सत्य मानेर त्यसैमा सन्तुष्ट बस्नु हुँदैन भन्ने धारणा व्यक्त गरिएको छ । आर्थिक अभावको सामना गर्नुपरे पनि मानिसले आफ्नो अवस्था बदल्ने प्रयत्न गर्नुपर्छ । गरिब हुनु आफैँमा स्थायी परिचय होइन; मेहनत, प्रयास र संघर्षद्वारा आर्थिक अवस्था सुधार्न सकिन्छ ।
मानिसका आधारभूत आवश्यकता पूरा हुनु आवश्यक छ । गरिबीका कारण खाना, कपडा तथा आवश्यक सुविधाबाट वञ्चित भइरहनु उचित हुँदैन । त्यसैले आफ्नो कमजोर अवस्थालाई स्वीकार गरेर निष्क्रिय बस्नुको सट्टा त्यसविरुद्ध निरन्तर प्रयास गर्नुपर्छ । आफ्ना रहर, इच्छा र आकाङ्क्षालाई केवल गरिबीका कारण समाप्त पार्नु हुँदैन ।
प्रस्तुत विचारले गरिबीप्रति असन्तुष्ट भएर त्यसबाट बाहिर निस्कने प्रेरणा दिन्छ । मानिसले आफ्नो अवस्था सुधार्न सक्रिय हुनुपर्छ र गरिबीलाई भाग्यको अन्तिम निर्णय मानेर बस्नु हुँदैन ।
कथामा करिब ५० वर्षअघिको परिवेश प्रस्तुत भए पनि यसले उठाएको आर्थिक समस्या आज पनि सान्दर्भिक देखिन्छ । निम्नस्तरका कर्मचारी तथा न्यून आय भएका मानिसहरूले अझै पनि दैनिक आवश्यकता पूरा गर्न संघर्ष गर्नुपर्ने अवस्था भएकाले कथाको विचार वर्तमान समयसँग पनि सम्बन्धित छ ।
१३. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
क) स्वाद कथाले चर्चा गरे जस्तै हाम्रो समाजमा गरिबीको पीडा छ त, तर्क दिनुहोस् ।
उत्तर :
सामाजिक यथार्थवादी कथाकार ध्रुवचन्द्र गौतमले 'स्वाद' कथामार्फत आर्थिक अभावमा जीवन बिताउने परिवारको अवस्था देखाएका छन् । न्यून तलबमा निर्भर परिवारले सामान्य आवश्यकता पूरा गर्नसमेत कठिनाइ भोग्नुपरेको अवस्था कथाको प्रमुख आधार हो । तलब आउने दिन पर्खनुपर्ने, आवश्यक सामान खरिद गर्न पैसा नपुग्ने र अन्ततः सापटी लिनुपर्ने घटनाले गरिबीको वास्तविक पीडा देखाउँछ ।
नेपाली समाजमा पनि यस्तै आर्थिक समस्या भएका मानिसहरू पाइन्छन् । कतिपय परिवारको आम्दानी दैनिक आवश्यकताभन्दा कम हुन्छ । यस्तो अवस्थामा खाना, कपडा, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ हुन सक्छ । आर्थिक अभावले मानिसलाई अरूको सहयोगमा निर्भर बनाउने अवस्था पनि सिर्जना गर्न सक्छ ।
तर गरिबीबाट माथि उठ्ने प्रयास गर्ने मानिसहरू पनि हाम्रो समाजमा छन् । उनीहरूले आफ्नो सीप र क्षमतालाई प्रयोग गर्छन्, श्रम गर्छन् र निरन्तर आम्दानीको बाटो खोज्छन् । मेहनत तथा सक्रियतामा विश्वास गर्नेहरू विस्तारै आर्थिक रूपमा सबल बन्न सक्छन् र जीवनस्तर सुधार गर्न सक्छन् ।
यसको विपरीत, गरिबीलाई मात्र बहाना बनाएर निष्क्रिय बस्ने र अरूमाथि निर्भर हुने मानिसहरू लामो समयसम्म कठिन अवस्थामा रहन सक्छन् । निरन्तर अभावले पारिवारिक शान्ति, विश्वास र एकतामा समेत असर पुर्याउन सक्छ । आधारभूत आवश्यकता पूरा गर्न अरूकै सहयोग खोज्नुपर्ने अवस्था आउन सक्छ ।
त्यसैले कथाले देखाएको गरिबीको समस्या केवल कथाको विषय मात्र होइन, नेपाली समाजमा पनि देखिने वास्तविक अवस्था हो । श्रम, सीप, आत्मविश्वास र निरन्तर प्रयासका माध्यमबाट गरिबीको अवस्थालाई क्रमशः सुधार गर्न सकिन्छ ।
१४. तल दिइएको सन्दर्भ पढी तोकिएको कार्य गर्नुहोस्ः
घरमा बनाएका खाजा र पसलबाट किनेर ल्याएका यस्तै अन्य खाजाको तुलना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर :
घरमा बनाएका खाजा :
• घरमै तयार गरिने खाजा स्वास्थ्यकर हुने भएकाले स्वास्थ्यका लागि उपयुक्त हुन्छन् ।
• घरमा बनाउँदा खाजामा प्रयोग हुने सामग्री र त्यसको तयारीमा ध्यान दिन सकिन्छ ।
• स्वाद तथा रङ आकर्षक बनाउन अनावश्यक मिसावट गरिँदैन ।
• उपभोग्य मिति वा समय सकिएको सामग्री प्रयोग नगर्ने भएकाले खाना तुलनात्मक रूपमा सुरक्षित हुन्छ ।
• घरमै खाजा बनाउँदा बजारबाट खरिद गर्नुपर्ने खर्च घट्छ र खर्चको बचत हुन्छ ।
• स्वास्थ्य नै जीवनको पहिलो धन भएकाले स्वस्थ तथा सुरक्षित जीवनका लागि घरमा तयार गरिएका खाजा उपयुक्त मानिन्छन् ।
बजारिया खानेकुरा :
• बजारमा पाइने खानेकुरामा स्वास्थ्यभन्दा स्वाद, रङ तथा गन्धलाई आकर्षक बनाउने कुरालाई प्राथमिकता दिइएको हुन सक्छ ।
• यस्ता खानेकुरा सधैँ स्वास्थ्यकर नै हुन्छन् भन्ने सुनिश्चित हुँदैन ।
• स्वाद, रङ र गन्ध बढाउन गरिने विभिन्न प्रकारका मिसावटले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।
• उत्पादन तथा उपभोग्य मिति समाप्त भइसकेका खानेकुरा पनि बजारमा भेटिन सक्ने भएकाले त्यस्ता वस्तुले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्छन् ।
• नियमित रूपमा बजारबाट खाजा किन्दा घरमै तयार गर्नेभन्दा बढी खर्च हुन सक्छ ।